प्रकृतिले नै मानिसलार्ई एक समान बनाएको छैन । शारीरिक मात्र होइन, रुचि र स्वभाव पनि नितान्त फरक बनाएको छ । सायद यही कारण हुनुपर्छ, मान्छेले आफ्ना लागि मात्र कमाउँदैन ।
दुःखले कमाएको धन अरूको दुःखमा मल्हम लगाउन प्रयोग गर्नेहरू पनि छन् यही धर्तीमा । नेकपा एमालेमा कुशल संगठक भनेर चिनिएका स्वर्गीय जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले बहुचर्चित दासढुंगा दुर्घटनामा जीवराजको निधनपछि अनेक समस्या झेलिन् ।
उनको प्रभाव न राजनीतिमा रह्यो न त प्रशासनिक क्षेत्रमा । आश्रितभन्दा कम राजनीतिक प्रभाव भएका नेता–पत्नीहरूको यतिबेला ठूलो रजगज छ । अधिकांशले मन्त्रीपत्नी भएकोमा आफ्ना लागि र आफन्तका लागि धेरै अवसर बटुलेका छन् । तर, माया भने आफ्नै समास्यामा रुमल्लिएकी थिइन् ।
करिब दुई वर्षपहिले उनको डेरामा पुग्दा साँच्चै एउटा सर्वहारा नेता वा कार्यकर्ताको जस्तो थियो उनको कोठा । उनी सामान्य दुई कोठामा गुजारा गरेर बसेकी थिइन् । उनको पार्टीका नेताहरू प्रायः सबैका काठमाडौंमा घर छन् । उनी भने त्यही दुई कोठे डेरालाई संसार सम्झेर बसेकी थिइन् र अहिले पनि उनको बासस्थान त्यहीँ हो । काठमाडौंको गोपीकृष्ण सिनेमा हलपछाडि ।
२०५१ सालमा भएको दासढुंगा घटनायता उनी सामान्य रूपमा मात्र चर्चामा आइन् । दासढुंगा घटनामा जननेता मदन भण्डारीसँगै नेता जीवराज आश्रितको पनि निधन भएको थियो । त्यसयता आश्रित पत्नी माया ज्ञवालीका बारेमा जति चर्चा हुनुपर्ने हो त्यति भएन भन्नेहरू पनि छन् । आलोचना गर्नेहरूले भन्थे, ‘सँगै निधन भएका मदनकी पत्नी विद्या भण्डारी मात्र राजनीतिको मूलधारमा देखिइन् ।’
तर, माया ज्ञवाली छायामा परेजस्तै भएको थियो । मायाबारे बेला बेला समस्या नै समस्याका कुरा बाहिर आउँथे । कहिले कोठाभाडाको समस्या, कहिले के । उनको अवस्था बुझ्नेहरू भन्थे, ‘विद्याको त्यत्रो हाइहाइ छ, पार्टीभित्र विद्याको ठूलोे पहुँच छ ? बेला–बेला मन्त्रीसमेत भएकी छन् । आश्रितपत्नी माया भने गुमनाम छिन् ।’
माया ज्ञवालीका लागि पार्टीले केही गरेन, अनेमसंघको नजरमा उनी छायामा परिन् भन्ने आवाज आउने गर्छ । पछिल्लो संविधानसभामा मायाको पक्षमा महिलाहरूले लबिङ गरे । उनलाई पनि समानुपातिकमा समावेश गराउन ।
तर दुर्भाग्य, उनको नाम मतदाता नामावलीमा रहेनछ र त्यो अवसरबाट वञ्चित भइन् । चाहेर पनि केही भएन । उनीप्रति माया गर्नेहरूले अहिले पनि उनलाई अवसर दिनुपर्छ भनेर लबिङ गर्न छाडेका छैनन् । मायालार्ई अपवाद मान्ने हो भने एमालेमा निधन भएका नेता पत्नीहरू प्रायः राजनीतिमा कुनै न कुनै महत्वपूर्ण स्थानमा छन् ।
कनै समय थियो, तत्कालीन नेकपा माले भूमिगत हुँदा र खुला राजनीतिमा आइसकेपछि मदन र जीवराजले सदस्य बनाएका मान्छे पार्टीमा धेरै माथि पुगे । उनका परिवारले पनि बेला–बेलामा अवसर प्राप्त गरे ।
