गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प गोरखाको वारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्नेच्युड लगतै भोलिपल्ट १३ गतेसमेत ठूलै गएको थियो । विनाशकारी भूकम्प गएको १७ दिन नबित्दै फेरि अर्को शक्तिशाली भूकम्प दोलखाको सुनखानी केन्द्रबिन्दु भएर ६.८ म्याग्नेच्युडको गएको थियो । भूकम्पले दोलखा, सिन्धुपाल्चोक, काबे्रपलान्चोक, काठमाडौं, भक्तपुर, रामेछापलगायत १६ जिल्ला खण्डहरमा परिणत गरिदिएको दृश्य देखियो ।
विनाशकारी भूकम्प गएको ४५ दिनपछि स्थलगत रिपोटिङका क्रममा काठमाडौंबाट दोलखाका लागि बिहानै लागियो । अरनिको राजमार्ग हुँदै जाने क्रममा काभ्रेपलाञ्चोक बनेपा, धुलिखेल, पाँचखालका सडक आसपासका क्षेत्रमा भूकम्पले कम क्षति भएको देखिन्छ ।
यसैगरी सिन्धुपाल्चोकको सुकुटेतर्फ अगाडि लागेपछि राजमार्गवरपरका बजार तथा बस्तीका कुनै पनि घर उभिएको देख्नै मुस्किल पर्छ । त्यसमाथि ठाउँठाउँमा खसेको पहिरोले सबैको आङ सिरिङ्ग बनाएको अनुभव गर्दै हामी आगाडि लाग्यौँ । अरनिको राजमार्गको सडक अनेक स्थानमा चिराचिरा परेको छ ।
सुकुटे, बलेफी र खाडीचौरजस्ता अरनिको राजमार्गका मुख्य बजारस्थित घरहरू खण्डहरमा परिणत भएको दृश्य क्यामेरामा कैद गर्दै अगाडि बढ्यौँ । अरनिको राजमार्गलाई छोड्दै खाडीचौरबाट दोलखा जान उकालो लाग्यौँ । उकाली चढ्दै गर्दा पारि डाँडामा अचानक हेर्दा धुलोको मुस्लो निकाल्दै तल झरेका सुक्खा पहिरो देख्दा मन भारी नहुने त कुरै भएन ।
हामी त्यही बाटो भएको स्मरण गर्दा कतै हाम्रै मोटर पनि कुनै यस्तै सुक्खा पहिराले पुरिन्छ कि भन्ने मनमा त्रास पैदा हुन थाल्यो । कतै पोहिरोको चपेटा सवारीसाधनमा परेको छ कि जस्तो लाग्यो । मनलाई थुम्थुमाउँदै अगाडि बढ्दै गर्दा सडकछेउका घरहरू खण्डहर भएको दृश्यले मन झनै छियाछिया बनाउँदै थियो ।
भूकम्प गएको करिब डेढ महिनापछि दोलखा जाँदै थिएँ । विपत्तिले निम्त्याएको विनाश नियाल्नुशिवाय अरू केही काम थिएन । उकालीका ती हरेक घुम्ती र मोडहरू काटेर अगाडि बढ्दै जाँदा मनले मनलाई प्रश्न गर्न थाल्यो । बाटो वरपरका न सिमेन्ट र रडले बनेका घर सग्ला देखिन्थे न ढुंगामाटोले बनेकै । जता जाँदा पनि घरहरू खण्डहरमा परिणत भएसँगै माटो वा कंक्रिटका थुप्राबाहेक अरू केही देखिँदैनथो । त्यसैको जगलमा टाँगिएका पाल, त्रिपाल वा अस्थायी काठे टहरोका दृश्यले मनमा झनै निराशा थप्दै थियो ।
