‘तपाईं जुनबेला कुनै समस्यामा पर्नुहुन्छ, कुनै स्क्यान्डलमा फँस्नुहुन्छ, आप्mना सच्चा मित्र र हितैषीहरू को–को हुन् भनेर थाहा पाउने समय त्यही हो । तापनि मैंले सधैं भन्ने गरेकी छु, म जहिले पनि आप्ना भावना र अनुरागहरूबाट निर्देशित रहँदै आएकी छु… आई ह्याभ अल्वेज एडमिटेड द्याट आ’एम रुल्ड बाइ माइ प्यासन… ।’ यसो भन्ने अमेरिकी फिल्म नगरी हलिउडकी एकजना सदाबहार महान अभिनेत्री एलिजाबेथ टेलर अहिले हामीमाझ छैनन् । लामो समयदेखि विभिन्न रोगहरूविरुद्ध लड्दै आएकी टेलरले २०११ मार्च २३ तारिखमा अन्तिमपटक सांस फेरिन् । मुटुसम्बन्धी समस्याले बढी नै च्याँपेपछि उनलाई फेब्रुअरि २०११ म लस एन्जेलसस्थित सेडार्स–साइनाई मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । मृत्युसँगै टेलरले आफ्ना चार छोराछोरी र मिथ भइसकेका आफूसम्बन्धी अनगन्ती यादहरू संसारलाई छाडेर गइन् ।
एलिजाबेथ टेलर, जसलाई अक्सर ‘लिज’ टेलर भनेर मात्र पनि पुकारिन्थ्यो, केवल हलिउड अभिनेत्री भएर मात्र चर्चित भएकी होइनन्, उनी अनिंद्य सुन्दरी थिइन्, ग्ल्यामरस थिइन्, अरुलाई अनायासै आफूतिर आकर्षित गर्ने बैजनी आँखा थिए र ती सबैभन्दा बढी त उनमा बेजोड अभिनय प्रतिभा थियो । तीन वर्षको कलिलो उमेरदेखि सुरु भएको उनको त्यही अभिनय यात्रा मृत्युपर्यन्त अर्थात् ७९ वर्षको उमेरसम्म अनवरत जारी रह्यो ।
अझ, यसभन्दा पृथक् लिज टेलर उपल्लो दर्जाकी समाजसेवी थिइन् । मानवसेवामा पनि उनलाई त्यत्तिकै अभिरुचि थियो । उनले एचआइभी÷एड्स रोगविरुद्ध चेतना विस्तार गर्न र त्यससम्बन्धी अनुसन्धान एवं उपचारनिम्ति लाखौं डलर रकम प्रदान गरिन् । सातजना लोग्ने मानिससँग आठपटक विवाह गरेकी उनको व्यक्तिगत जीवनका पाटा–पाटाहरू संसारभरिका मिडियामा अत्यधिक प्रचारित हुनेगर्थे । उनले दुईपटक विश्व–प्रतिष्ठित सिने पुरस्कार ‘एकेडेमी अवार्ड फर बेस्ट एक्टेस’ पाएकी थिइन् ।
जीवनका उकाली–ओराली
कारोबारको सिलसिलामा बेलायतको हिथवुड भन्ने ठाउँमा बसोबास गरिरहेका अमेरिकी माता–पिता सेरा भायोला वार्मब्रड र फ्रान्सिस लिन टेलरको परिवारमा २७ फेब्रुअरी १९३२ मा जन्मेकी एलिजाबेथ रोजमन्ड टेलरको पुख्र्यौली थलो अमेरिकी राज्य कन्सास हो । उनको नामका प्रथम दुई अक्षर उनकी हजुरआमाको सम्मानमा उनीसित जोडिएको हो अर्थात् एलिजाबेथ मेरी (रोजमन्ड) टेलर । उनकी आमा पनि कुनै बेला थिएटर अभिनेत्री थिइन्, पछि आर्ट डिलर व्यापारी फ्रान्सिससित विवाह भएपश्चात् पूर्ण गृहिणीमा रूपान्तरित भएकी थिइन् । यसरी लिज टेलर जन्मको हिसाबले बेलायती र माता–पिताको हिसाबले अमेरिकी गरी दुवै देशको नागरिक थिइन् ।
तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलका घनिष्ठ मित्र तथा सांसद कर्णेल भिक्टर क्याजालेटको टेलर परिवारमा निकै प्रभाव थियो । चित्रकला र थिएटरका अनुरक्त प्रशंसक उनी धार्मिक प्रवचन पनि दिन्थे र यहुदीहरूको पृथक् राज्य हुनुपर्छ भनी वकालत पनि गर्थे । पछि उनलाई लिज टेलरले आप्mनो ‘गडफादर’ भन्ने गर्थिन् ।
उनले तीन वर्षको उमेरदेखि नै अभिनय गर्न र ब्याले नृत्य सिक्न थालिन् तर दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा केहीअघि नै सन् १९३९ मा टेलर परिवार न्युयोर्क हुँदै लस एन्जेलस स्थायी बसोबास गर्न पुग्यो । दुनियाँको सबैभन्दा बढी चर्चित सिने नगरी हलिउड त्यही लस एन्जेलसमा छ । छिट्टै लिज टेलरकी आमालाई एउटा रहस्यमय तथ्य थाहा भयो– हलिउडका मानिसहरू हरेक सुन्दर चेहरामा आप्mनो सिनेमाको भविष्य देख्छन् † नभन्दै सुन्दर र आकर्षक व्यक्तित्व पाएकी लिज टेलरले ‘युनिभर्सल पिक्चर्स’बाट विनाअडिसन सात वर्ष लामो करार पाइन् । अनि सुरु भयो उनको फिल्मी अभिनय यात्रा ।
नौ वर्षको उमेरमा सन् १९४२ मा टेलरले ‘देयर्ज वन बम एभरी मिनेट’ नामक चलचित्रमा पहिलोपटक बालकलाकार भएर अभिनय गरिन् । तर एक वर्ष नहुँदै त्यो करार भंग भयो । लगत्तै मेट्रो गोल्डविन मेयर (एमजिएम) नामक प्रतिस्पर्धी फिल्म उत्पादन कम्पनीसित टेलरको सम्झौता भयो, जुन धेरै वर्षसम्म नै अटुट रह्यो ।
एमजिएम कम्पनीले उनलाई किशोरी नायिकाको रुपमा सन् १९४३ मा ‘ल्यासी कम होम’ चलचित्रमा अभिनय गरायो । फिल्म सफल रह्यो, जसले गर्दा टेलरले साप्ताहिक एक सय डलर पारिश्रमिक पाउने गरी सात वर्ष लामो करार पाइन् । लगत्तै सन् १९४४ मा उनका दुईवटा फिल्म ‘जेन आयर’ र ‘द ह्वाइट क्लिप्mस अफ डोभर’ प्रदर्शन भए । सोही वर्ष चलचित्र ‘न्यासनल भेल्भेट’ मा उनले गरेको भेल्भेट ब्राउन पात्रको भूमिकाले गर्दा १२ वर्षको उमेरमै टेलर चर्चित स्टार बन्न पुगिन् । कालान्तरमा उनले यो फिल्मलाई ‘आफूले खेलेको सबैभन्दा रोमाञ्चक फिल्म’ भन्ने गरेकी थिइन् तर साथै यही फिल्मको सुटिङ गर्दा घोडाबाट लडेकी हुँदा उनलाई आजीवन पिठ्युँ दुःख्ने व्यथाले समातेको थियो । ‘न्यासनल भेल्भेट’ मा दर्शकहरूले पहिलोपटक कुनै किशोरी (नारी) लाई घोडा दौडाउँदै गरेको देखेका थिए । टेलरका आधिकारिक जीवनी लेखक एलेक्जान्डर वाकरका शब्दमा, ‘त्यो फिल्मले केही पनि असम्भव छैन, नारीले पनि पुरुषले गर्नसक्ने कामहरू गर्न सक्छन् भन्ने जीवन दर्शन दियो र फिल्म क्लासिकल हिट हुन पुग्यो ।’
