मेरो नाम रवनी चौधरी हो । म कैलाली जिल्लाको क्षेत्र नम्बर २ प्रतापपुर–३ को खरौलामा बस्छु । मेरो जन्म २०३८ साल साउन २५ गते भएको हो । मेरो परिवारमा आमा, बुबा, तीन बहिनी र तीन भाइ छौँ । हाम्रो परिवार गरिब भए पनि सुखी थियो । बुबा गाउँको काजी जमिनदारको घरमा काम गर्नुहुन्थ्यो । त्यहाँ लगभग १५ वर्ष काम गरेर बुबाले १५ कठ्ठा जति जमिन जोड्नुभएको थियो ।
हाम्रो समाज एकदमै अशिक्षित र पिछडिएको थियो । म सानो छँदा गाउँमा पाँच कक्षासम्म पढाइ हुने एउटा स्कुल खोलिएको थियो तर गरिबीको कारण म स्कुल जान सकिनँ । गाउँमा छोरीलाई अर्काको घर जाने जात भनेर पढाउने चलन पनि थिएन । त्यसैले मेरा दिनहरू भाइ बहिनीलाई रेखदेख गर्दैमा बिते । जब म १२ वर्षकी भएँ, म पनि बुबाले काम गर्ने जमिनदारको घरमा काम गर्न जानुपर्ने भयो । त्यहाँ मलाई जमिनदारको नातिको हेरचाह गर्ने काम दिइएको थियो । एक वर्षपछि नातिको हेरचाहसँगै खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, गाईभैँसीको गोबर सोहोर्ने, घाँस काट्ने काम पनि थपियो । आफूलाई थाहा नभइकन म जमिनदारको घरमा कमलरी हुन पुगेँछु ।
यसरी कमलरी भएपछि मेरा दुःखका दिनहरू सुरु भए । कहिलेकाहीँ काममा जान नसक्दा मलाई अनेक यातना दिइन्थ्यो । १४ वर्षकै उमेरमा मेरो विवाह भयो । मेरा श्रीमान् पनि अर्को एक जना जमिनदारकै घरमा काम गर्न बसेका थिए । विवाहपछि म आफ्नो जमिनदारलाई छोडेर श्रीमान् काम गर्ने जमिनदारको घरमा काम गर्न जान थालेँ । हामीलाई वर्षमा १० बोरा धान, २० किलो मकै र २० किलो तोरी ज्याला दिने गरिन्थ्यो । गर्भवती भएको बेला पनि उत्तिकै काम गर्नुपथ्र्यो । कहाँसम्म भने, सुत्केरी भएको पाँच दिनमै जमिनदारको खेतमा धान काट्न जानुपरेको थियो ! नगए जमिनदारको कचकच सुन्नुपथ्र्यो ।
दुईटा बच्चा भएपछि मैले गाउँको स्वास्थ्य चौकी गएर स्थायी बन्ध्याकरण गराएँ । स्थायी बन्ध्याकरण गराएकोले सासू रिसाउनुभयो । उहाँले मलाई गाली मात्र गर्नुभएन, मेरो क्रिया समेत गर्नुभयो । घरबाटै अलग राख्नुभयो । त्यसपछि हामी मेरो बुबाले दिनुभएको तीन कठ्ठा जग्गामा छाप्रो बनाएर बस्न थाल्यौँ । तर काम भने पाइएन । त्यसैले खानकै लागि पनि हामीले धेरै संघर्ष गर्नुपर्यो । खान नपाएर बच्चाहरू भोकै हुन्थे । त्यतिखेर आँखाबाट आँसु झथ्र्यो । कतिपल्ट त मलाई मरुँ–मरुँ जस्तो पनि लागेको थियो ।
आर्थिक अवस्था साह्रै खराब भएपछि श्रीमान् काम गर्न भारततिर गए । तर एकै महिनामा ठेकेदारले ठगे भन्दै घर फर्के । घर फर्कंदा उनको हातमा दश रूपैयाँ थियो । त्यसपछि उनले ग्रिन्सो नेपाल संस्थाको अफिसको क्यान्टिनमा काम गर्न थाले । यसरी एक छाक खानको लागि संघर्ष गरिरहेकै बेला २०५७ सालमा सरकारले कमैया मुक्तिको घोषणा गर्यो ।
