जीवन, जगत् र बुद्धको सम्यक् दृष्टि

पिण्डे पिण्डे मतिर्भिन्ना कुण्डे कुण्डे नवं पयः ।।

जाडो यामको कठ्यांग्रिँदो एउटा बिहानी । ट्रेन आफ्नै रफ्तारमा एकनासले गुडिरहेको छ । झ्यालबाहिर नजिकको चौरमा एक हुल भेंडा चिसोमा काम्दै परस्पर टाँस्सिएर उभिएको दृश्य देखिन्छ । सँगै यात्रामा रहेको मित्रले औँलाले त्यतातर्फ इसारा गर्दै उनलाई भन्यो, ‘देखिरहनु भएको छ, जाडोमा कसरी कठ्यांग्रिएका छन् ?’ लाग्छ, यिनीहरूका रौँ भर्खरै कत्रिएको होला । उनी अर्थात् २० औँ शताब्दीको युरोप (अष्ट्रिया) का अत्यन्त प्रभावशाली एनालिटिक फिलोसफर लुड्विग विट्गिन्स्टिन जसलाई ओशोले आफ्ना प्रवचनमा बारबार चर्चा गर्छन् ।
ओशोका अनुसार विट्गिन्स्टिनले भेंडालाई गहिरोसँग एकपटक हेरे अनि बोले, ‘जहाँंसम्म भेंडाको हामीपट्टी देखापरेको भागको कुरा छ, अवश्य पनि रौँ काटिएका छन् । तर, अर्को (उता) पट्टिको भागको बारेमा निश्चित रूपले अहिले केही भन्न सकिन्न । भेंडा पूरै त कसैले पनि देखिरहेको छैन । नदेखिएको अर्को भागको बारेमा कसरी बोल्न सकिन्छ ? हो, यस भागमा रौँ काटिएका छन् र जाडोले खुम्चिएको पनि पक्का हो तर अर्काेतर्फको कुरा त कसरी जानौँ ?’
यो अटपटा जवाफ एकैसाथ सरल र गम्भीर दुवै छ । हामीले हातमा लिएको सिक्काको दुवै भाग एकै साथ देख्दैनौँ । गाईपट्टि हेर्‍यो, त्रिशुल लुक्छ । त्रिशुलतर्फ फर्कायो गाई हराउँछ । अर्थात्, दुवै एकैसाथ देखिनु असम्भव छ । अहिलेसम्म दुनियाको कसैले सिक्का एकैपटक पूरा देखेकै छैन ।
हाम्रो मनको आँखा पनि झन्डै यस्तै हो । मनले अक्सर पूर्णरूप देख्न सक्दैन । एउटा दृष्टिकोण प्रवल हुँदा अर्काे गौण बनिसक्छ । यता हेर्‍यो उता दबिन्छ, उता हे¥यो यता छुट्छ । यसलाई राजनीति, धर्म सबै कुरामा घटाएर हेर्न मिल्छ । जवानीमा एउटा कुरा महत्वको हुन्छ, वृद्धावस्थामा अर्कै । यहाँ रुची, विचार, चिन्तन, दृष्टिकोण, मूल्य, जीवनशैली सबै सबै धेरथोर बदलिइसक्छन् । अर्थात्, सिक्का उल्टिसक्छ । युवावस्थामा मदिरालय धाउने पक्का भोगीसमेत उमेर ढल्केपछि शिवालयतर्फ प्रवृत्त हुन्छ । अक्सर यही बन्छ सच्चाई जिन्दगीको । जब सिक्का उल्टिन्छ, अनि मात्र अर्काे भाग प्रकट हुन्छ । हामी बहुधा यहीँनेर चुक्छौँ । तर, दुवै भाग एकैसाथ हेर्न सक्नेले मात्र सही मानेमा जीवन र जगतलाई बुझ्दछ । बुद्धले भन्नुभएको सम्यक दृष्टि पनि मोटामोटी यस्तै हो ।
(भण्डारीको फेसबुक भित्तोबाट)

प्रतिक्रिया