सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे । तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा ज्यान गुमाएका सरला अधिकारी र कुमार चौलागाईँको सम्झनामा स्थापित सरला–कुमार अक्षय कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

कोषका अध्यक्ष यन प्रसाद अधिकारी (राजु) ले काभ्रेको छेडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८३ का लागि ईसीडीदेखि कक्षा ६ सम्मका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन् । उक्त सामग्री विद्यालयका प्रधानाध्यापक रामचन्द्र चौलागाईँ तथा शिक्षक–शिक्षिकामार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ गौतम (ठाकुर) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य तथा नेकपा केन्द्रीय सदस्य घनश्याम गौतमलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उक्त अक्षय कोष सरला अधिकारी र कुमार चौलागाईँको स्मृतिमा स्थापना गरिएको हो । दुवै जना सोही विद्यालयका विद्यार्थी रहेका थिए। विसं २०५४ सालमा तत्कालीन द्वन्द्वका क्रममा उनीहरूले ज्यान गुमाएका थिए ।

उनीहरूको सम्झनामा परिवारका सदस्यहरू यन प्रसाद अधिकारी, ढोग प्रसाद अधिकारी र नवराज चौलागाईँको पहल तथा विद्यालयको सहयोगमा विद्यालय परिसरमै उनीहरूको सालिक समेत निर्माण गरिएको छ । कोषले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया