साधारण गृहणीका लागि एकैचोटि ठूलो रकम पाउनु भनेको सामान्य कुरा होइन । यदि कसैले यो मौका पाउँछ भने पक्कै पनि उसले यसको लागि केही गर्ने जमर्को गर्दछ । यही जमर्को स्वरूप ढुकुटी प्रथाले समाजमा जरो गाडेको पाइएको छ ।
एकैचोटि ठूलो रकम लिएर आफ्नो ठूलो आवश्यकता पूर्ति गर्ने अभिलाषा स्वरूप ‘ढुकुटी खेल्ने’ परम्पराको सुरुवात भएको हो । हरेक महिना एउटा निश्चित रकम दिने र आपूलाई चाहिएको बेला एकमुष्ट रकम पाउने आशामा महिलाहरू ढुकुटीप्रति आकर्षित भएका हुन् । एउटा सपना बुनेर सुरुवात गरिएको यो परम्पराले हाल धेरै महिलाको जीवन बर्बाद गरिदिएको छ । कतिपय महिलालाई उनीहरूको श्रीमान्ले छोडेर विचल्ली पारदिएको घटना धेरै छ भने कति महिलाले ढुकुटीको कारण आफ्नो ज्यान गुमाउन बाध्य छन् । कतिपय महिला ढुकुटीको कारण आफ्नो नै घरमा मानसिक यातनाको साथ दिन बिताउन बाध्य छन् ।
साधरण घरेलु महिला महिनामा जसरी पनि आफ्नो किस्ता बुझाउनु पर्छ भनेर किस्ताको व्यवस्था गर्ने गर्छन् । आफ्नो सुन बन्धुकीमा राखेर हुन्छ कि अरू कसैसँग सापटी लिएर भए पनि ढुकुटीको किस्ता बुझाउँछन् भने त्यही ढुकुटी खेलाउने बाठी महिला भने साधरण महिलाहरूलाई ठग्ने कार्यमा व्यस्त देखिन्छन् ।
मैतिदेवीकी सुनिता पनि त्यस्तै वर्गमा पर्छिन् । जो कानुनको आडमा ठग्दै हिँड्ने गरेकी छिन् । दुई लाखको ढुकुटी खेलाउने उनले पीडितलाई एक पैसा पनि दिएकी छैनन् । पैसा मागेमा उनी सिधै पुलिस कहाँ जाऊ भनेर उल्टै धम्काउँछिन् । यस्तो धम्कीले पीडित एकपल्ट पुलिस कहाँ रिर्पोट दर्ता गर्न पनि गएकी थिइन् । तर पुलिसले ठग र पीडितलाई सँगै राखेर कुराकानी गराए पनि अन्त्यमा पुलिसले पीडितसँग प्रमाण छैन भनेर रिर्पोट दर्ता गर्न नमानेको कारण ठग सजिलै छुटेको थियो ।
ढुकुटीको केसमा प्रायः ठग जन्मने मुख्य कारण नै कानुन भएको देखिन्छ । पुलिसले ढुकुटीको केसमा कानुन छैन भनेर पीडितलाई पन्छाउने गरेको कारण नै ठगहरूको हौसला बढेको छ ।
सुनिताको केसमा पनि त्यही कुरा लागु गरिएको छ । ठगले आपूmले पैसा लिएको स्विकार्दा स्विकार्दै पनि पुलिसले पीडकसँग कुनै प्रमाण छैन भनेर ठगलाई फरार गराएको छ ।
काठमाडौं प्रहरी प्रमुख विशप्रसाद पोख्रेलले ढुकुटीको केसमा प्रमाण नहुने भएर केस लिन नमिल्ने बताए । उनले नेपाली समाजमा लेनदेन विश्वासको भरमा नै गरिने कारण यस्तो समस्या आएको बताउँदै ढुकुटीको केस पनि यस्तै किसिमको हुने हुनाले प्रहरीले हेर्न नमिल्ने जानकारी दिए ।
पीडित भन्छिन्, ‘मैले सुनितालाई महानगरीय प्रहरी प्रभाग गौशला पु¥याएको हो । तर पुलिसले सोधपुछ गरेपछि सुनिताले पैसा लिएको स्विकार्दा स्विकार्दै पनि पुलिसले प्रमाण नभएकाले रिर्पोट लेख्न नमानेपछि केस त्यसै रह्यो ।
