काठमाडौं, २० असार । कांग्रेस उपसभापति एवं सभासद रामचन्द्र पौंडेलले संघीय राज्यको प्रदेशको खाका आफूलाई नपचेको बताएका छन् ।
संविधान सभाको आजको बैठकमा छलफलमा भाग लिँदै पौडेलले ६ प्रदेश नेपालको अवस्थाका लागि एकदमै उपयुक्त हुने बताए ।
‘सबैले सहमतिमा संविधान जारी गर्नेभन्दै आएकाले अधिकतम सहमतिका आधारमा संविधान मस्यदा निर्माण गरिएको छ’, पौडेलले भने, ‘हामीले सर्वोच्च अदालतको आदेशको अपहेलना नगरेर अधिकार क्षेत्रको विषय मात्र उठाएका हौं ।’
उपसभापति पौडेलले संघीयताका सम्बन्धमा कांग्रेसले पटक पटक सिमाङ्कनसहितका प्रस्ताव ल्याउँदा संघीयता विरोधी भनिएको स्मरण गर्दै त्यसलाई नमानेकै कारण अहिले गलत संघीयताको मोडल आएको बताए ।
‘यो अहिले ल्याइएको आठ प्रदेश म आफैंले पचाउन सकिरहेको छैन’, उनले भने, ‘६ प्रदेशमा संविधान जारी गरौं । सिमाङ्कनसहित अघि जान सकिन्छ । जातजातिलाई राज्य बाँडेर संघीयता आउँदैन ।’
उनले समझदारीका क्रममा केही असावधानी भएका हुन सक्नेभन्दै त्यस्ता कमजोरी भए सच्याउन हिचकिचाउन नहुने बताए ।
धर्म निरपेक्षाताले नेपालमा कन्फ्युजन सृजना गरेको बताएका उपसभापति पौडेलले त्यसलाई सच्याउनुपर्ने बताए । ‘जहाँसम्म धर्मनिरपेक्षताको कुरा छ, यसले नकारात्मक अर्थ सृजना भएको छ’, उनले भने, ‘त्यसैले त्यसको विकल्पमा स्पष्ट गर्न धार्मिक स्वतन्त्रता शब्द प्रयोग गरौं ।’
प्रतिक्रिया