दोलखा, जेठ २१ । दोलखाको काब्रे गाविसका भूकम्प पीडितलाई वितरण गर्न लगिएको राहत सामग्री गुणस्तरहीन भएको भन्दै स्थानीयले फिर्ता पठाएका छन् ।
राहत वितरणको जिम्मा पाएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्डे«नले गाविसमा पुर्याएको राहत समग्री गुणस्तरहीन र कमसल भएको भन्दै स्थानीयले फिर्ता पठाएका हुन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले उक्त गैरसरकारी संस्थालाई काब्रे गाविसमा राहत वितरणका लागि तोकेको हो ।
वितरणका लागि गाविसमा सोमबार लगिएको जर्किन, त्रिपाल, साबुनलगायतका सामग्री गुणस्तरहीन भएको जनाउँदै स्थानीयले लिन नमानेपछि सामग्री फिर्ता ल्याइएको सेभ द चिल्ड्रेन सम्बद्ध सुआहारा परियोजनाका जिल्ला संयोजक दिनेश बस्नेतले स्वीकार गरे । ‘अन्य गाविसमा वितरण गरिएको भन्दा कम सामान भएकाले स्थानीयले बुझ्न मानेनन् त्यसैले समग्री फिर्ता ल्याइयो’ बस्नेतले भने ।
वितरणका लागि लगिएको जर्किन एक थान, १२ इन्च चौडाइ र १५ इन्च लम्बाइको त्रिपाल एक थान र एक थान लाइफ ब्वाय साबुन भूकम्पपीडितले बुभ्mन नमानेपछि फिर्ता पठाइएको नेपाली कांग्रेस काब्रेका सभापति गीताकृष्ण शर्माले बताए ।
‘हेर्दा कामै नदिने सामग्री भएकाले स्थानीय पीडितले लिन माननेन्, त्यसैले फिर्ता गरेका हौँ’ शर्माले भने । भूकम्प गएको झन्डै एक महिनापछि लगिएको पालसमेत च्यातिएको र पातलो भएकाले स्थानीयले राहत बुझ्न नमानेका हुन् । अन्य गाविसमा वितरण गरिएकोभन्दा कम गुणस्तरका सामान र नपुगसमेत भएकाले स्थानीयले राहत बुझ्न नमानेको शर्माले बताए ।
स्थानीय राजनीतिक दल, सामाजिक संघ, संस्था र स्थानीय बुद्धिजीवीसमेतको रोहबरमा राहत फिर्ता गरिएको हो । आफ्नो ठाउँमा आएको राहत फिर्ता भएपछि स्थानीयले राहत माग गर्दै बुधबार जिल्ला दैवीप्रकोप उद्धार समितिसमक्ष गुणस्तयुक्त राहत उपलब्ध गराउन माग गरेका छन् । यता सेभ द चिल्ड्रेनका जिल्ला प्रतिनिधि पशुपति सापकोटाले वितरणका लागि लगिएको राहत सामग्री गुणस्तरहीन नभएको दाबी गरे ।
‘हामीले गुणस्तरहीन सामग्री वितरणका लागि लगेका थिएनौँ’ सापकोटाले भने ‘हामीले अन्य गाविसमा सोलार बत्ती वितरण गरेका थियौँ तर काब्रेमा थिएन । त्यसैले स्थानीयले राहत नबुझेका होलान् ।’
काब्रे गाविसबाट फिर्ता पठाइएको राहत समग्री जिल्ला दैवीप्रकोप उद्धार समितिलाई जिम्मा लगाएको सेभ द चिल्ड्रेनले दाबी गरको छ । समितिका संयोजक तथा दोलखाका सिडिओ प्रेमलाल लामिछानेले राहत फिर्ताबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
‘भर्खर थाहा भएको छ । के भएको रहेछ अब छानबिन हुन्छ’ लामिछानेले बताए । उनले सेभ द चिल्ड्रेनले फिर्ता ल्याइएको राहत सामग्री जिल्ला दैवीप्रकोप उद्धार समितिलाई नबुझाएको प्रष्ट पारे ।
प्रतिक्रिया