म मुक्त कमैया हुँ भनी जंगलको छेउमा गएर बस्न थालेँ । त्यहाँ मुक्त कमैयाहरूको बस्ती थियो । तर श्रीमान्ले मलाई बस्तीमा नबस्न दबाब दिए । मैले मानिनँ । श्रीमान्ले मलाई कि बस्ती छोड कि उसैलाई छोडसमेत भने । मैले मुक्त कमैयालाई सरकारले दिएको हक अधिकार लिनबाट वञ्चित हुनुहुँदैन भनी श्रीमान्सँग लडेर भए पनि बस्ती नछोड्ने अडान लिएँ । यसैबीच बस्तीमा मुक्त कमैयाको हक हित स्थापना गर्न एउटा समिति गठन भयो । उक्त समितिमा म नै अध्यक्ष छानिएँ ।
अध्यक्ष भएपछि विभिन्न ठाउँमा जानुपर्ने भयो, विभिन्न मानिससँग कुराकानी गर्नुपर्ने भयो । यस्तो अवस्थामा गाउँका केही मानिसले मेरो खिलाफ श्रीमानलाई कुरा लगाउन थाले । अरूको कुरा सुनेर श्रीमान्ले मेरो बारेमा नकारात्मक कुराहरू सोच्न थाले । उनी बिस्तारै मलाई यातना दिने काममा समेत उत्रे । अध्यक्ष भएको नाताले कामको सिलसिलामा म विभिन्न महिला र पुरुष साथीसँग हिँड्नुपर्ने हुन्थ्यो । त्यतिखेर मुक्त कमैयाको आन्दोलन पनि उत्कर्षमा पुगिरहेको थियो । जहाँजहाँ मुक्त कमैयाहरूको बस्ती छ, ती सबै बस्तीमा गएर समिति गठन गर्र्दै गयौँ । आपू पढलेख गर्न नजाने पनि अरूलाई शिक्षित हुन प्रेरित गर्थें । समिति गठन गर्ने क्रममा म प्रहरीको हिरासतमा पनि परेँ ।
त्यतिबेला म चुहा गाविसको मुक्त कमैयाको मूल समितिको अध्यक्ष थिएँ । गाविसमा मुक्त कमैयाका १३ वटा समूह दर्ता गराएँ । मुक्त कमैयाहरू नागरिकताबाट वञ्चित थिए । तिनीहरूलाई नागरिकता दिलाउन सहयोग गरेँ । जन्म दर्ता नभएका बालबालिकाहरूको जन्मदर्ता गराउन पनि सहयोग गरेँ । बस्तीका दुई सय २६ जना बालबालिका पढ्नबाट वञ्चित भइरहेका थिए, तिनीहरूका लागि निःशुल्क पठनपाठनको व्यवस्था गराएँ ।
चुहा गाविसअन्तर्गत चारवटा बस्तीभित्रका तीन सय ८५ घरधुरीका मुक्त कमैयालाई सरकारबाट पाँच कठ्ठाको दरले जग्गा प्राप्त गराउन अभियान चलाएँ । मुक्त कमैयालाई संगठित बनाउन बस्तीबस्ती गएर सुझाव लिन थालेँ । लामो संघर्षपछि मुक्त कमैयाका लागि सरकारले रातो किताबमै छुट्टै बजेट विनियोजन ग¥यो । तर गाविस कार्यालय गएर उक्त रकम माग्दा गाविस सचिवसँग लामो विवाद भयो । उनी मुक्त कमैयालाई बजेट दिन मानिरहेका थिएनन् । विवाद समाधान गर्न गाविसमा सक्रिय सातवटा दलको बैठक बस्यो ।
