जुम्ला, २२ असार । हिमाली जिल्लामा शैक्षिकसत्र सुरु भएको चार महिनाको अन्तरालमा जिल्ला शिक्षा कार्यालय जुम्लाले ४८ जना शिक्षकबाट लिखित स्पष्टीकरण लिएको छ ।
जिल्लाको पाँचसय, सिंजा, चौधबीस र असी भेकका विभिन्न विद्यालय अनुगमनका क्रममा अनुपस्थित भेटिएका शिक्षकबाट शिक्षा कार्यालयले स्पष्टीकरण लिएको हो ।
अनुगमन गरिएका विद्यालयमा सिंजा क्षेत्रको कोइलीचरी मावि लुम, कनकासुन्दरी उच्च मावि लुड्कु, पाँचसय भेकका जनजागृति मावि ताम्ती, मावि घोडेमहादेव, असी भेकको अशोक नमुना प्रावि खलङ्गालगायतका विद्यालयका शिक्षक बिना जानकारी विद्यालय बाहिर गएको र नियमानुसार प्रदान गरिएको सेवाको पनि सदुपयोग नगरेकाले उनीहरुबाट लिखित स्पष्टीकरण लिइएको जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले जानकारी दिए ।
कुनै पनि शिक्षकले सम्बन्धित विद्यालयको प्रधानाध्यापकबाट सात दिने बिदा लिने व्यवस्था भएपनि त्यसको बेवास्ता गरी आफूखुसी विद्यालयमा अनुपस्थित भएको देखिएपछि उनीहरुबाट लिखित स्पष्टीकरण मागिएको हो ।
काबु बाहिरको परिस्थितिमा विद्यालय बाहिर हुनेबाहेक अन्य परिस्थितिमा बाहिरिएका शिक्षकहरुले चित्त बुझ्दो स्पष्टीकरण नदिए नियमानुसार कारबाही हुने उनको भनाइ छ ।
जिल्ला शिक्षा अधिकारी र स्रोत व्यक्तिको समूहगत तथा छुट्टाछुट्टै टोलीले जिल्लाका सबै क्षेत्रका विद्यालयमा यस वर्ष पटक पटक अनुगमन गरिसकेका छन् ।
प्रतिक्रिया