ग्यास छोइनसक्नु, बिजुलीको टुंगो छैन, भान्सामा दाउराकै भर !

न्यून वर्गीय परिवार फेरि पुरानै दैनिकीतर्फ

कालीकोट । कालीकोटका ग्रामीण बस्तीहरूमा पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य निरन्तर बढ्दै गएपछि दाउराको प्रयोग फेरि बढ्न थालेको छ । बजारमा एलपी ग्यासको भाउ अकासिँदै जाँदा सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर परेको स्थानीय बताउँछन् । विशेषगरी न्यून आय भएका परिवार महँगो ग्यास खरिद गर्न नसक्दा जंगल र आसपासका क्षेत्रबाट दाउरा संकलन गरेर गुजारा चलाउन बाध्य छन् । सदरमुकाम मान्म, खाँडाचक्र तथा ग्रामीण बस्तीहरूमा बिहान–बेलुका महिलाहरू भारी बोकेर दाउरा ल्याइरहेको दृश्य अहिले सामान्यजस्तै बनेको छ ।

पहिले गाउँघरमा दाउरा छाडेर ग्यास प्रयोग गर्ने क्रम बढे पनि पछिल्लो महँगीले फेरि पुरानै अवस्थातर्फ फर्काएको स्थानीय बताउँछन् । ‘ग्यास किन्न निकै गाह्रो भयो, एउटा सिलिन्डर किन्दा घर खर्च नै धान्न मुस्किल पर्छ,’ स्थानीय महिलाहरू बताउँछन् । दाउराको माग बढेसँगै बजारमा समेत यसको किनबेच बढ्न थालेको छ । केही स्थानमा दाउरा किनबेचको व्यवसाय नै चल्न थालेको छ । तर, यसले वन क्षेत्रमा दबाब बढ्ने र अवैध कटानीको जोखिमसमेत बढाउने चिन्ता सरोकारवालाहरूको छ । वन कार्यालयले अनियन्त्रित रूपमा दाउरा संकलन नगर्न आग्रह गरे पनि दैनिकी चलाउने बाध्यताले ग्रामीण क्षेत्रमा यसको प्रयोग बढिरहेको छ । ऊर्जा संकट र महँगीको प्रत्यक्ष मार सर्वसाधारणमा पर्दा कालीकोटका नागरिक फेरि परम्परागत इन्धनमै निर्भर हुन थालेका छन् ।

केही वर्षअघिसम्म सदरमुकाम मान्म बजार र आसपासका बस्तीमा खाना पकाउन एलपी ग्यासको प्रयोग सामान्य बन्दै गएको थियो । पहिला करिब २१०० रुपैयाँमा पाइने १ सिलिन्डर ग्यास अहिले बढेर ३१०० रुपैयाँसम्म पुगेपछि सामान्य परिवारलाई दैनिक चुल्हो बाल्नै कठिन हुन थालेको स्थानीय बताउँछन् । महँगीले थिचिएका परिवारहरू अब सस्तो विकल्प खोज्दै जंगल धाउन थालेका छन् । सदरमुकाम नजिकैका जंगलबाट दाउरा काटेर ल्याउने, भारी बोकेर बजारमा बेच्ने र किन्ने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

मान्म बजार आसपासका जंगल क्षेत्रमा बिहानैदेखि दाउरा खोज्न जाने मानिसको भिड देखिन्छ । कोही घरायसी प्रयोजनका लागि दाउरा ल्याउँछन् भने कतिपयले बेचेर आम्दानीसमेत गर्ने गरेका छन् । अहिले बजारमा १ भारी दाउराको मूल्य ६५० देखि ९०० रुपैयाँसम्म पर्ने गरेको छ । दाउराको मूल्य भने यसको अवस्थाअनुसार फरक हुने गरेको व्यापारीहरू बताउँछन् । सुक्खा दाउरा छिटो बल्ने र धुवाँ कम हुने भएकाले महँगो पर्छ भने हरियो दाउरा तुलनात्मक रूपमा सस्तो पर्छ । ग्यासको भाउ बढेपछि होटल व्यवसायीहरू पनि समस्यामा परेका छन् । धेरै होटलले ग्यासको सट्टा दाउराको प्रयोग बढाएका छन् । कतिपय चिया पसल र साना होटलमा बिहानबेलुका दाउराकै आगोमा खाना पकाउन थालेको देखिन्छ । ‘ग्यास प्रयोग गर्दा खर्च धान्न गाह्रो भयो, दाउराले केही राहत दिएको छ,’ स्थानीय होटल व्यवसायी गोविन्द देवकोटा बताउँछन् ।

यता, वातावरणविद्हरू भने दाउराको अत्यधिक प्रयोग बढ्नु दीर्घकालीन रूपमा चिन्ताजनक भएको बताउँछन् । जंगलबाट अनियन्त्रित रूपमा दाउरा निकालिँदा वन विनाश बढ्ने, हरियाली घट्ने र वातावरणीय असर देखिन सक्ने सामाजिक अभियान्ता खडानन्द चौलागाईं बताउँछन् । ग्रामीण भेगमा अझै पनि वैकल्पिक ऊर्जाको पहुँच कमजोर हुँदा नागरिक बाध्य भएर दाउरामै निर्भर हुनुपरेको उनको भनाइ छ । कालीकोटमा विद्युतीय चुल्होको प्रयोग भने अझै प्रभावकारी रूपमा हुन सकेको छैन ।

जिल्लामा विद्युत् सेवा पुगे पनि भोल्टेज समस्या, अनियमित आपूर्ति र आर्थिक अवस्थाका कारण अधिकांश परिवारले विद्युतीय चुलो प्रयोग गर्न सकेका छैनन् । बजारमा विद्युतीय चुलो पाइए पनि प्रयोग गर्ने संख्या न्यून रहेको स्थानीय सुरेन्द्र ढुंगाना बताउँछन् । अन्य स्थानीय बासिन्दा भन्छन्, ‘बिजुली भरपर्दो छैन, ग्यास महँगो भयो, आखिर दाउरै हाम्रो विकल्प बन्यो ।’ महँगी, कमजोर पूर्वाधार र वैकल्पिक ऊर्जाको अभावबीच कालीकोटका नागरिक फेरि धुवाँ भरिएको पुरानै चुल्होतिर फर्किन बाध्य भएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया