विस्थापित महिलाका लागि मिसा पासा फल्चा

Mahilaगत वैशाख १२ र २९ गते नेपालमा गएका दुई ठूला भूकम्प मानसिक तवरले अब क्रमशः विस्मृतिको बाटोमा अग्रसर छन् । सबैले महसुस गर्नेगरी ती भूकम्पका परकम्पनहरू आउने क्रम निरन्तर घट्दा छन् । यद्यपि भूकम्प र त्यसपछिका परकम्पनहरूले दिएको घाउ, छोडेको पीडा र खोपेको मानसिक सन्त्रासले कहिलेसम्म प्रभावित र पीडितहरूलाई अँठ्याइरहने हो, यसै भन्न सकिन्न । भूकम्पको मारले जानेहरू गइसके, अंगभंग भएकाहरू उपचार गराउँदै पुनः स्वास्थ्यलाभ हुने आशामा दिन बिताइरहेछन् । उनीहरू जसको घरबारलाई भूकम्पले आफ्नो गाँस बनायो, उनीहरू कतै अस्थायी टहरामा, कतै पालमुनि त कतै साथीभाइ र इस्टमित्रकहाँ शरणार्थी भएर जीवनयापन गर्न विवश भइरहेका छन् । भूकम्पबाट प्रभावित र पीडितहरूलाई देशी विदेशी अनेक संघसंस्था र व्यक्तिहरूले आआफ्नो एकल वा संयुक्त वा सञ्जालगत रूपमा उद्धार, सहयोग र राहत सामग्री वितरण गरे । यस्तो राहत सहयोग गर्ने केही सीमित संस्थाले महिला र बालबालिका केन्द्रित सामग्री जुटाउन र सम्बन्धितहरूसम्म पु¥याउन विशेष पहल गरेका थिए । बियोन्ड बेइजिङ कमिटी (बिबिसी) ले यस्तै काम गरेको थियो ।
बिबिसी अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठका अनुसार, यसले खासगरी महिलाहरूको राहत सुरक्षा र पुनःस्र्थापनाका लागि समग्र महिला तथा किशोरीका साथै विशेष अवस्थाका महिलाहरू जस्तै गर्भवती, सुत्केरीहरूका लागि आवश्यक राहत सामग्रीहरू वितरण गरेको थियो ।
त्यस क्रममा बिबिसीले विभिन्न भूकम्प प्रभावित जिल्लाजस्तै काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, नुवाकोट, काभ्रे, मकवानपुरमा करिब एक हजारभन्दा बढी महिलालाई उनीहरूको विशेष आवश्यकताको ख्याल गरी लुगा, साबुन, महिनावारी भएकाहरूका लागि स्यानिटरी प्याड, पेन्टी, दाँत माझ्ने बुरुस, मन्जन, भर्खर जन्मेका शिशुका लागि लुगा, झुल आदि समावेश गरी राहत वितरण गरेको थियो ।
यसै क्रममा बिबिसीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको तच्छु टोलमा विस्थापित महिलाहरूका लागि ‘मिसा पासा फल्चा’ (महिला मैत्री स्थान) को स्थापना गरेको थियो । उक्त स्थान महिलाहरूका लागि सुरक्षित स्थान मात्र नभई यसको उद्देश्य ‘९ स’ अर्थात् सहज, सजग, सशक्त, सक्षम, सहकार्य, सहयोग, सल्लाह, समन्वय र सुस्वास्थ्यलाई समेटेर तयार गरिएको थियो । यही उद्देश्यसाथ अगाडि बढेको मिसा पासा फल्चामा महिलाहरूका लागि विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् । यस्ता कार्यक्रममा मुख्य गरेर मनोसामाजिक परामर्श, स्वास्थ्य क्याम्प, आत्मसुरक्षा तालिम, स्वास्थ्यसम्बन्धी परामर्श, महिनावारी व्यवस्थापनसम्बन्धी कक्षा, महिनावारी व्यवस्थापन गर्नका लागि पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने तालिम, हिलिङ टच थेरापीको तालिम, अचार बनाउने तालिम आदि प्रदान गरिएको थियो ।
यसै सन्दर्भमा बिबिसीले गत ४ साउनमा मिसा पासा फल्चामा स्थापित तर भूकम्पले विस्थापित महिलाहरू, जो विभिन्न तालिममा सहभागी भएका थिए, उनीहरूको लागि तालिम प्रमाणपत्र वितरण कार्यक्रम ग¥यो । बिबिसीका उपाध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षतामा भएको एक बृहत् कार्यक्रममा बिबिसीका महासचिव सुजीता शाक्य, रूपान्तरण नेपालका कार्यकारी निर्देशक रवीन्द्र दास र फ्रेन्डसिप नेपालका महासचिव डा. शिवमाया तुम्बाहम्फेले घरेलु इलम सिक्ने र सिकाउने पक्षको महत्वका साथै तालिम पाएपछि त्यसलाई व्यवहारमा कसरी उतार्ने सम्बन्धमा बताएका थिए । कार्यक्रममा अचार बनाउने तालिममा सहभागी ३५ जना महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
बियोन्ड बेइजिङ कमिटी, नेपाल एक नारीवादी राष्ट्रिय सञ्जाल संस्था हो जसले लैंगिक समानता र महिला सशक्तीकरणका लागि स्थापनाकालदेखि नै वकालत गर्दै आइरहेको छ । ‘सुरक्षित गर्भपतनका लागि गुणस्तरीय स्याहारको निरन्तरतासम्बन्धी अवस्था–विशेष आधारित अधिकार’ यो सञ्जालले मुलुकमा निरन्तर उठाउँदै आइरहेको एक प्रमुख मुद्दा हो ।

प्रतिक्रिया