माया ज्ञवालीले सत्ता र पार्टीको स्वाद चाख्न पाइनन् । तर, उनका श्रीमान्ले ठूलो त्याग गरेको र आदर्श मानेको पार्टीको पहलमा माया ज्ञवालीले ०५२ सालमा सरकारको तर्फबाट आठआना घडेरी पाइन् । त्यो घडेरी उनका लागि ‘मेरो पनि काठमाडौंमा घडेरी छ’ भन्नुबाहेक केही भएको थिएन ।
डेराको बसाइँ, पार्टी र नेताहरूको सहयोग उनको जीवन धान्ने मेलो बनेको थियो । माया ज्ञवालीलाई माया गर्नेहरू एमालेभित्र र बाहिर अहिले पनि छन् भन्ने यतिबेला प्रस्ट भएको छ । आश्रितप्रतिको सम्मान र मायाप्रतिको ममता राख्नेहरू नेपालसँगै नेपालबाहिर पनि धेरै छन् ।
पार्टीको सहयोगमा सरकारले दिएको जमिननजिक रहेको मायाको डेराको बास अब अन्त्य हुने भएको छ ।
माया र आश्रितलार्ई आफ्नै घरमा राखेर बिहे गराएकी अखिल नेपाल महिला संघ (अनेमसं) नेता तुलसा थापालाई उनको दुःखले पोलेको धेरै भएको थियो । थापाको अगुवाइमा यतिबेला मायाको बास घर बन्दै छ ।
तुलसा भन्छिन्, ‘जीवराज कमरेड बाँचिरहनुभएको भए उहाँको स्थान पार्टीमा अहिलेका कुनै नेताको भन्दा कम हुने थिएन । त्यो आधारमा मायाको हैसियत पनि हाम्रोभन्दा पक्कै कम हुँदैन थियो होला ।
तर, उहाँ आज अनेक समस्यामा हुनुहुन्छ । मलाई उहाँका समस्याले सधैँ पोल्ने गथ्र्यो । त्यसैले धेरैसँग हारगुहार गरेँ, बास बस्ने ठाउँ बनाइदिउँ भनेर । आज त्यो काममा सफलता मिलेको छ, म खुसी छु । यो कामको जस सिंगो पार्टी र अनेमसंघलाई जान्छ । मैले अगुवाइ मात्र गरेको हुँ । यो काममा पार्टीका धेरै कमरेडको साथ र सहयोग छ । यसलाई सार्थकता दिन पार्टीका शुभचिन्तक, शुभेच्छुक आश्रित कमरेडप्रति श्रद्धा गर्नेहरूको ठूलो हिस्सा छ ।’
मायालार्ई घर बनाउने सोच बनाउनेबित्तिकै उनले देश विदेशमा रहेका पार्टी र आफू निकटसँग आग्रह गरिन् । यति ठूलो पार्टी छ, पार्टी निर्माणमा आश्रित कमरेडले सारा जीवन लगाउनुभएको थियो ।
मायाप्रति हामीले केही गर्नुपर्छ भनेर । तुलसा भन्छिन्, ‘सबैभन्दा पहिला अस्ट्रेलिया बस्ने मित्र राधिका पोख्रेललाई भनेँ, ‘मायाजीलाई बस्ने बास बनाउन खोजेको सायोग गर्नुपर्यो’ भनेर । म आफैँ व्यक्तिगत रूपमा केही गर्न सक्दिनँ । सहयोगी हातहरू जम्मा गरेर गर्ने हो ।
राधिकाजीले ‘सोचौँला’ भन्नुभयो । यता मायाजीलाई घर बनाउँछौँ भनिहालेँ । केही समय काम सुरु भएन । मलाई तनाव भयो, अब के गर्ने ? यता मायाजीलाई पर्ने भयो, ‘यिनीहरू सधँ आश्वासन मात्र दिन्छन् भन्ने । अर्कोतर्फ आफूले बनाएको योजना सफल नहुने भयो भन्ने चिन्ताका बीचमा केही सहयोग जुट्यो र काम पनि सुरु भयो ।
अहिले राधिकाजीले घरको फिनिसिङ र दोस्रो तला निर्माणमा लाग्ने सबै खर्च व्यहोर्ने वचन दिनुभएको छ । केही पैसा आइसकेको छ, उहाँले सबै पूरा गर्छु भन्नुभएकाले घर पूरा हुनेमा म ढुक्क छु । राधिकाजीले गर्ने यो सहयोग सामान्य होइन । उहाँलाई जति धन्यवाद भने पनि पुग्दैन । उहाँ ठूलो मन भएको साथी हुनुहुन्छ । विदेशमा बसेर दुःखले कमाएको पैसा यसरी सहयोग गर्ने हतपत पाइँदैन ।’
