रामनामी ओढेका सामाजिक फ्रडहरू

dance३१ डिग्री तातो घाम, कोटेश्वरको बसपार्कछेउ । मिति ४ जेठ हुनुपर्छ । मध्याह्न १२ बजे । झट्ट हेर्दा १७ की जस्ती देखिने किशोरी झोला सिरानी हालेर तीनकुनेपट्टि फर्केर क्वाँ–क्वाँ रुँदै थिइन् ।

पुरानो र मैलो झोलामा सायद केही कपडा थिए । झोला सिरानी हालेर दिउँसै एउटी किशोरी छाती पिटी–पिटी रोइरहँदा काठमाडौं भूकम्मबाट ब्युँतेर हाँस्न खोज्दै थियो । त्यही बाटो हुँदै कोही विमानस्थल छिर्ने हतारमा थिए ।

कोही संविधानसभा आउन । सडक किनारामा एउटी किशोरीको चिच्याहट सुन्न सक्ने धैर्य र फुर्सद सहरसँग थिएन । एक सय डेसिबलको यातायात ध्वनि प्रदूषणमा किशोरीको रुन्चे स्वरको मापन उसका लागि तीन सय नै भए पनि काठमाडौंका लागि ५० डेसिबल पनि भएन ।

क्यालेन्डर मान्छेले नै बनाएको हो । समय मान्छेले तोकेको । पछि न मान्छेलाई समयले दास बनायो । क्यालेन्डरमा हिँड्न सकेन । नबनाओस् कसरी, सबैभन्दा ‘फास्ट र फस्ट’ दौडने सुईलाई मान्छेले नाम राखिदियो ‘सेकेन्ड ।’ त्यसपछि रिसायो समय र मान्छेलाई पनि उसले हत्पति फास्ट र फस्ट हुन रोक्यो । यद्यपि कोही सेकेन्ड सुईभन्दा पनि फास्ट हुन्छन् ।

समय– १५ असार । स्थान– सुन्धाराको डान्स बार । राति पौने १० हुँदै छ । सोफा भरिभराउ छन् । डबलीमा नर्तकी फेरिएर नृत्य गरिरहेका छन् । एउटा कुनामा साथी र म छु । साथी एक पेग थप्ने मुडमा अर्को एउटा नृत्य हेर्न रहर पाल्दैछ । चुल्ठो अगाडि ल्याएर बटार्दै आइपुगिन् नयाँ अनुहार ।
दाइ, नमस्ते । आराम हुनुहुन्छ ?

बसौँ म हजुरसँगै । अनि कता के गर्दै होइसिन्छ ?

फोन पनि गर्नु भएन ?

साथी मलाई घुरेर हेर्दैछ । उसलाई लागिरहेको छ, बारका सबै नानीसँग यसको दोस्ती छ । उसले बाटोमा भनिसकेको थियो, ‘आज एउटीलाई कोठामा लैजाने व्यवस्था गरिदेऊ न त ।’ यस्तो वाहियात कुरा मसँग नगर भनेको थिएँ । चुरमुरले टल्किएर रंगीचंगी बत्तीमा चिरिच्याट्ट परी ओत लाग्न आएपछि साथीको बार्दली पुलकित नहुने कुरै भएन ।

हेरिरहेँ । उनी बोलिरहिन् । भनिन्, ‘दाइ, म पनि फ्रडमान्डु बस्ने निधोमा पुगेँ ।’ सुनाइन्, ‘साराका फ्रड अटाउँदा म एउटी ‘एडजस्ट’ नहुँला र ?’

‘फ्रडमान्डु !’

सम्झेँ, ‘यो त मेरो भाषा हो, सहरलाई दिइएको नयाँ परिभाषा ।’

थपेँ, ‘तिमीसँग पहिला कहाँ भेटेको ?’

ऊ समयको सेकेन्ड सुईभन्दा फास्ट भइसकिछे सहरमा । नरम हात गालामा पु¥याउँदै भनी, ‘हजुर पनि मजाक गर्सेको कि बिर्सिसेको ?’

‘यति चाँडै भुल्ने बानी हजुरको ?’

‘हुन त मजस्ता कतिसँग दोस्ती हुन्छ हजुरको ।’ ‘हजुर होइन, काठमाडौंमा दुःख गर, केही काम खोज भन्दै मलाई बस्न हौस्याउने ।’

उसका लगातारका ‘इन्भर्टेड कमा’ भित्रका वाणी मेरा लागि ‘रामवाण’ भइरहेका थिए । साथी अक्क न बक्क परेर हेर्दैथियो । बेराले भन्यो, ‘म्याम, हजुरलाई के ल्याइदिउँ ?’

