भूकम्पले विद्यार्थीको खडेरी

काठमाडौं, २० असार । भूकम्पका कारण काठमाडौंका कलेजमा विद्यार्थी घटेका छन् । भूकम्पका कारण धेरैजसो विद्यार्थी नेपालगञ्ज, बुटवल, विराटनगर, पोखरा र धनगढीमै रहेपछि काठमाडौंका कलेजमा विद्यार्थी घटेका हुन् ।

काठमाडौंमा उच्च शिक्षाका लागि ठूला नाम चलेका कलेजमा मात्र विद्यार्थी चाप रहे पनि मझौला र साना कलेजमा विद्यार्थी नै छैनन् । काठमाडौंका कलेजले एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको दश दिनमा प्रवेश परीक्षा लिइनेमा अहिले २० दिनपछि लिइरहेका छन् । काठमाडौंमा प्रायः विज्ञान र व्यवस्थापन पढ्ने विद्यार्थी बाहिरबाट आउने गरेका थिए । यसपाली एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी मात्र काठमाडौंका कलेजमा भर्ना हुन आएका छन् ।
काठमाडौंका नाम चलेका सेन्टजेभियर, प्रसादी, काठमाडौं मोडेल कलेज, ट्रिनिटी, लिभरपुल, मेघा कलेज, गोल्डेन गेट, नासा, पेन्टागन, साउथ वेस्टर्न, लोयोला कलेजबाहेक अन्य कलेजमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी निकै न्यून छन् । ती कलेजमा फाटफुट विद्यार्थीले फारम लिने गरेका छन् ।
१२ वैशाखको भूकम्पका कारण जोखिम मोल्न अभिभावक तयार नभएपछि छोराछोरीलाई स्थानीय कलेजमै भर्ना गरेका छन् । करिब २० प्रतिशत विद्यार्थी यसपटक काठमाडौंका कलेजमा भर्ना हुन आएका छैनन् । काठमाडौंजत्तिकै राम्रा कलेज बाहिर पनि भएकाले पनि विद्यार्थी यसपटक काठमाडौं आएनन् ।
बुटवलस्थित न्यु होराइजन कलेजका संस्थापक प्रिन्सिपल लोकनाथ उपाध्याय विगतभन्दा करिब २० प्रतिशत विद्यार्थीको चाप बुटवलका कलेजमा बढेको बताउँछन् । उनले एसएलसीमा राम्रै अंक ल्याएका विद्यार्थी मात्र काठमाडौं पढ्न गएका बताए । ‘पहिले भन्दा २० प्रतिशत विद्यार्थी यहाँ बढेका छन्’, उनले भने, ‘अभिभावक पनि भरसक यहाँ नै पढाउन मन गरेको पाइयो ।’ उनको कलेजमा गत वर्ष एक हजार विद्यार्थीले आवेदन दिएकामा यस वर्ष एक हजार तीन सय विद्यार्थीले पुगेका छन् ।
यस्तै, नेपालगञ्जस्थित आदर्श उच्चमाविका प्रिन्सिपल ईश्वरी पोखरेल नेपालगञ्जमा यस वर्ष विद्यार्थीको प्लो बढेको बताए । ‘गत वर्षभन्दा यस वर्ष नेपालगञ्जमा विद्यार्थीको चाप बढी छ’, हिसान केन्द्रीय सदस्यसमेत रहेका पोखरेलले भने, ‘केही राम्रो प्रतिशत ल्याएका विद्यार्थी मात्र विज्ञान पढ्न काठमाडौं गएका छन् ।’ उनले यहाँको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरले पनि विद्यार्थी काठमाडांैको आकर्षणबाट पछि हटेका बताउँछन् । ‘अब हामी पनि काठमाडौंकै जतिको पढाइ र सुविधा दिन्छौँ’, उनले भने, ‘यस वर्षचाहिँ भूकम्पका कारणले धेरै विद्यार्थी रोकिए । अब सधैँ रोकिन सक्छन् ।’ बाँकेमा सुर्खेत, बर्दिया, दैलेख तथा कर्णाली अञ्चलबाट विद्यार्थी अध्ययनका लागि आउँछन् ।
हिसान उपाध्यक्ष रमेश सिलवालले भूकम्पका कारण केही असर परेको बताए । उनले ठूला र राम्रा कलेजमा विद्यार्थीको चाप भए पनि मझौला र साना कलेजमा विद्यार्थी नभएको जानकारी दिए । ‘भूकम्पका कारण १५ प्रतिशत जुन ठाउँबाट विद्यार्थी आउने हो, आएनन्,’ उनले भने, ‘केही मझौला र साना कलेजमा विद्यार्थीको असर पर्छ ।’ उनले नेपालगञ्ज, बुटवल, पोखरा र विराटनगरमा पनि यसपटक राम्रा कलेज खुलेकाले विद्यार्थी त्यहीँ अडिएको बताए । उनले ती ठाउँबाट विद्यार्थी नआए पनि अरू ठाउँबाट आएको दाबी गरे ।

प्रतिक्रिया