थापाको अध्यक्षतामा बनेको निर्माण समिति यतिबेला मायाको घर निर्माणमा दिनरात भनेर लागेको छ । यही गतिमा काम हुँदा आउँदो दशैँ मायाले नयाँ घरमा मनाउनेछिन् । अनेक समस्यासँग पौंठेजोरी खेल्दै आएकी माया यतिबेला अत्यन्तै खुसी छन् । निर्माणाधीन घरको आँगनमा ‘सौर्य’ सित कुराकानी गर्दै उनले भनिन्, ‘सरकारले जग्गा दियो । त्यतिबेलै लागेको थियो, एक दिन आफ्नो घर होला भन्ने । तर, कसरी बनाउने भन्ने समस्यामा थियो ।’
आफ्नो छेउमा रहेकी तुलसा थापालाई देखाउँदै मायाले भनिन्, ‘उहाँहरूले मेरो समस्या बुझेर होला, यति गरिदिनुभयो । म धेरै खुसी छु । मेरा लागि यति पनि धेरै हो । अब भने आफ्नै घरमा ढुक्कले बस्न पाउने भएँ । म आफैँ यति गर्न सक्ने अवस्थामा थिइनँ । उहाँहरूले कता–कताबाट सहयोग जुटाएर यति गरिदिनुभयो । यसलार्ई मप्रतिको माया र आश्रितप्रतिको श्रद्धाको रूपमा लिएकी छु ।’
बन्दै गरेको घरको आँगनमा अज्यालो अनुहार बनाएर मायाले भनिन्, ‘हिजो आश्रितले पार्टीका लागि आफ्नो जीवन लगाउनुभयो । आज पार्टी र पार्टीका साथीहरूले मेरा लागि यति गर्दै हुनुहुन्छ । पार्टीकै सहयोगमा छोराले अध्ययन पूरा गरेर आउँदैछ । अब म ढुक्क छु । यो घरलाई पार्टी, साथीहरू र आश्रितप्रति सम्मान गर्नेहरूको चिनोका रूपमा लिएको छु । भोलिका दिनमा मलार्ई दुई छाक खान र ओत लाग्ने समस्या हुँदैन ।
अरू बाँकी काम छोराले पनि गर्छ भन्ने लागेको छ । सबै कुरामा अरूको आश गर्न हँदैन, आफूले पनि केही गर्नुपर्छ । यति गरिदिएकोमा सबैप्रति म कृतज्ञ छु । म आफँै एक्लैले यति गर्न सक्दैन थिएँ । त्यति ठूलो पहुँच मसँग थिएन । मलाई माया गर्नेहरू एमालेभित्र र बाहिर धेरै रहेछन् भन्ने लागेको छ ।’
बाँकी जीवनका बारेमा मायाले भनिन्, ‘पार्टीले अवसर दिँदा म आफ्नो जिम्मेवारी पूरा गर्न तयार छु । उमेर, अनुभव र क्षमताअनुसार जे जिम्मेवारी दिन्छ, काम गर्न तयार छु । मैले आस्था राखेको श्रीमान्ले जीवन दिएको पार्टी एमाले हो । अहिलेका सबै नेता आश्रितका समकालीन नेता थिए । उहाँहरूले मेरो अवस्था र क्षमतालार्ई बुझ्नुभएको छ । मौकामा मलाई उहाँहरूले माया गर्नुभएको पनि छ । पार्टीकै कारण छोरा कुशल डाक्टर बन्दैछ ।
आजसम्म पार्टीको भरोसामा छु । भोलिका दिनमा पनि पार्टीले मलाई माया र संरक्षण गर्छ भन्नेमा म विश्वस्त छु । यो उमेरमा अरू केही गर्न सक्दिनँ । पार्टीको छत्रछायाँमा बसेर आश्रितजीको सपना पूरा गर्ने अभियानमा केही गर्ने मन छ । पार्टीले मलाई त्यो अवसर दियो भने म अत्यन्तै खुसी हुनेछु । अहिलेसम्म जे पाएँ, पार्टीकै कारणले पाएँ । फेरि पनि जे प्राप्त हुन्छ त्यही पार्टीको कारणले हुन्छ । मेरो आस्था, विश्वास र भरोसाको धरोहर हो एमाले ।’
– चमिना भट्टराई
प्रतिक्रिया