मगाइन्, ‘एउटा सिग्रेट, एक पेग ह्वीस्की ।’

बेराले तुरुन्तै सर्भ ग¥यो ।

‘हजुर लिइसिन्छ सिग्रेट ?’

भनेँ, ‘नेभर ।’

उनी चुरोट सल्काएर धुँवा फाल्दै भन्न थालिन्, ‘सहर छाडेर गाउँ फर्कन सकिनँ दाइ, अनि लागेँ यो पेसामा, हजुरलाई मन परेन है ?’

दोहोर्‍याएँ, ‘तिमीलाई मैले कहाँ भेटेको ?’

‘मलाई के थाहा ?, हजुरले भनिसेको हो नि कोटेश्वर, तीनकुने ।’

झट्ट याद आयो, यो त्यही केटी हो, जो ४ जेठमा तीनकुनेपट्टि क्वाँ–क्वाँ रोइरहेकी थिई । झोला सिरानी हालेर मध्यघाममा, मध्याह्नमा ।

‘जहाँ म पुगेँ, त्यहाँ पनि भूकम्पले उठिबास रहेछ । कति दिन त्रिपालमा सुत्नु ? कति दिन भागाभाग गर्नु ? फेरि यो काठमाडौं हरेक नयाँ अनुहारसँग चिढिँदोरहेछ दाइ,’ उसले भनी, ‘मेरै भाग खोस्न आएको भन्ठान्ने काठमाडौंको ठूलो भ्रम र भ्रान्ति रहेछ । त्यसैले त कोटेश्वरका कुकुर बानेश्वर आउँदा लखेटिँदो रहेछ । कलंकीको कुकुरले टुँडिखेलसम्म आउन नपाउँदो रहेछ । कुकुरले त अर्को टोलको कुकुर लखेटछ्, मान्छेको के कुरा दाइ ।’

उसका कुराले निकै ‘म्याचुर्ड सिटिजन’ दरिँदै थिई । भनी, ‘म त्यो आश्रयकेन्द्रमा रमाउन सकिनँ, भागेर निस्किएँ सहरमा, कुकुरले पुच्छर लुकाए झैँ गरेर भौतारिएँ र अन्ततः आइपुगे ‘डिस्को डान्स’ मा ।’

सम्झिएँ, साथीले फोन गरेको थियो, ‘तैँले कोटेश्वरबाट पठाएको पुतली आजै भुर्र उड्यो, हाम्रो सेल्टरमा छैन है ।’ उसको आश्रय केन्द्रबाट उडेको पुतली सुन्धारामा नर्तकी भएर आज मलाई गफ दिने भइसकिछे । त्यहाँका अरू भने अहिले पनि दाताले दिने पहेँलो दाल र मोटा चामलको भातमा अल्झिँदै बसेका होलान् । मान्छेले समय चिन्यो भने स्वार्थी मान्छे र समयको दास बन्नु पर्दैैन ।

‘यो एक महिनामा म यहाँ ‘क्वीन’ भइसकेँ दाइ,’ धेरै स्ट्राइकर ‘क्वीन’ हान्न खोज्छन् तर पालै आउँदैन ।’ सोधेँ, ‘गाउँमा क्यारेमबोर्ड खेल्थ्यौ कि क्या हो, भाषा उस्तै प्रयोग गर्‍यौ त ?’

‘त्यही क्यारेमबोर्ड खेल्ने त ‘क्वीन’ बनायो नि !’ उसले सुनाई, ‘मूर्दो स्ट्राइकर त हुन सकेन नै, मलाई पनि क्वीन बनाउँछु भन्दै धोका दिँदा सुन्धारामा ‘नाच भैरे नाच’ गर्नुपरेको छ ।’

बेराले संकेत गर्‍यो । स्पिकरमा कानका जाली फुटाउने गरी संगीत बज्न थाल्यो । आधा ग्लास ह्वीस्की बाँकी छाडेर उसले भनी, ‘एउटा नाच नाचेर आएँ ल ?’ उनी प्रेक्षालय र हाम्रो साथ छाडेर डबली चढिन् । केही केटी र केटाहरू पनि पछि लागे । नाच्न थाले । रात ढल्दै जाँदा सहरमा गीत झन् ठूलो स्वरमा गुन्जिन्छ । त्यसमाथि सुन्धारा । निम्नवर्गीयदेखि घरानियाँसम्म ‘पानी फेर्न, नानी हेर्न’ आएको देख्छु । शुक्रबार त बुटवल, जनकपुर, हेटौँडा, वीरगञ्जका बढी हुन्छन् । जुन बार पुग्छु, ४० प्रतिशत चिनेकै पर्छ ।