पोखरेल भन्छन्, ‘पीडित ढुकुटीको केस लिएर गयो भने ऊ पीडित हुँदैन, ऊ पनि गैरकानुनी नै हुन्छ र उसलाई पनि गैरकानुनी काम गरेकोमा कारबाही हुन्छ ।
यसरी ठगलाई कानुनले नै संरक्षित गरेपछि ठगहरूको मनोवृत्ति झन बढेको देखिन्छ ।
पुलिस केसपछि त सुनिताको आँट अझ धेरै बढेको छ । अब उनले पैसा दिने कुरै गर्दिनन् र मागेको खण्डमा फेरि पनि पुलिस कहाँ नै जाऊ भन्ने गरेकी छन् । यसरी ढुकुटीको केसमा पुलिसले नै ठगहरूलाई आश्रय दिने काम भएको पाइन्छ ।
पुलिस ढुकुटीको केसमा पनि प्रमाण नै मागी बस्छ तर निर्दोष ती महिलाहरूसँग कुनै प्रमाण नहुँदा ठगिन बाध्य छन् । विश्वासको भरमा खेलिएको खेलमा यति समस्या आउँछ भन्ने थाहा भएको भए उनीहरू पहिले नै सचेत हुन्थे होला । या त यो कदम नै उठाउँदैनथे होला नि । प्रवक्ता पोखरेल भन्छन्, ‘ढुकुटीमा पनि प्रमाण भेटेमा बक्यौदा कारबाही हुन्छ ।’
अधिवक्ता मीरा ढुंगाना ढुकुटीको केसमा पनि अदालतमा लेनदेनको केस भनी मुद्दा हाल्न मिल्ने बताउँछिन् तर ढुकुटीको केसमा पीडित आफैँले प्रमाण ल्याउनुपर्ने उनले जानकारी दिइन् । उनी भन्छिन्, ‘वादीले नै प्रमाण पुर्याउनु पर्छ ।’ यदि मुद्दा नै हाल्ने हो भने पीडितले नै प्रमाणहरू जम्मा गरी अदालतसम्म पुर्याउनुपर्ने उनले बताइन् ।
पीडित अम्बिका नेपालीले पनि घरमा कसैलाई थाहा नदिई ढुकुटी खेलेकी थिइन् । उनको पैसा पनि ढुकुटी खेलाउने महिलाले खाइदिइन् । अम्बिका यो बारेमा घरको परिवारलाई बताउन पनि सक्दिनन् । उनी भित्रभित्र पैसा सम्झेर तड्पिन्छिन् तर बाध्यता आफ्नो पीडा परिवारलाई बताउन सक्दिनन् । उनी भन्छिन्, खाइसक्यो मेरो पैसा त्यसले, घरमा भनु उल्टै झगडा होला भन्ने डर । खाई नखाई जमाएको सबै रकम त्यसले खाईदिई ।’ उनी आक्रोश पोख्छिन्, ‘पुलिसले गर्दा नै ठगहरू जन्मेका हुन् । यदि पुलिसले ढुकुटीको केसलाई पनि हेरेको भए यसरी हामी ठगिने थिएनौँ ।’
प्रमाणलाई नै पहिले आधार मानेर प्रहरीले केस हेर्ने हो भने, हत्यारा, अपराधी, चोरलाई कसरी समात्ने, उनीहरूको अनुहारमा म अपराधी हो भन्ने लेखेको त हुँदैन तर ढुकुटीको केसमा मात्र पहिले नै प्रमाण खोज्नाले समस्या सिर्जना भएको हो । जसको कारण प्राय ढुकुटी खेलाउनेहरू झन प्रोत्साहित हुँदै ठगी कार्यमा व्यस्त भएको पाइएको छ । हाल ढुकुटी खेलाउनेहरू सबैको एउटै भनाइ छ– पुलिस कहाँ जाऊ पैसा चाहिन्छ भने । पुलिसकोमा लगेमा पनि उनीहरू ढुक्क भएर भन्ने गर्छन् ‘हो मैले खेलाको के गछौँ ।’ यति भन्दा पनि प्रहरी निरीह बने भै गर्छन् र अगाडि नै अपराध स्विकार्दा पनि कानुन छैन भन्दै ठगहरूलाई उन्मुक्ति दिने गरेका छन्, जसका कारण अपराधीहरू अझ बढी प्रोत्साहन हुने गरेका छन् ।
– सरला बैजु
प्रतिक्रिया