छब्बीस वर्षपहिला खोलिएको महिला आधारशीला नामक संस्था यतिबेला भूकम्पबाट खेदिएका गर्भवती र सुत्केरी महिलाको भरपर्दो आश्रयस्थल बनेको छ । काठमाडौंको थलीमा रहेको यस संस्थाको लोभ लाग्दो भवनमा दर्जन महिला र सैयौँ केटाकेटी बस्छन् । सोह्र रोपनी जग्गामा फैलिएको उक्त संस्थाको भवनमा वर्षौंदेखि अभिभावक गुमाएका बालबालिका र एकल महिलाले बासस्थान पाएका छन् । त्यहाँ बस्ने कसैलाई कुनै कुराको अभाव छैन । खान, बस्न, खेल्न, पढ्न, स्वास्थ्य उपचार गर्न । सबै कुराको व्यवस्था संस्थाले मिलाएको छ । क्षमताअनुसार रोजगारी पाएका छन् त्यहाँ बस्ने महिलाले ।
सुत्केरी र गर्भवती, त्यसमा पनि एक–दुई होइन दर्जनौँको व्यवस्था गर्नु सामान्य होइन । के कारण यति ठूलो जोखिम उठाउँदैछ उक्त संस्था ? संस्थाकी कोषाध्यक्ष सविता बुढाथोकी भन्छिन्, भूकम्पपीडितलाई राहत बाँड्न सिन्धुपाल्चोक गएका थियौँ । एकजना महिला राहत लिन स्कुलले प्रयोग गरेको ब्यानरमा बेरिएर आइन् । उनको अवस्था देखेर प्रश्न सोधेँ, ‘किन ब्यानरमा बेरिएर आउनुभएको ?’ महिलाले जवाफ दिइन्, ‘भूकम्पले घर पुरियो, शरीरमा भएको कपडाबाहेक केही बाँकी रहेन । सबै पुरियो । धेरै दिन भएको थियो, एउटै कपडा लगाएको, मैलो भएर धोएँ । फेर्ने अर्को कपडा नभएकाले यही ब्यानर पाएँ र यही बेरेकी हुँ ।’ उनको जवाफले हामीलाई भावुक बनायो । राहत भनेको दाल, चामल, नून र तेल मात्र होइन रहेछ । यतिबेला महिलाका अनेक समस्या छन् भनेर हाम्रो ध्यान मोडियो । हामीले कैयौँ ठाउँमा प्याड र सुत्केरी महिलालाई आवश्यक पर्ने सामान बाँड्यौँ ।
त्यहाँबाट आउनेबित्तिकै काठमाडौंमा रहेको शिविर हे¥यौँ । चुच्चेपाटीबाट तीनजना सुत्केरी महिलालाई पालबाट उठाएर ल्यायौँ । सुत्केरी र गर्भवतीको अवस्था देखेर नयाँ सुरुवात गरेका हौँ । सुत्केरी र गर्भवतीलाइ पालमा बस्न गाह्रो हुन्छ । यो उनीहरूको आराम गर्ने समय हो । त्यसैले यहाँ व्यवस्था ग¥यौँ । कति गइसके, कोही सुत्केरी हुने दिन भएकाले अस्पताल जान्छन् । उतैबाट घर वा आफन्तकोमा जान्छन् । हामीले दुई महिनासम्म राख्ने भनेका छौँ । आउने र जाने क्रम चलिरहन्छ । यो घर हेरक दृष्टिले सुरक्षित छ । जर्मनी प्राविधिकको सल्लाहमा बनाएका हौँ,’ बुढाथोकीले भनिन् । संस्थाले आफैँ अर्गानिक तरकारी खेती, पश्मिना उद्ययोग जस्ता आयआर्जनको काम गरेको छ । संस्थाको उत्पादन अमेरिका, क्यानडा जस्ता देशमा निर्यात हुन्छ र त्यहाँ बस्ने नेपालीले गरेको सहयोगमा चलेको छ संस्था ।
संस्थाले राख्ने सुत्केरी गर्भवती महिला भएको स्थानमा पुरुष बस्न पाउँदैनन् । कतिका श्रीमान् दिउँसो भेटेर फर्कन्छन् । कैयौँमा सासु वा अन्य महिला साथी बस्न पाउँछन् । खुला, फराकिला र उज्याला कोठा अनि अगाडिको चौरले त्यहाँको वातावरणलाई अझ लोभलाग्दो बनाएको छ । बच्चालाई चाहिने झलुङ्गोदेखि झुलसम्म दिइएका छन् । सफा ओछ्यान, पोषिलो खानाले सबै महिलालाई प्रभाव पारेको छ । वरपर हर्लिक्स, फलफूल र समय–समयमा दिने खानाले दंग छन् भूकम्पले त्रसित भएका महिला यहाँ ।