तीन वर्षपछि बनेको ‘करेज अफ ल्यासी’ मा उनको बिल नाम गरेको कुकुर पात्रले नाजीहरूलाई हायलकायल पार्छ । यो फिल्मको सफलताले टेलरको पारिश्रमिक एकैपटक बढेर सात सय ५० डलर प्रतिसाता पुग्यो । त्यसपछि बनेका ‘लाइफ विथ फादर’, ‘सिन्थिया’, ‘अ डेट विथ जुडी’, ‘जुलिया मिस–बिहेभ्स’ र ‘लिटल वुमन’ जस्ता एकपछि अर्को सफल फिल्म साबित भए । धेरैजसो दृश्यहरू एकैपटकमा ‘ओ के’ हुन थालेपछि अब उनको नाम नै ‘वन–सट लिज’ भएको थियो ।
प्रसिद्धि र पुरस्कार
व्यस्क नायिकाको रूपमा टेलरले अभिनय गरेको पहिलो फिल्म सन् १९४९ मा निर्मित ‘कन्स्पिरेटर’ थियो । अर्को फिल्म ‘द बिग ह्याङओभर’ गर्दा उनले दुई हजार डलर प्रतिसाता पाउन थालिन् । यसपछि बनेका करिब एक दर्जन फिल्म लगातार बक्स अफिसमा असफल रहे । तर १९५६ मा बनेको उनी अभिनीत ‘जायन्ट’ पछिका १९५७ को ‘रेन ट्री कन्ट्री’, १९५८ को ‘क्याट अन अ हट टिन रुफ’, १९५९ को ‘सडन्ली, लास्ट समर’ र १९६० को ‘बटरफिल्ड एइट’ का लागि लगातार चार वर्ष सर्वश्रेष्ठ अभिनेत्रीको एकेडेमी अवार्ड पुरस्कारका लागि मनोनीत भइन् र अन्ततः ‘बटरफिल्ड एइट’ का लागि उनलाई त्यो चिरवाञ्छित पुरस्कार प्राप्त पनि भयो ।
सन् १९६० मा भावी पति अभिनेता रिचर्ड बर्टनको अपोजिट भएर ट्वान्टिथ सेन्चुरी फक्स कम्पनी निर्मित अत्यन्त खर्चिलो फिल्म ‘क्लियोप्यााट्रा’ का लागि दस लाख डलर पारिश्रमिक लिएर टेलर त्यो बेलासम्म सबैभन्दा बढी पारिश्रमिक पाउने नायिका बनेकी थिइन् । अतिरिक्त समयसमेत काम गरेर टेलरले यो भूमिकाका लागि कुल बीस लाख डलर आम्दानी प्राप्त गरिन् । सन् १९६६ मा बनेको उनको अर्को फिल्म ‘हू’ज अफ्रेड अफ भर्जिनिया उल्फ ?’ मा गरेको अभिनयका लागि टेलरले फेरि एकपटक सर्वश्रेष्ठ नायिकाको एकेडेमी अवार्ड जितिन् । साठीको त्यो दशकमा टेलर–बर्टन जोडीले थप छवटा फिल्ममा सँगै काम ग¥यो । सन् १९६७ सम्म यो जोडीले खेलेका फिल्महरूले मात्र बीस करोड डलरभन्दा धेरै आम्दानी गरेका थिए तर त्यसपछि भने क्रमशः उनको सौन्दर्य र अभिनयको चर्चा भइरहे पनि उनी अभिनीत फिल्महरू एकपछि अर्को गर्दै व्यावसायिक तवरमा असफल हुँदै जान थाले । सत्तरीको दशकपछि उनले अनेक थिएट्रिकल फिल्महरूमा काम गरिन्, केही सस्पेन्स फिल्म, कतिपय टेलिसिरियल, सोप ओपेरा, रंगमञ्चीय नाटकहरूसमेतमा अभिनय गरिन् । अन्तिमपटक उनले १ डिसेम्बर २००७ मा आप्नै संस्था ‘एड्स फाउन्डेसन’ का लागि दस लाख डलर रकम उठाउने उद्देश्यसहित अढाइ अजार डलर टिकट राखेर ‘लभ लेटर्स’ नामक नाटकमा अभिनेता जेम्स अर्ल जोन्ससँगै मूल नायिकाको भूमिका निर्वाह