
कालिकोट । ग्रामीण बस्तीहरूमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको मूल्य निरन्तर बढ्दै गएपछि दाउराको प्रयोग फेरि बढ्न थालेको छ । बजारमा एलपी ग्यासको भाउ आकासिँदै जाँदा सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर परेको स्थानीयहरू बताउँछन् ।
विशेषगरी न्यून आय भएका परिवारहरू महँगो ग्यास खरिद गर्न नसक्दा जंगल र आसपासका क्षेत्रबाट दाउरा संकलन गरेर गुजारा चलाउन बाध्य भएका छन् । सदरमुकाम मान्म, खाँडाचक्र तथा ग्रामीण बस्तीहरूमा बिहान–बेलुका महिलाहरू भारी बोकेर दाउरा ल्याइरहेको दृश्य अहिले सामान्यजस्तै बनेको छ ।
पहिले गाउँघरमा दाउरा छोडेर ग्यास प्रयोग गर्ने क्रम बढेको भए पनि पछिल्लो समय महँगीले फेरि पुरानै अवस्थातर्फ फर्काएको स्थानीयको गुनासो छ । साैर्य दैनिकसँग कुरा गर्दै स्थानीय एक मिहलाले भनिन्, ‘ग्यास किन्न निकै गाह्रो भयो, एउटा सिलिन्डर किन्दा घर खर्च नै धान्न मुस्किल पर्छ ।’
दाउराको माग बढेसँगै बजारमा समेत यसको किनबेच बढ्न थालेको छ । केही स्थानमा दाउरा खाेज्नेहरू धेरै भएकाे व्यापारीहरू बताउँछन् । तर यसले वन क्षेत्रमा दबाब बढ्ने र अवैध कटानीको जोखिम समेत बढाएको सरोकारवालाहरूको चिन्ता छ ।
वन कार्यालयले अनियन्त्रित रूपमा दाउरा संकलन नगर्न आग्रह गरे पनि जनजीवनको बाध्यताले ग्रामीण क्षेत्रमा यसको प्रयोग बढिरहेको देखिन्छ । ऊर्जा संकट र महँगीको प्रत्यक्ष मार सर्वसाधारणमा पर्दा कालिकोटका नागरिक फेरि परम्परागत इन्धनमै निर्भर हुन थालेका छन् । केही वर्षअघिसम्म सदरमुकाम मान्म बजार र आसपासका बस्तीमा खाना पकाउन एलपी ग्यासको प्रयोग सामान्य बन्दै गएको थियो ।
पहिला करिब २,१०० रुपैयाँमा पाइने एक सिलिन्डर ग्यास अहिले बढेर ३,१०० रुपैयाँसम्म पुगेकाे छ । धेरैजसाे स्थानीय खाना पकाउन सस्तो विकल्प खोज्दै जंगल धाउन थालेका छन् । सदरमुकाम नजिकैका जंगलबाट दाउरा काटेर ल्याउने, भारी बोकेर बजारमा बेच्ने र किन्ने क्रम दिनप्रतिदिन बढिरहेको छ ।
मान्म बजार आसपासका जंगल क्षेत्रमा बिहानैदेखि दाउरा खोज्न जाने मानिसहरूको भीड देखिन्छ । कोही घरायसी प्रयोजनका लागि दाउरा ल्याउँछन् भने कतिपयले बेचेर आम्दानीसमेत गर्ने गरेका छन् । अहिले बजारमा एक भारी दाउराको मूल्य ६५० रुपैयाँदेखि ९०० रुपैयाँसम्म पर्ने गरेको छ । दाउराको मूल्य भने यसको अवस्थाअनुसार फरक हुने गरेको व्यापारीहरू बताउँछन् । सुक्खा दाउरा छिटो बल्ने र धुवाँ कम हुने भएकाले महँगो पर्छ भने काँचाे दाउरा तुलनात्मक रूपमा सस्तो हुने गरेको छ ।
ग्यासको भाउ बढेपछि होटल व्यवसायीहरू पनि समस्यामा परेका छन् । धेरै होटलहरूले ग्यासको सट्टा दाउराको प्रयोग बढाएका छन् । कतिपय चिया पसल र साना होटलमा बिहान-बेलुका दाउराकै आगोमा खाना पकाउन थालिएको देखिन्छ । ग्यास प्रयोग गर्दा खर्च धान्न गाह्रो भएकाेले दाउराले केही राहत दिएको स्थानीय होटल व्यवसायी गोविन्द देवकोटा बताउँछन् ।
यता वातावरणविद्हरूले भने दाउराको अत्यधिक प्रयोग बढ्नु दीर्घकालीन रूपमा चिन्ताजनक भएको बताएका छन् । जंगलबाट अनियन्त्रित रूपमा दाउरा निकालिँदा वन विनाश बढ्ने, हरियाली घट्ने र वातावरणीय असर देखिन सक्ने सामाजिक अभियन्ता खडानन्द चौलागाईं बताउँछन् । ग्रामीण भेगमा अझै पनि वैकल्पिक ऊर्जाको पहुँच कमजोर हुँदा नागरिक बाध्य भएर दाउरामै निर्भर हुनुपरेको उनको भनाइ छ ।
कालिकोटमा विद्युतीय चुलोको प्रयोग भने अझै प्रभावकारी रूपमा हुन सकेको छैन । जिल्लामा विद्युत सेवा पुगे पनि भोल्टेज समस्या, अनियमित आपूर्ति र आर्थिक अवस्थाका कारण अधिकांश परिवारले विद्युतीय चुलो प्रयोग गर्न सकेका छैनन् । बजारमा विद्युतीय चुलो पाइए पनि प्रयोग गर्ने संख्या न्यून रहेको स्थानीय सुरेन्द्र ढुङ्गानाले बताए । बिजुली भरपर्दो नभएकाे, ग्यास महँगो भएकाे कारण दाउरै विकल्प बनेकाे स्थानीय बताउछन् । महँगी, कमजोर पूर्वाधार र वैकल्पिक ऊर्जाको अभावबीच कालिकोटका नागरिक फेरि धुवाँ भरिएको पुरानै चुलोतिर फर्किन बाध्य भएका छन् ।

कालिकाेट
प्रतिक्रिया