पल्साङ तामाङले भूकम्पको त्रासदीकै बीचमा वैशाख ३१ गते पाटन अस्पतालमा बच्चा जन्माइन् । ललितपुरको सातदोबाटोमा कोठा लिएर बस्ने उनको बास वैशाख १२ देखि पालमुनि भयो । भूकम्प आउँदा अरू भाग्थे, उनलाई भाग्न जिउका कारण समस्या थियो । परिवारलाई पनि चिन्ता । भारी जिउको मान्छे छोडेर कसरी भाग्नु ? त्यसैले परिवारलाई आफूहरूको भन्दा उनको चिन्ता थियो । पहिलो सन्तान भएकाले पनि उनको स्वास्थ्यप्रति परिवार गम्भीर थिए । तर, जति गम्भीर भए पनि उनीहरूसँग जाने ठाउँ थिएन । घर जाउँ, सिन्धुपाल्चोक कसरी जाने ? भूकम्पको सबैभन्दा प्रभावित ठाउँ । यता सुरक्षित कतै छैन पालबाहेक । यस्तै समस्या झेल्दै गर्दा उनको बच्चा जन्मियो ।
अस्पतालले बच्चा जन्मेको दुई दिनमा छुट्टी दिएपछि उनको परिवारमा झनै समस्या थपियो । दूधे बच्चा र सुत्केरी आमालाई कता लाने भन्ने । यही चिन्ताको बीचमा टेलिभिजनमा देखिएको समाचारले उनीहरूको मनमा केही राहत मिल्यो । समाचारमार्फत सुने । थलीमा सुत्केरी र गर्भवती महिलाका लागि महिला आधारशीला नामक संस्थाले सुरक्षित रूपमा बस्ने व्यवस्था गरेको छ । त्यसैको आधारमा खोजी गर्दै जेठ ५ मा उनी त्यहाँ पुगिन् । अहिले उनको परिवार पनि ढुक्क छ, बच्चा र आमा सुरक्षित भएकोमा ।
संस्थाले महिलाका लागि बस्ने खानेदेखि सुत्केरी अवस्थामा चाहिने सबै कुराको व्यवस्था गरेको छ । भूकम्पले उनको सिन्धुपाल्चोक घर पूरै भत्काएकाले जाने अवस्था छैन । बेला–बेलामा श्रीमान् भेट्न आउँछन् । संस्थाले पुरुषलाई राति बस्न दिँदैन । त्यसैले उनको साथी सासु प्रेममाया साथमा छिन् । प्रेममाया भन्छिन्, ‘यहाँ जस्तो खानपानको व्यवस्था म पु¥याउन सक्दैन थिएँ । गाई, भैँसी र घरको सबै धन्दा सकाएर बुहारीलाई खुवाउनु पथ्र्यो । यहाँ त छिनछिनमा हर्लिक्स, दूधका साथै राम्रो खाना दिएका छन् । भूकम्पको डर कति पनि छैन । म त ढुक्क छु, यहाँ आउनुपहिला हामीलाई साहै्र चिन्ता थियो । अहिले आनन्द भएको छ ।’
महिलाको सबैभन्दा संवेदनशील समय भनेको सुत्केरी अवस्था हो । यस्तो अवस्थामा भागदौड गर्न सम्भव हुँदैन । यो आराम गरेर बस्ने र पौष्टिक खाना खाने समय हो । तर, वैशाख १२ गते आएको भूकम्पका कारण अनगिन्ती सुत्केरी र गर्भवती महिलाको आराम गर्ने र पोषिलो खाने दिन गुमेको छ । धेरै महिलाले पाल र टेन्टमा बसेर सुत्केरी हुने दिन कुर्दै छन् । कैयौँ दूधे बच्चालाई पालको तातो हावा र जमीनको चिसोले असर गर्दैछ । यस्तै अवस्थाबाट गुज्रेकी छन्, विनु लामा । नुवाकोट घर भई जोरपाटीमा बस्ने उनको सुत्केरी हुने दिन डाक्टरले असार २ गतेलाई दिएका छन् । उनी भने यतिबेला महिला आधारशीला संस्थाको आश्रयमा थलीमा छिन् ।
भूकम्प गएपछि उनीसँगै परिवारको पालमा बास थियो । उनको घरभेटीले सुरक्षाको कारण घर छोडे । गह्रौँ जिउ उनलाई शारीरिकसँगै मानसिक सकस थियो । ‘यहाँ आएपछि ढुक्क भएको छ । दिनमा चारपटक स्वास्थ्य जाँच हुन्छ । खान पनि घरमा भन्दा राम्रो छ,’ विनु भन्छिन्, ‘ढुक्कले बसेको छु र जति भूकम्प आए पनि कुनै त्रास छैन । यो घर बलियो छ भन्ने सुनेको छु, त्यसैले डर छैन ।’
