
काभ्रे । केही दिनअघि काभ्रेपलाञ्चोककोे नमोबुद्व नगरपालिकामा नगरपालिकाले मृत कागमा देखिएको एच–नाइन नामक पन्छीजन्य महामारीजन्य रोगबारे सचेत रहन सूचना जारी गरेको थियो । अहिले सोही रोग सोही जिल्लाको बनेपास्थित कुखुरा फार्ममा समेत फैलिएको पाइएको छ । संक्रमण तीव्र रूपमा फैलिएपछि बनेपा नगरपालिका–७ स्थित एक किसानको फार्मका करिब ५ हजार २०० कुखुरा नष्ट भएका छन् ।
फार्म सञ्चालक पूर्ण मानन्धरका अनुसार अण्डा उत्पादनका लागि पालिएका ४० हप्ताका लेयर्स कुखुरामा संक्रमण देखिएपछि धमाधम मर्न थालेका थिए । केही दिनमै मृत्युदर शतप्रतिशत पुगेपछि सम्पूर्ण कुखुरा नष्ट भएको उनले बताए । ‘मैले इन्स्योरेन्स (बिमा) पनि गरेको थिइनँ, अहिले सबै लगानी शून्यमा पुगेको छ,’ मानन्धरले दुःखेसो पोख्दै भने, ‘करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।’ पशु चिकित्सक डा. गणेश बञ्जाराका अनुसार प्रारम्भिक ल्याब रिपोर्टले संक्रमण गम्भीर प्रकृतिको देखिएको छ ।
सामान्यतया यस्तो प्रकारको रोगले उत्पादनमा असर पार्ने भए पनि यसपटक मृत्युदर अत्यधिक देखिएको उनको भनाइ छ । ‘पछिल्लो ल्याब रिपोर्ट हेर्दा मृत्युदर अस्वाभाविक रूपमा बढी देखिएको छ,’ डा. बञ्जाराले भने, ‘यो सोही प्रकृतिको रोगको नयाँ भेरियन्ट हुन सक्ने आशंका गरिएको छ ।’ संक्रमित कुखुरामा अचानक बिरामी हुने, दाना नखाने, अण्डा उत्पादन घट्ने र छोटो समयमा धमाधम मर्ने लक्षण देखिएको थियो । त्यसपछि किसानहरूले सम्बन्धित निकायलाई जानकारी गराएका थिए ।
रोग फैलिन नदिन पशु प्राविधिक टोलीले निगरानी बढाएको थियो भने किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गरिएको थियो। संक्रमणले थप क्षेत्र प्रभावित गर्न सक्ने जोखिम रहेकाले आसपासका फार्महरूमा पनि सतर्कता बढाइएको छ । महामारीका कारण कुखुरा व्यवसायीहरू त्रसित बनेका छन्। एकातिर रोगको संक्रमण, अर्कोतिर बीमाको अभावले किसानको वर्षौँको मेहनत एकैपटक समाप्त हुने अवस्था सिर्जना भएको छ । यता, नस्ट गरिएको कुखुराको ठाउमा सुरक्षित नदेखिएको गन्ध बढ्दै गरेको स्थानीयहरूले गुनासोसमेत गरेका छन् ।
प्रतिक्रिया