साथीले भनेको पुतली नाचमा पोख्त बनिसकेको रहिछे । अघि ऊ सुनाउँदै थिई, ‘म क्वीन भइसकेँ दाइ ।’ चुरोटको धुवाँ, रंगीचंगी बत्ती अनि उच्छृंखल गीतहरूमा नानीहरूको उत्तेजक नृत्य । रमाइलो गर्न आएका ग्राहक आफ्नै सुरमा झुम्मिरहेका छन्, नाचिरहेका छन् । गीत बजिरहेको छ, ‘मै तो हुँ कबसे रेडी तैयार, पटालो सैयाँ मिसकल से ।’

डबलीबाट म बसेको सोफासम्म आउँदा उसका हात तानेर बस न भन्ने दर्जन ग्राहक छन् । तर ऊ इमानदार छे । हामी भएकै ठाउँमा आइपुगी । मेरो साथी निकै हौसियो । हेन्डसेक ग¥यो र फकाउन सुरु गर्‍यो, ‘ह्वाट अ पर्फेक्ट डान्स ।’ उसले थ्यांक यु भनी ।

‘हो, त्यही क्यारेमबोर्ड खेल्न आउने थियो एउटा सामाजिक परिचालक जन्तु,’ उसले कुरा सुरु गरी, ‘त्यसैले स्कुल पढ्दै गरेकी मलाई फकायो, फुल्यायो र सडकमा पुर्‍यायो ।’

कोटेश्वरमा भेटिँदा ऊ निकै भोकाएकी थिई । बोल्न सकिरहेकी थिइन । चिनेको साथीलाई फोन गरेर उद्धार गर्दा एक हजार रुपैयाँ दिएको थिएँ । भनेको थिएँ, ‘त्यहाँ तिमीलाई काठमाडौं बस्ने आँटका लागि सहयोग हुन्छ, म फोन गरुँला ।’

मैले फोन गरिनँ । त्यसमाथि साथीले फोन गरेर पुतली उड्यो भनेपछि सम्बन्धहरू टुटे । एक हजार रुपैयाँ पनि प्रशंसापत्र नपाउने गरी र शिलालेखमा नाम नलेखिने गरी गुमनाम दान भयो ।

हो, त्यही सामाजिक परिचालकले गाउँ–गाउँमा पढाउँथ्यो, ‘कलिलो उमेरमा यौनसम्पर्क गर्नु हुँदैन, २१ नपुगी बिहे गर्नु हुँदैन र चाँडै बच्चा पाउनु हुँदैन ।’ थपी, ‘उसका कुरा कति मीठा थिए है दाइ ।’

सुनाई, ‘कहिले गजल सुनाउँथ्यो, कहीले मीठो गीत, कथा र भन्थ्यो, यो मैले लेखेको ।’ हामी भर्खरका किशोरी ऊसँग को बढी रत्तिने भन्नेजस्तो भयो । उसले मलाई नै आँखा गाडेको रहेछ । थपी, ‘आमाले त भन्नुभएको थियो, धोका खालिस् काली । आमाको कोख रुवाउलिस् ।’

सहरमा ठूलै कलाकार गायन प्रस्तुत गर्दैछ र म असल श्रोता बनेर श्रवण गरिरहेको छु । यस्तै लागिरहेको छ । उसले भनी, ‘दुनियालाई यस्तो पढाउने उसले एकदिन मसँग प्रस्ताव गर्‍यो, बिहे गर्छु भन्यो । नाइँ भन्न नसक्दा यो हालत बनाइदियो ।’

‘कहाँ छ त त्यो फ्रड ?’

भनी, ‘यही फ्रडमान्डु छ नि, मलाई बिहे गर्छु भनेर भूकम्प गएका बेला फकाएर सहर ल्यायो र कोटेश्वरमा छाडेर भागेको केटो त बढुवा भएछ ।’

‘गाउँका चेलीबेटी बेचबिखन न्यूनीकरण गर्न, कलिलैमा बिहे नगर्न र वैदेशिक रोजगारीमा जानु पनि बेचिनु हो भन्दै पढाउनेहरू गाउँका धेरै किशोरीलाई ‘प्रिग्नेन्ट’ बनाएर काठमाडौं छिरेका छन् दाइ,’ उसले भनी, ‘एबोर्सन गर्ने त कति–कति ?’

