
म्याग्दीको धवलागिरि गाउँपालिका– ४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो ।
नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुगेका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट पनि भएका थिए । ‘हामी किशोर हुँदा भारतीय गोर्खा सैनिकमा भर्ती गराउन गाउँगाउँमा युवा खोज्दै आउँथे, म पनि गलेश्वरमा देखिँदा छनोट भएर पनि पल्टन नगएपछि सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमै आएका थिए’, उनले भने, ‘हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जंगल पसेँ ।’
पण्डित र ज्योतिष पेसा गर्ने हजुरबुबा वसन्तले पूर्णबहादुरलाई भैँसीको जिम्मा लगाउँदा व्यवसाय फस्टाउने सुझाएपछि परिवारले सोही निर्णय गरेको उनले स्मरण गरे । भारतीय गोर्खा सैनिकमा भर्ती हुन नपाएकामा पूर्णबहादुरलाई पछुतो भने छैन ।
‘हजुरबुबाले अनुमान गरेको जस्तै एउटा पाडोबाट सुरु गरेको घुम्तीगोठमा भैँसीको संख्या ३६ वटासम्म पुग्यो’, पूर्णबहादुरले भने, ‘भैँसी, राँगा, पाडापाडी र घ्यु बेचेरै घरव्यवहार चलाएँ, खेतबारी जोडेँ, चार छोराछोरीलाई पढाएँ, ठाउँमा पुर्याएँ ।’
विसं २०२५ देखि घुम्तीगोठमा भैँसीपालन सुरु गरेका पूर्णप्रसाद गत पुसदेखि स्वास्थ्य र बुढ्यौलीका कारण भैँसी बेचेर मालिका गाउँपालिका– ७ बिम खारामा रहेको जेठी छोरी माया शर्माको घरमा बस्न थालेका छन् ।
सुरुमा १३ वटा भैँसीलाई १ हजार ५०० रुपैयाँमा बिक्री गरेका पूर्णप्रसादसँग घुम्तीगोठ लिएर भैँसीसँगै बर्खामा हिमाल फेदीका बुकी र हिउँदमा बेँसी गर्दाका रमाइला र दुःखका अनुभूतिहरू छन् । पछिल्लोपटक एउटा भैँसीलाई ८५ हजार रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए ।
जंगलमा जान नसक्ने र वन्यजन्तुले आक्रमण गर्ने साना पाडापाडीको स्याहारसुसार गर्नेदेखि दूध दुहुने, मोही पारेर घ्यु बनाउने काममा बिहानदेखि साँझसम्म व्यस्त हुनुपर्दा तीन वर्षमा घरपरिवारसँग भेट भएको पूर्णबहादुरले सम्झिए । हिउँपरेको अवस्थामा भैँसी र पाडापाडीको स्याहारसुधार तथा आहारा व्यवस्थापनका लागि दुःख भएको उनको भनाइ छ ।
वार्षिक दुई सय लिटरसम्म घ्यु बिक्री गरेका उनी असोज–कात्तिकमा पोषिलो घाँस प्रशस्त पाइने र बुकीमा मौसम सफा हुँदा मनमोहक दृश्यले फुरुङ पर्ने गर्थे । एकपटक जिरवाङ, सिमकोश, धुरीखर्क, हिले, बगरहुँदै धवलागिरि हिमालको फेदीमा रहेको बुकीसम्म गोठ लगेर पुगेका पूर्णबहादुरको गोठमा एकैपटक ब्वाँसोले आक्रमण गरेर ११ वटा भैँसी मारिदिएको अझै बिर्सिएका छैनन् ।
गोठको सुरक्षाका लागि कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गरेका थिए । गाउँअनुसार चरन क्षेत्र बाँड्ने भएकाले लेकमा अन्य गोठालाहरूसँग कमै भेटघाट हुन्थ्यो । घुम्तीगोठका लागि आवश्यक खाद्यान्न समयसमयमा परिवारका सदस्यहरूले जंगलमै पुर्याइदिन्थे । रेडियो र मोबाइल साथी हुन् । पूर्णबहादुरले पछिल्लो समय बुकी र चरन क्षेत्रमा अनावश्यक काँडाधारी वन तथा झारपात फैलिन थालेको अनुभव सुनाए ।
पछिल्लो समय बसाइँसराइका कारण खेतबारी बाँझिएकाले गाउँवरपर पनि व्यवस्थित रूपमा भैँसीपालन गर्न सकिने सम्भावना रहेको पूर्णबहादुरको सुझाव छ । विदेशमा गर्ने दुःख आफ्नै गाउँठाउँमा गर्नसकेमा स्वरोजगारका साथै आत्मनिर्भर भइने उनको सुझाव छ । (रासस)
प्रतिक्रिया