दुर्घटना हुनबाट जोगाउने दोलखाका गाईखुरा महादेव

जिल्लाको घ्याङ सुकाठोकर गाविस–२ मा प्रसिद्ध श्री गाईखुरा महादेवकोे मन्दिर सम्मको सडक सुधार भएपछि नयां तिन तल्लाको मन्दिर निर्माण गरिने भएको छ । मन्दिरमा तामाको छाना हािलने र उक्त मन्दिर पुरातत्व विभाग, संस्कृति मन्त्रालय र विभिन्न स्रोतबाट गाईखुरा महादेव मन्दिरको निर्माण गरिने भएको हो । गाईखुरा महादेव मन्दिरमा दुई जिवित नागले बेलाबेलामा सिलामा बेरेर बस्न थालेपछि त्यहाँ दर्शनार्थीको भिड लाग्न थालेको छ । तीन शक्ति भएका गाईखुरा महादेवको दर्शन पूजापाठ गर्नाले अकालमा मृत्यु नहुने, दैविक आपत् विपत् हुनबाट बचाउने, दुर्घटनाबाट जोगाउने, रोग ब्याधी ठीक हुने, विद्या बढ्ने जस्ता धार्मिक विश्वासका कारण महाभुकम्प पश्चात पनि दर्शानार्थीहरुको भिड नै लाग्न थालेको छ ।
किम्बदन्तीअनुसार एक किसानले दुध नदिने गाईलाई चराउन लैजाँदा रुखको फेदमा गाईले आफैै दूध खसालिरहेको देखेपछि सबै स्थानियवासी भेला भई खनेर हेर्दा मूर्ति फेला परेको थियो । मूर्तिमा गाईको थुन, खुर, बाघको पञ्जा, शिवलिंग र दुई जीवित पहेंला सर्प देखिएको थियो । सो शिलालाई तीन शक्तिको रुपमा सोही स्थानमा नै राखी पूजा पाठ गर्न थालियो । शिलामा सम्पूर्ण आकार स्पष्ट रुपमा देख्न सकिन्छ ।
सदरमुकाम चरीकोटबाट ३० किलोमिटर मोटर यात्रामा जफे बाह्रविसेमा ओर्लिएर त्यहाँबाट एकघण्टाको पैदल यात्रामा यो मन्दिर पुगिने उक्त महादेवको दर्शन गर्न दोलखा लगायत रामेछाप, सिन्धुपाल्चोक र काठमाण्डौ उपत्यकासमेत विभिन्न स्थानबाट भक्तजनहरू पूजापाठ र दर्शनका लागि जाने गरेका छन् ।
मन्दिरको कुनै आय श्रोत वा अक्षयकोष केही नभएको हुनाले उक्त मन्दिर संरक्षण तथा सम्बद्र्धन गर्न सोही गाविसबाट रोजगार वा अध्ययनको सिलसिलामा काठमाण्डौ रहेका युवाहरुको सक्रियतामा गाईखुरा युवा क्लवको स्थापना गरिएको छ । सोही क्लवद्धारा गाईखुरा महादेव मन्दिरको संरक्षण, सम्बद्र्धन, प्रचार प्रसार र आर्थिक संकलन गरि कृषि विकास बैंकको खाता नं. ४०४२९४ मा जम्मा गरी रोखिदिएको धेरथोर रकमबाट दैनिक रुद्रि तथा पूजापाठलाई सहयोग पुग्दै आएको छ । तिन अवतार भएको शिलामा जलधाराबाट दिएको दुध जल शिलामा आफै सोसिन्छ । बाहिर कतै बन्दैन । साठी लिटर गाईको दुध सात घण्टासम्म भक्तजन आफै बसेर, बेद रुद्री गर्दा जलधारबाटा दिएको सबै दूध शिलामा सोसिएको कुरा प्रत्यक्ष दर्शनार्थीहरुबाट जानकारी लिन सकिन्छ ।
पहिला गाईले दुध खसाई रहेको ठाउँको पाँच रुखमध्ये अहिले एउटा ठूलो रुख मन्दिर भित्रै व्यवस्थित गरि मन्दिर निर्माण गरिएको थियो । रुख नकाट्नु भनि सपनामा अज्ञात बाबाजीले जनाउ दिएकाले एउटा रुखलाई व्यवस्थित गरि राखिएको छ । लाखौं खर्च गरि देश विदेशमा उपचार गर्दा निको नभएको रोगलगायत हरेक समस्याहरु गाईखुरा महादेवको दर्शन गरी तिन लिटर तेल बालेर बेद पढाई सबै समस्या ठीक भएको भक्तजन आफै बताउँछन् । वैशाख १२ र २९ गतेको भुकम्पले पनि गाईखुरा महादेवमा आस्था राख्ने र पुजापाठ गर्नेको खासै मानवीय क्षति नभएको विश्वास छ ।
गाईखुरा महादेव मन्दिर क्षेत्रमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्रयाई सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने क्लवका अध्यक्ष हरि प्रसाद दाहाल बताउँछन् । मन्दिर परिसर सानो रहेको हुँदा परिसरको वरिपरि रहेका व्यक्तिको जग्गा क्लवले खरिद गरी मन्दिर परिसर ठूलो बनाउन लागिएको छ । साथै हेलिकोप्टर ल्यान्डिङका लागि हेलिप्याडको व्यवस्थासमेत मिलाउन लागिएको छ ।
त्यसका लागि जिविस दोलखाको सिफारिसका साथ राष्ट्रिय आयोजनामा समेत कार्ययोजना पेश गरिएको छ । दोलखाको नमुना धार्मिक पर्यटकीय स्थल राज्यको नजर पुगे र सबैको सहयोग गरि दिए राम्रो धार्मिक स्थल गाईखुरा महादेव बन्न सक्छ । सो मन्दिरसम्म पुग्न काठमाण्डौको पुरानो बसपार्कबाट बसको व्यवस्था छ । वर्षातको तीन महिना बाहेक सधै यातायातको व्यवस्था हुन्छ । नयाँपुल पोवटी गाईखुरा मन्दिरसम्मको १५ किमी कच्ची सडक तत्कालै सुधार गर्ने साथै मालु, भेटपु सडक १३ किलोमिटर सडकको तत्कालै सरकारले सुधार गरि दिए जनकपुरबाट पनि गाईखुरा महादेव मन्दिरसम्म बस चलाउने लक्ष्य छ ।
टंकप्रसाद भण्डारी

प्रतिक्रिया