मेरो नयाँ अभियान

कहाँबाट सुरु गरौँ ? आठ जिल्लाका ५४ गाउँमा ठूला ५४ र साना १८ वटा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेपछि बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको क्षेत्रमा दीर्घकालीन रूपमा काम गर्ने योजना बनाउँदै छु ।
मलाई लाग्यो– हामी चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, विद्यालय, सरकार तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पूर्णतः फेल
भएका छौँ ।
विकट गाउँका बालबालिका ननुहाएर मयलका पत्र जमेका, बाह्रै महिना लुतोले ग्रस्त, अविरल सिँगान, लामखुट्टे तथा अन्य कीराले टोकेका गाउँ, पाकेका कान, कहिल्यै नधोएका फाटेका कपडा, फोहोर खाना र दूषित पानीको सेवन आदिको कारण कुपोषण र रोगले बाह्रमासे सिकार भइरहेका छन् ।
स्वास्थ्य संस्थाले सरसफाइ सिकाउँदैनन्, विद्यालयले सरसफाइबारे चासो राख्दैनन् । दुर्गमका कुरा मात्र होइन, यही बागमती अञ्चलका गाउँमा गए हृदयविदारक बिम्ब पाइन्छ । आजको २१ औँ शताब्दीमा पनि हाम्रो हालत प्राचिन युगको भन्दा दयनीय छ । नेताहरूलाई भोट भए पुग्ने, सरकारी र गैरसरकारी संस्थालाई नोट भए पुग्ने, बाबुआमालाई रक्सी र चुरोट भए पुग्ने, कर्मचारीलाई भरिएको कोट भए पुग्ने, दाताहरूलाई पैसा असुल्ने बोट भए पुग्ने, मिडियालाई ध्वंश र चोट भए पुग्ने ….के कसैको जिम्मेवारी छैन निःस्वार्थ सेवा गर्न ?
यस्तो विपत्तिमा सलमान खानको जोडी कोसँग मिल्छ ? जुलियाले कहाँ मोडलिङ गरिन् ? कुन कविले कुन बिम्बमा लेखेको कविताले ताली पायो ? कुन खेलाडीले पौडी खेल्यो ? रेस्लिङमा कसलाई चोट लाग्यो ? आदि समाचारपछि राखौँ । अहिले विपत्तिका कुरा लेखौँ, समाधानका उपाय प्रचार गरौँ, गाउँ–गाउँमा खटेका नायकलाई प्रेरित गरौँ, सरसफाइसम्बन्धी जनचेतना विस्तार गरौँ । जे गरौँ, मनैदेखि गरौँ । हाम्रो धरातलीय यथार्थताका बारे सोचेर त्यहीअनुसार गरौँ । मिडियाले मनैदेखि चाहेमा जनचेतनाको वर्षात् हुनेछ । स्वास्थ्यकर्मी र शिक्षकले चाहेमा प्रत्येक गाउँमा चेतनाको लहर चल्नेछ । पार्टीहरूले चाहेमा एक महिने सरसफाइ तथा पोषण अभियान चलाउन सक्छन् । आफू सुकिलोमुकिलो भएर मात्र हुँदैन, हरेक व्यक्तिले आफ्नो गाउँ वा समाजलाई सुकिलो बनाऔँ ।
मेरो अभियान अब बालबालिकाको सरसफाइ, भएका रोग नियन्त्रण, अब रोग लाग्न नदिने उपायबारे चेतना विस्तार, स्वास्थ्य सम्बद्र्धन र रक्षा गर्न पोषणको कार्यक्रम अनि अशिक्षारूपी अन्धकारबाट शिक्षाको उज्यालो प्रदान गर्ने… हुनेछ । एक्लै यो अभियान सबै ठाउँमा पुग्न असम्भव छ । जति सम्भव छ, मनैदेखि गर्नेछु । विकट गाउँमा जिरोबाटै सुरु गर्नुपर्ने स्थिति छ ।
अब उप्रान्त कसैले कसैलाई पनि बिना ठोस कार्यक्रम र बिनाउपलब्धि (मिडियाको, सम्बन्धको, प्रचारको वा चिनजानको आधारमा) आफ्नो पसिना बालुवामा नहालौँ । जसले जे सकिन्छ, जहाँ सकिन्छ र जसरी सकिन्छ– केही गरौँ । हामीले एउटा रेस्टुरेन्टमा एकपटक तिर्ने बिल प्रत्येक महिना बालबालिकाको सरसफाइ, पोषण, स्वास्थ्य र शिक्षामा अर्पण गरौँ । हामीले नबिर्सौं, हामी त्यो स्थानमा भएको भए ? आफ्ना बालबालिका त्यो स्थानमा भएका भए ? सानो सहयोग अनि सानो अभियानले ती अबोध बालबालिकालाई राष्ट्र तथा विश्वले गौरव गर्नलायक बनाउन सकिन्छ । राजधानी, सदरमुकाम, बजार र विकसित गाउँ मात्र हाम्रो देश होइन ।

डा. रवीन्द्र समीर

प्रतिक्रिया