गरेकी थिइन् । त्यो नाटक पाँच सयभन्दा बढी मानिसले अवलोकन गरेका थिए भने तिनताका हडतालमा उत्रेका ‘राइटर्स गिल्ड अफ अमेरिका’ संगठनमा आबद्ध लेखक–पत्रकारले टेलरको अनुरोधमा त्यो नाटक मञ्चन हुने स्थान प्यारामाउन्ट पिक्चर्सको अडिटोरियम हल जाने–आउने बाटाहरू सबै ठाउँबाट एक दिनका लागि आप्mनो धर्ना र अन्य सबै कार्यक्रम स्थगित गरेका थिए ।
३९ वर्षमै हजुरआमा
लिज टेलरले सातजना पुरुषसित आठपटक विवाह गरिन् । सर्वप्रथम सन् १९५० मा आफू १८ वर्ष हुँदा उनले कोनराड निकी हिल्टनसित विवाह गरिन्, जुन नौ महिनामै पारचुकेमा टुंगियो । सन् १९५२ मा उनले आफूभन्दा बीस वर्ष जेठा माइकल विल्डिङसित विवाह गरिन्, जोसँग पाँच वर्षपछि पारचुके हुनुभन्दा पहिले दुई छोरा सन्तान माइकल होवार्ड र क्रिस्टोफर एडवर्ड जन्माइन् । सन् १९५७ मा माइकल टडसित उनको विवाह भयो जसबाट एउटी छोरी एलिजाबेथ फ्रान्सिस ‘लिजा’ को जन्म भयो । तर मार्च १९५८ मा माइकल टडको मृत्यु भएकाले यो वैवाहिक सम्बन्ध पनि टुट्यो (सम्बन्ध विच्छेद हुन नपरेको टेलरको एकमात्र विवाह यही थियो) । सन् १९५९ मा टेलरले टडकै घनिष्ठ साथी एडी फिसरसित विवाह गरिन्, जुन पाँच वर्षपछि विच्छेद भयो । ‘क्लियोप्याट्रा’ फिल्मबाट सुरु भएको रोमान्सले गर्दा आप्नो छैटौँ विवाह टेलरले अभिनेता रिचर्ड बर्टनसित गरिन् । दस वर्ष सँगै रहँदा टेलर–बर्टन दम्पत्तीले एक छोरी मारियालाई अंगीकार गरे । सन् १९७४ मा उनीहरूबीच पारपाचुके भयो तर त्यसको सोह्र महिनापछि सन् १९७५ मा फेरि विवाह गरे र फेरि नौ महिनापछि अन्तिमपटक छुट्टिए ।
लिज टेलरको सातौँ विवाह सन् १९७६ मा रिपब्लिकन सिनेटर जोन वार्नरसित भयो, जुन छ वर्ष चलेर टुंगियो । आप्नो आठौँ विवाह सन् १९९१ मा अर्थात् आफू ५९ वर्षकी हुँदा टेलरले ल्यारी फोर्टेन्स्कीसित गरिन् तर त्यो पनि पाँच वर्ष टिकेर सम्बन्ध–विच्छेदमै समाप्त भयो । सन् २००७ मा उनले नवौँ विवाह गर्ने चर्चा पनि चलेको थियो तर टेलर आफैँले अस्वीकार गरेकी थिइन् । उनलाई एकपटक सोधिएको थियो, किन यति धेरै विवाह गरेकी भनेर । उनको उत्तर थियो, ‘त्यो त म आफैँलाई पनि थाहा छैन तर यसो गर्नुपर्छ भन्ने विचार मभित्रैबाट आएको हो भन्नेचाँहि साँचो हो ।’
टेलर ३९ वर्षको पुग्दानपुग्दै सन् १९७१ मै हजुरआमा भइसकेकी थिइन् । उनको मृत्युपछि अहिले यो संसारमा उनका चार छोराछोरी, दस नातिनातिना र चार पनातिपनातिना छन् ।
समाजसेवाको बाटोमा
एलिजाबेथ टेलर ती सेलेब्रिटीहरूमध्येकी एक थिइन् जसले भर्खरभर्खर छापाहरूमा आउन थालेको महामारी एचआइभी÷एड्स विरोधी मानवीय अभियानमा आफूलाई समर्पित गरेका थिए । सर्वप्रथम उनले नै ‘एड्स प्रोजेक्ट, लस एन्जेलस’ का लागि सन् १९८४ मा पहिलो ‘एड्स फन्ड रेजर’ कार्यक्रम आयोजना गरी कोष संकलन गरेकी थिइन् । यो अभियानमा तीस वर्षभन्दा लामो समयसम्म सक्रिय सहभागी हुने क्रममा उनले यो महामारीविरुद्ध लड्न, जनचेतना अभिवृद्धि गर्न, यो रोगसम्बन्धी भेदभाव अन्त्य गर्न अनि अनुसन्धान, उपचार, शिक्षा र सरकारी लगानीमा कार्यक्रमहरू सञ्चालन गर्न बीस करोड डलरभन्दा बढी रकम संकलन गर्न अद्वितीय सहयोग पुर्याएकी थिइन् ।
उनका पुराना मित्र तथा सह–कलाकार रक हड्सन एड्स लागेर दिवंगत भएपछि सोही वर्ष सन् १९८५ मा टेलरले दुईजना डक्टरसँग मिलेर ‘अमेरिकन फाउन्डेसन फर एड्स रिसर्च’ नामक संस्था खोलेकी थिइन् । सन् १९९३ मा उनले ‘एलिजाबेथ टेलर एड्स फाउन्डेसन’ स्थापना गरिन् ।
उनलाई यी मानवीय सेवा कार्यका लागि सन् १९९२ मा ‘जीन हर्सोप्mट ह्युमानिटेरियन अवार्ड’ नामक विशेष एकेडेमी अवार्ड प्रदान गरिएको थियो । सन् १९९७ मा अमेरिकी स्क्रिन एक्टर्स गिल्डले सम्मान गर्दै ‘लाइफ एचिभमेन्ट अवार्ड’ प्रदान गरेको थियो । सन् २००० मा महारानी एलिजाबेथ द्वितीयाबाट टेलर ‘ड्याम कमान्डर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ विभूषणले सम्मानित भइन् भने २००१ मा उनी अमेरिकाको दोस्रो सर्वाधिक ठूलो नागरिक सम्मान ‘प्रेसिडेन्सियल सिटिजन मेडल’ पुरस्कारबाट सम्मानित भइन् । डिसेम्बर २००७ मा क्यालिफोर्नियाका गभर्नर आर्नोल्ड स्वेर्जनागर र प्रथम महिला मारिया स्रिभरले लिज टेलरलाई द क्यालिफोर्निया म्युजियम फर हिस्ट्री, वुमेन एन्ड द आर्ट्स’ संग्रहालयमा ‘क्यालिफोर्निया हल अफ फेम’ मा समावेश गरेका थिए ।
संसार छाड्नुअघि
एलिजाबेथ टेलर र पप सम्राट माइकल ज्याक्सनबीच निकै गहिरो मित्रता थियो । ज्याक्सनले टेलरको ६५औँ जन्मदिनमा ‘एलिजाबेथ, आई लभ यु’ भन्ने कालजयी गीत रचना गरी समर्पित गरेका थिए । ज्याक्सनविरुद्ध बाल यौनदुराचारको मुद्दा चलिरहँदा टेलरले उनलाई सार्वजनिक तवरबाटै पूर्ण सहयोग र समर्थन दिएकी थिइन् ।
सन् २००३ मा टेलरले ७५औँ वार्षिक एकेडेमी अवार्ड समारोहमा सहभागी हुन अस्वीकार गरेकी थिइन् । इराक–युद्धको विरोधमा उनले यसो गरेकी थिइन् । सद्दाम हुसेनलाई इराक छाड्न भनेकोमा उनले खुलेरै राष्ट्रपति जर्ज डब्लयु बुसको सार्वजनिक आलोचनासमेत गरेकी थिइन्, आफूलाई त्यो युद्धले ‘तेस्रो विश्वयुद्ध’को भयले सताएको पनि बताएकी थिइन् ।