तर, बैठकमा कुनै पनि दलका प्रतिनिधिले मुक्त कमैयाका लागि बजेट विनियोजन गर्न माग गरेनन् । त्यसमा पनि मैले नै बोलेर बजेट छुट्याउनुपर्ने आवाज उठाएँ । बल्लबल्ल २५ हजार रूपैयाँ विनियोजन भयो । उक्त रकमबाट मुक्त कमैयाका लागि १२ वटा बंगुर किनी बंगुरपालन गर्ने कामको थालनी गरियो । उक्त बंगुर पालनबाट ५० हजार आम्दानी भयो । पछि गाविसले नै अर्को सालको बजेटमा ३० हजार रूपैयाँ रकम विनियोजन गरिदियो ।
यसरी बंगुर पालनबाट दुई वर्षमा चार लाख बराबरको आम्दानी भयो । उक्त रकम मुक्त कमैयाको बचत कोषमा जम्मा भयो । यसरी मुक्त कमैयाका लागि ०५६ सालदेखि काम गर्दै जाँदा ०६७ सालमा सरकारले पाँच कठ्ठा जमिन पनि प्रदान ग¥यो । यसरी मुक्त कमैयाका हक हित स्थापनाको लागि काम गर्दै जाँदा मलाई दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसमेत गरी पाँचवटा जिल्ला समितिको जिम्मा दिइयो ।
यसरी मुक्त कमैयाका लागि काम गरिरहेको देखेर नै होला, चुहा गाविसका खन्ते खत्रीले मलाई नेकपा (एमाले) प्रवेशका लागि सहयोग गर्नुभयो । पार्टी प्रवेशसँगै म गाउँ कमिटीको सदस्य र वडा कमिटीको इन्चार्ज भएँ । पार्टीले मलाई विभिन्न जिम्मेवारीहरू सुम्पियो । गाविस भवन निर्माण कमिटीको कोषाध्यक्ष, सडक मर्मत, पार्टीको महिला कमिटी गठनलगायतका काम मैले इमानदारीपूर्वक पूरा गरेँ । त्यसपछि पार्टीले मलाई क्षेत्रीय कमिटीको सदस्य बनायो । क्षेत्रीय कमिटीको सदस्य भएकै अवस्थामा पार्टीले ०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिक प्रतिनिधिको टिकट उपलब्ध गरायो । पार्टीले मेरो काम र योगदानको कदर गरेर संविधानसभाको सदस्यका रूपमा चयन गर्यो ।
सभासद भएपछि सरकारले उपलब्ध गराउने सांसद विकास कोषको रकम मुक्त कमैया, पिछडिएका वर्ग, जनजाति, महिला, दलितलाई आवश्यकता अनुसार बाँडफाँड गरिदिएको छु । उक्त रकमबाट मुक्त कमैयाको बस्तीमा खानेपानीको सुविधा उपलब्ध गराइदिएँ, एकल महिलाका लागि सिलाइ, बुनाइ र कटाई तालिम, बेट तालिम, ठाउँठाउँमा सडक मर्मत गर्ने काममा सहयोग गरेँ ।
तर, यति सानोतिनो काम गर्दैमा मेरो काम र लक्ष्य पूरा हुँदैन । जबसम्म पिछडिएका मुक्त कमैया, सुकुम्बासी, जनजाति, महिलालगायतका समस्याहरू समाधान हुँदैनन् र सरकारले उनीहरूको मागलाई सही ढंगले सम्बोधन गर्न सक्दैन, तबसम्म हाम्रो लक्ष्य पूरा भएको मानिने छैन । सरकारले विनायोजना मुक्त कमैया घोषणा गरेका कारण उनीहरूको समस्या पहिलेभन्दा जटिल बन्दै गएको छ । कमैयाहरू मुक्त भए पनि उनीहरूले आजसम्म राम्ररी मुक्तिको श्वास फेर्न पाएका छैनन् । उनीहरूलाई सही अर्थमा मुक्ति दिलाउन अझै धेरै काम गर्नुछ । अब मेरो भविष्यको बाटो यही दिशामा अगाडि बढ्नेछ । (पहिलो नारीवादी पत्रिका ‘अस्मिता’ हाम्रो द्वैमासिक, वर्ष १, अंक २+६९ बाट)
– शुभेच्छा बिन्दु
प्रतिक्रिया