एक घन्टाको उकाली यात्रामा पुगियो मुडे बजार । केही वर्षअगाडिदेखि मात्र धमाधम काठे टहरालाई विस्थापित गरेर पक्की घरहरूको निर्माण भइरहेको थियो । भूकम्पले आज तिनै पक्की घरहरू खण्डहरमा परिणत गरिदिएसँगै विस्थापित भएर काठेटहरामा पुगेको थियो मुडे बजार । दोलखा, रामेछापलगायतमा जानका लागि यही बाटो भएर जानुपर्छ । बाटो हिँड्नेहरूलाई खाजा र खानाका लागि चमेनागृह तथा आलु पसल छन् ठाउँठाउँमा ।
भत्किएका घर, पहिरो र त्रिपालको दृश्यलाई आत्मसात् गर्दै हामी साझ ७ बजेतिर चरिकोट बजार पुग्यौँ । चरिकोटका प्रायः कुनै होटल बस्नलायक थिएनन् । चरीघ्याङतर्फको उकालोका अधिकांश होटलको हालत कहालीलाग्दो थियो । कुनै घरहरू लडेका थिए भने कोही ढल्केको अवस्थामा थिए ।
त्यो राती साथीहरूसँगै पालमा बस्ने निधो भयो । खानाचाहिँ नजिकै टुँडिखेलको छेउको होटलमा खाइयो । त्यो राती साथीहरूसँगै पालमा सुतियो । राती पानी परेर पालबाट पानी छिरेकाले निदाउन भने राम्रोसँग पाइएन ।
यात्राका कहालीलाग्दा दृश्य र जोखिमयुक्त बाटाघाटाले पहिले नै भत्केका मन–मस्तिष्क दुवैलाई शिथिल बनाइदिएको थियो । बिहानै अपरतामाकोसी जलविद्युत् आयोजनाको प्रवेश मार्गका लागि बनाएको सिगंटीको बाटो हुँदै यात्रा सुरु भयो । त्यही खण्डहर बस्तीहरू नियाल्दै यात्रामा निस्कियौँ ।
भूकम्पले २९ वैशाखमा सुनखानीको राम्चेमा केन्द्रविन्दु बनाएको रहेछ । त्यहाँ हामी पुग्दा त्यस क्षेत्रका स्थानीयहरू पटकपटक आइरहेका पराकम्पनले निकै त्रासमा बसेका रहेछन् । सबै घरहरू खण्डहरमा परिणत भएसँगै जमिन छियाछिया बनाएको रहेछ । माथिबाट तल चिराचरा परेको दखियो । खेतहरूमा समेत अवस्था उही थियो । त्यहाँका स्थानीयहरू जताततै पोहिरोको जोखिमका कारण त्रासमा रातदिन काट्ने गरेका रहेछन् । ‘रोपाइँ कसरी गर्ने ? खेतमा गराहरू छियाछिया भई धजा परेका छन्, कसरी रोपाइँ गर्ने ? पानी अढिने अवस्थै छैन,’ उनीहरू भन्दै थिए ।
त्यसपछि लागियो सिंगटीतर्फ । आधा घन्टाको यात्रासँगै पुगियो सिंगटी बजार ।
अघिपछि बिहानको समय अति खचाखच भरिने सिंगटी बजार अहिले सुनसान थियो । यो २२ भन्दा बढी उत्तरी गाविसको व्यापारिक केन्द्र हो । भूकम्पपछि यो उराठलाग्दो भग्नावशेषको थुप्रोमा परिणत भएको रहेछ ।
व्यापारका सिलसिलामा वरपरका विभिन्न गाउँबाट आएर बसोबास गर्न थालेका स्थानीयले नै दुई दशकअगाडि मात्रै सिंगटी बजार सिर्जना गरेका हुन् । दुई भागमा विभाजित बजारको खोलावारिको भाग लामीडाँडा–६ भने पारि लादुक–८ गरेर सिंगटी बजार बनेको हो ।
दोलखाका आर्धा दर्जन जलविद्युत् आयोजनाको प्रवेशद्वारको रूपमा डेढ महिनाअघिसम्म चलायमान बजारको छुटै रौनक थियो । आज आकलझुकल गाउँबाट नुन–तेल किन्न झरेका गाउँले र केही स्थानीयबासीबाहेक अरू मान्छे भेट्नै मुस्किल !
