
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सबै विद्यालयहरूमा आगामी वैशाख १५ गतेदेखि नै नियमित पठनपाठन सुरु हुने भएको छ ।
काठमाडौं उपत्यका मेयर्स फोरमको बुधबार बसेको बैठकले नेपाल सरकारको निर्णयले शैक्षिक अन्यौलता सिर्जना गरेको ठहर गर्दै नयाँ शैक्षिक कार्यतालिका कार्यान्वयन गर्न आह्वान गरेको हो । मेयर्स फोरमले उपत्यकाका सबै पालिकालाई निम्न अनुसारको तालिका कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
विद्यार्थी भर्ना अभियान– २०८३ वैशाख ११ गतेदेखि ।
नियमित पठनपाठन– २०८३ वैशाख १५ गतेदेखि ।
नेपाल सरकार (मन्त्रिपरिषद्) ले यसअघि वैशाख १५ देखि भर्ना र वैशाख २१ देखि मात्र पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । तर, मेयर्स फोरमले उक्त निर्णय शिक्षा नियमावली र स्थानीय तहको संवैधानिक अधिकार विपरीत रहेको दाबी गरेको छ ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधान २०७२ को अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई मुख्य आधार बनाइएको छ । ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्र पर्ने भएकाले विद्यालय सञ्चालन र नियमनको जिम्मेवारी स्थानीय सरकारकै हो,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश र विभिन्न शिक्षक महासंघ तथा अभिभावक संघहरूको सुझावलाई समेत मध्यनजर गर्दै सिकाइ उपलब्धिमा हुने क्षति न्यूनीकरण गर्न यो निर्णय लिइएको फोरमले जनाएको छ ।
मुलुकमा देखिएको वर्तमान इन्धन संकटप्रति चासो व्यक्त गर्दै मेयर्स फोरमले विद्यालयहरूलाई वैकल्पिक मार्ग अपनाउन समेत आग्रह गरेको छ ।
विद्युतीय सवारी– इन्धन संकट बढ्दै गएमा विद्यालयका सवारी साधनमा विद्युतीय सवारीलाई प्राथमिकता दिने ।
अनलाइन कक्षा– पठनपाठन अवरुद्ध हुन नदिन अनलाइन कक्षा लगायतका वैकल्पिक उपायहरू तयारी अवस्थामा राख्ने ।
उपत्यकाका पालिकाहरूले आफ्नै शैक्षिक क्यालेण्डर निर्माण गरिसकेको अवस्थामा केन्द्र सरकारको पछिल्लो सूचनाले विद्यालय सञ्चालनमा अन्यौलता थपेको मेयर्स फोरमको ठहर छ ।

प्रतिक्रिया