यो कथा तपाईं लेख्न सक्नुहुन्न । किनभने सबै मजस्तो मदिराको नसामा हुँदैनन्, मनभित्रै लुकाउँछन् । हरेक हप्ता तपाईंको पत्रिकामा आउने समाचारमा शिशुको शव भेटियो भन्नुमा यिनै फ्रडको पनि हात छ । उसका मर्मभेदी कुराले पोल्यो । भनेँ, ‘विषयवस्तु दिएकीमा धन्यवाद ।’

सुनाई, ‘मैले पनि २० दिनअघि एबोर्सन गरेँ, आमाको अनुहार बिर्सिएँ । बाबुको रीस बिर्सिएँ । घर फर्कँदा मैले पाउने दुःख र यत्रो दिन हराएको छोरी भित्र्यायो भनेर आमाबाबुले पाउने अपमान सम्झिएँ, अनि तपाईंले काठमाडौंमा बस्न दिएको हौसला सम्झिएर यो नरक छिरेँ दाइ ।’ उसले ह्वीस्की स्वाट्टै पारी । भनी, ‘यो सहर गाउँमा फ्रड गरेर भागेकाहरूको रहेछ, अस्ति एक दिन त्यो सामाजिक परिचालक पनि बढुवा भएर सामाजिक अधिकृत भएको भोज दिन यहीँ आएको थियो, मलाई देखेर कालोनिलो भयो ।’

‘तिमीले केही गरिनौ ?’

‘भर्खर काममा लागेको छु, किन झगडा गर्नु ? साथीलाई हुलिया मगाएको छु । एकदिन अफिस गएर केही इलाज गराउँला,’ ऊ निरासा रहिनछे । घर जाने बेला भइसकेको थियो ।

अहिले त झनै गाउँमा थरि–थरिका फ्रड पुगेका छन्, दाइ । भूकम्पपछि त सब फ्रड ‘रेस्क्यु’ का नाममा हामीजस्ता कलिला किशोरी, अबला र बालबालिकाको भविष्य बर्बाद पारिरहेका छन् ।

आज उसले ह्वीस्की धेरै पिइन । मातेर ग्राहकसँग मोलाहिजा गरिन । परिपक्व भएर बोली, ‘टुँडिखेलमै टेन्टभित्र बलात्कार भएको खबर पढेको थिएँ, तपाईंकै पत्रिकामा रामदेवले समेत बालक भारत लैजान खोजेको पढेँ । साँच्चै यी सबका सब रामनामी सल ओढेका र टाइसुट लगाउने फ्रडहरूको पञ्जाबाट मुलुक कहिले मुक्त हुन्छ दाइ ?’

मेरो साथीलाई उसका कुरा मात लाग्न छाडिसकेको थियो । उसको नम्बर लिएर हामी फर्कने हतारमा थियौँ । ऊ पनि आजको अन्तिम नृत्यका लागि तयार भई । बेरालाई भनिन्, ‘आज दाइहरूलाई मेरो ट्रिट भनिदेऊ काउन्टरमा ।’ वाह रे, केटी त यति बलशाली क्वीन भइछे ।

‘जीवन काँचको शिशा नबनाऊ, कहिलेकहीँ आरनमा ठोकठाक पारिएको फलामे टुकी पनि बनाऊ, ताकि गरिबका झुपडीमा उज्यालो दिन सकिन्छ, अनि समाजका थुप्रै फ्रडको अनुहार कालोमा लुकेका बेला खोज्न सकिन्छ ।’

हात मिलाई । अँगालो मारी र भनी, ‘यु वेलकम दादा, गुडनाइट, म अफिसमै आउँछु एक दिन ।’

सहरका रंगीन सपना देखाएर कति किशोरीलाई कोटेश्वर, तीनकुने, चाबहिल, कलंकी, बल्खु र बालाजुमा ल्याएर बिचल्ली पार्ने फ्रडहरू सहरमा झुमिरहेका होलान् । तिनै फ्रडलाई सस्तोमा मनोरञ्जन दिने साधन बनेका छन् उनीहरूबाटै शोषितपीडित यस्ता किशोरीहरू ।

बाइ गर्दै जस्केलामा पुग्दा अन्तिम बिदाइ नृत्य चलिरहेको थियो, गीत घन्किरहेको थियो, ‘तेरी कुर्थी सेक्सी लग्ती बे, तेरी कुर्थी सेक्सी ।’ तर, होटलभरका कसैले कुर्था लगाएको देखिन्नथ्यो ।

[email protected]

प्रतिक्रिया