२९ वैशाख भूकम्पमा दोलखाको सुनखानीलाई केन्द्रबिन्दु बनाएर गएको अर्को शक्तिशाली भूकम्पले बजार पूरै तहसनहस बनाइदियो । त्यसपछि गएको पहिरोले बजारमा झनै ठूलो क्षति पु¥याएको हो । अहिले बजारका कुनै पनि घर बस्न लायकको अवस्थामा छैनन् ।
थातथलो छोड्न मन नभएका स्थानीयबासी अहिले पनि त्यहीँ अस्थायी टहरा बनाएर बसिरहेका छन् । अहिले सिगंटी बजार पहिरो र बाढी दुवैको उच्च जोखिममा भएसँगै बजारको भविष्य नै अन्योलमा परेको छ ।
त्यहाँका स्थानीय बासिन्दा अहिले झन्झन् त्रासमय जीवन जिउन बाध्य छन् । बस्ती स्थानान्तरणको चर्चाले त उनीहरू झन् त्रासमा छन् । स्थानान्तरणको हल्लासँगै स्थानीयहरू झन् आक्रोशित थिए । आफूहरूले दसनंग्रा खियाएर सिर्जना गरेको ठाउँ छाडेर अन्यत्र जान उनीहरू चाहँदैनन् ।
तीन सयभन्दा बढी घरधुरी त्यहाँबाट विस्थापित हुने खतरामा छन् । बर्खासँगै सडक सञ्चालनमा नहुने अवस्था भए पनि वर्षामा राहत नपाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सत्ताएको छ ।
सिंगटीको दोभानमा झ्याँकु, सुरी, चंखु, मार्कु, खारे, गौरीशंकर, लामाबगर, ओराङ, लादुक, बुलुङ, चिलंखा, विगु, आलम्फु, सुनखानीलगायत गाविसमा स्थायी घर भएकाहरू आएर व्यापार व्यवसाय गर्दै आएका थिए । सिंगटीका बजारमा वर्षौंदेखि बसिरहेका उनीहरूको अहिले आफ्नो गाविसमा समेत घर छैन । आफ्नो हराइरहेको आफन्तको मुचुल्का बनाइपाऊँ भनेर इलाका प्रहरी कार्यालय धाउनेहरूको संख्या पनि कम छैन । प्रशासनले भने त्यसको पुष्टि नगरिदिँदा भूकम्पमा मृत्यु भएबापत पाउने राहतसम्म पाएका छैनन् ।
सिंगटीमा सबैको आ–आफ्नै कथाहरूको दुःखको भारी छ । वर्षौंको मिहिनेतले जोडेको सम्पत्ति गुमाउँदाको पीडा छ । अर्कोतर्फ राज्यको बेवास्ताको सिकारमा परेकाहरू पीडा र दर्दनाक अवस्थामा छन् । तर, पनि त्यहाँका बासिन्दा पुनः दसनंग्रा खियाएर नयाँ सिर्जना गर्न आतुर छन् । सरकारबाट सहयोग मात्रै चाहेका छन् सिगंटीबासीले ।
केही घन्टाको सिंगटी बसाइपछि जिरीका लागि फर्कियौँ । बाटोमा राहत तथा पुनःस्थापनाका लागि आएका विदेशी तथा स्वदेशीहरूको लर्को बाटोमा टन्नै देखिन्थ्यो । बाटोवरपरका दृश्य अन्यत्रभन्दा फरक थिएनन् । भत्किएका घर र बारीको पाटोमा टेन्ट, त्रिपाल वा अस्थायी टहरा देखिन्थे ।
मध्याह्न १२ बजेतिर जिरी पुग्दा त्यहाँको दृश्य पनि कम दुःखदायी थिएन । पुराना घरहरू बजारका सबै लडेका थिए । जिरीका नयाँ घरसमेत सग्ला थिएनन् । बाहिरबाट ठाडो देखिएका घर पनि बस्न नहुने गरी भत्किएका थिए । जिरीका अधिकांश घरमा बस्नै नहुने गरी क्षति पुगेको रहेछ । पुराना घरहरू अधिकांश माटोको थुप्रोमा परिणत भएका थिए । हालको भूकम्पपछि त्यहाँ रहेको जेटिएससमेत काठमाडौंमा सर्ने हल्लाले स्थानीयहरू आतंकित थिए ।
स्थानीयहरू राहतका नाममा केही नपाएको गुनासो गर्दै थिए । अधिकांश पीडित घरमा पुरिएका आफ्नो अन्नपात ननिकालेर राहत कुरेर बसेको देखियो । स्थानीयहरू ‘सरकारले राहतका लागि केही पनि गरेन बस्ने बासकोे व्यावस्था गरिदिए, खाना त गाउँमा एक छाक जसरी पनि जुटाउँथ्यौ’ भन्दै थिए ।
नगरपालिका प्रमुख मरासिनी परिचयपत्र वितरण र तथ्यांक संकलन भइरहेको भनेर पन्छिन खोज्दै थिए । स्थानीय बासिन्दा तथ्यांक संकलन गर्न गाउँ गएकाहरू घरघरमा नपुगी बाटोबाटै लगत संकलन गरी फर्किने गरेको अरोप लगाउँदै थिए । सरकार र गैरसरकारी संस्थाले राहतका नाममा दुई माना चामल, आधा बोत्तल तेल, एक पोका नुनजस्ता सामग्री मात्र दिएर उपेक्षा गरेको भन्दै उनीहरू रुष्ट देखिन्थे ।
त्यहाँस्थित २५ बेडका जिरी अस्पताल पशु कार्यालयमा बदलिएका थिए । अस्पतालपरिसरमा अस्थायी पाल टाँगेर बिरामीको उपचार भइरहेको थियो भने पशु कार्यालयको समेत अवस्था उही देखियो । भविष्य त्यही जिरी अस्पतालको झैं अनिश्चित थियो । न सरकारले त्यसलाई पुनर्निर्माणमा चासो दिएको छ, न त कुनै राहत नै पठाएको छ ।
प्रतिक्रिया