मकवानपरु घर भएर मूलपानी बस्ने मनिका घलानको काठमाडौंनजिकका कोही छैनन् । उनको पेटमा नौ महिलनाको सन्तान छ । श्रीमान् कामको शिशिलामा नेपालबाहिर छन् । योभन्दा अगाडि दुईवटा सन्तान गुमाएकी उनलाई अहिले झन् त्रास छ, कतै यो सन्तान पनि गुमाउनुपर्ने त होइन भन्ने । यो बच्चा भने सुरक्षित जन्माउन पाए हुन्थ्यो भन्ने छ, उनलाई । भूकम्पको कारण बसेको डेरा उनका लागि सहज छैन । गाउँमा जाउँ भने घर भत्किएको छ । चिनेको साथीको सहयोगमा जेठ ११ मा यहाँ आइपुगिन् । यतिबेला उनलाई न त त्रास छ न कुनै समस्या । वरपर भएका आफूजस्तै दिदीबहिनीले उनलाई सहयोग गर्छन् । आफूजस्तै अरूलाई देख्दा उनको मन केही हलुँगो हुन्छ । संस्थाको सहयोग पर्याप्त पाएकी छन् ।
भूकम्पले सबैभन्दा क्षति प¥याएको सिन्धुपाल्चोक जिल्लाकी सविना तमाङको दिन कहिले खाटमुनि लुक्ने प्रयासमा बित्यो, कहिले गाडी त कहिले पालमा । पाटनमा बस्ने उनको अवस्था पनि अरूको भन्दा कम छैन । चार दिन यसैगरी बिताइन् उनले । वैशाख १२ को भूकम्प सम्झँदै उनी हाँसिन, ‘के गरुँ के गरुँ भयो । खाटमुनि लुक्न खोजेको पेटका कारण छिर्न सकिनँ । टाउको मात्र छि¥यो ।’ वैशाख १६ मा उनी सुत्केरी भइन् । जेठयता उनलाई कुनै तनाव छैन । भन्छिन्, ‘यहाँ आएपछि सबै ठीक छ । खान, बस्न, बच्चाको स्याहारमा कुनै समस्या छैन । घरमा भए पनि यति राम्रो हँुदैन थियो होला तर, यहाँ बेला–बेलामा स्वास्थ्य जाँच, फलफूल, दूध, मासु र अन्डा दिन्छन् । यस्तो आरामले बस्न पाइएला भन्ने लागेको थिएन । अब ढुक्क छु ।’
नुवाकोट पुख्र्यौली घर भएकी छिरिङ्ग डोल्मु तमाङ्गको अस्थायी बसोबास बौद्ध नयाँ बस्तीमा छ । भूकम्पले चिरा परेको डेरमा उनका श्रीमान् बस्छन् । उनी भने सुत्केरी हुने दिन कुरेर सुुुरक्षित स्थान खोज्दै थली आइपुगेकी छन् । चर्केको घरमा त्रासले बस्न सकिनन् । पालमा बस्दा चिसोका कारण खोकी लाग्न थाल्यो । बेला–बेला आउने भूकम्पमा सबै भाग्थे, तर उनी भारी जिउका कारण भाग्न सक्दैन थिइन् । परिवारलाई उनको चिन्ता हुन्थ्यो । अहिले सबै तनावबाट मुक्त भएका छन् । यहाँ बस्ने कसैलाई कुनै समस्या छैन । जे परे पनि संस्थाले उपलब्ध गराएको छ । भेट्न आउनेले ल्याएदिने फलफूल र हर्लिक्सको कमी हँदैन । कोठामा एक्लै गुम्सिएर बस्नुपरेको छ । हाँसो, ठट्टा र रमाइलोमा बितेको छ, दिन । पालबाट मुक्त पाएकोमा सबैको अनुहारबाट त्रास हटेको छ ।
संस्थामा रहेका सुत्केरी, नवजात शिशु र गर्भवती महिलाका लागि खटिएकी स्वास्थ्यकर्मी आशा लिम्बूलाई पनि यहाँ काम गर्न पाउँदा आनन्द लागेको छ– अस्पतालमा भन्दा सजिलो छ । यहाँ सबैले सहयोगी भावना देखाउनुहुन्छ । समस्या भए पनि शान्तसँग सोध्नु हुन्छ । तर, यहाँ भएका महिलामा शारीरिक भन्दा मानसिक समस्या बढी छ । कसैको छिन–छिनमा प्रेसर घटबढ भइरहन्छ । त्यो सबै त्रासको कारणले हो, अरू खासै समस्या छैन । चारजना छौँ, दुईजनाले राति दुईजनाले दिउँसो हेर्छौं । यहाँ काम गर्दा प्रेसर छैन । काम गरेको मससुस हँदैन, घरमा बसे जस्तै भएको छ ।
– चमिना भट्टराई
प्रतिक्रिया