सत्ताइस वर्षको उमेरमा यहूदी धर्म ग्रहण गरेपछि टेलरले आप्mनो जीवनको धेरै समय इजरायल र यहुदी धर्मसम्बन्धी कार्यहरूमा पनि बिताएकी थिइन् । यसले गर्दा कतिपटक त उनका फिल्महरू अरब मुलुकमा बहिष्कृत भएका थिए । सन् १९६२ मा ‘क्लियोप्याट्रा’ फिल्मको छायांकनका लागि उनलाई इजिप्ट प्रवेश गर्ने अनुमति दिइएन, इजिप्ट सरकारले भन्यो, ‘सुश्री टेलरले यहुदी धर्म ग्रहण गरेको र इजरायलको अस्तित्व स्वीकार गरेको हुँदा उनलाई इजिप्टमा प्रवेश निषेध गरिएको छ ।’ वास्तवमा, टेलर यहुदी बन्नुमा उनका ‘गडफादर’ भिक्टर क्याजालेटको ठूलो प्रभाव परेको थियो ।
गरगहनाकी अत्यन्त सौखीन लिज टेलरले आप्mना गहनाहरूको रुचि र संग्रहसम्बन्धमा एकजना फोटो पत्रकारको सहयोगमा एउटा पुस्तक नै निकालेकी थिइन्– ‘माइ लभ अफेयर विथ ज्वेलरी’ । आप्mनो समयकी ‘फेशन आइकन’ टेलरले प्यासन, व्हइट डायमन्ड र ब्लयाक पर्ल जस्ता महँगा पप्र्mयुम ब्रान्डहरूको विज्ञापन गरेर वर्षेनी करोडौँ डलर आय गरेकी थिइन् । ‘सेलेब्रिटी मार्केटिङ’ मा उनी अगुवा मानिन्छिन् ।
ग्रेटा गार्बो, मार्लोन ब्रान्डो, बेटी डेभिस, क्याथरिन हेबम, एनग्रिड बर्गम्यान, मर्लिन मुनरो, लिलियन गीश, शर्ली टेम्पल, क्यारी ग्रान्ट, हेनरी फोन्डा, चार्ली च्याप्लिन, सोफिया लरेन, जेम्स स्टेवार्ट आदि समेत हलिउडका अव्वल सिने कलाकारहरूको ‘हलिउडको सुनौलो युग’ की एक प्रतिनिधि र अमेरिकी फिल्म इन्स्च्यिुटद्वारा निर्मित ‘फिमेल लिजेन्ड लिस्ट’मा सातौँ नम्बरमा राखिएकी टेलरले आजीवन स्वास्थ्य समस्याको सामना गर्नुपर्यो । पाँचपटक सम्म उनको ढाड भाँच्चिएको थियो, उनका दुवै नितम्ब हटाउनु (रिप्लेस गर्नु) परेको थियो, ब्रेन ट्युमर र छाला क्यान्सर जस्ता रोगबाट उच्चस्तरीय उपचारपछि छुट्टी पाएकी थिइन्, दुईपटक डरलाग्दो न्युमोनियाग्रस्त भएकी थिइन्, सन् १९८० को दशकमा अल्कोहलिज्मका लागि गम्भीर उपचार गराएकी थिइन्, डिप्रेसन र अल्जाइमरको पनि उपचार गराउनु परेको थियो, जीवनका अन्तिम वर्षहरूमा व्हिलचेयरमा यता–उता गर्ने उनलाई २००४ देखि मुटुसम्बन्धी ‘कन्जेस्टिभ हार्ट फेलियर’ रोग देखा परिसकेको थियो । २००९ मा मुटुको शल्यक्रिया भयो तर पछि यही रोगले २३ मार्च २०११ म ७९ वर्ष उमेर भएकी लिज टेलरलाई चीर निन्द्रामा सुताइदियो ।
एलिजाबेथ टेलरको मृत्युपछि शोक व्यक्त गर्दै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले भनेका थिए, ‘एलिजाबेथको लिगेसी विश्वभरिका ती असंख्य मानिसहरूमाझ जीवित रहिरहनेछ जुन मानिसहरूको आयु र जीवन टेलरले गरेका कार्य र अभिप्रेरित गर्दै आएका प्रयासहरूले गर्दा लामो र बेहतर भएको छ ।’
अलविदा, एलिजाबेथ टेलर ।
प्रतिक्रिया