प्रक्रिया नै पूरा नगरी विद्यालय सञ्चालन अनुमति दिएको भन्दै प्यावसन–एनप्यावसनको आपत्ति

महोत्तरी । महोत्तरीको बर्दिवासमा नगरपालिकाले सञ्चालन स्वीकृति दिएको प्रोग्रेसिभ एकेडेमीको वैधानिकतामाथि प्रश्न उठेको छ । फर्जी कागजातका आधारमा नगरपालिकाले स्वीकृति दिएको भन्दै उक्त निर्णय शिक्षा नियमावली विपरीत रहेको आरोप लगाउँदै प्यावसन तथा एनप्यावसनले आपत्ति जनाएका छन् ।

बुधबार जारी विज्ञप्तिमा विद्यालयको नाम र कागजातसमेत किर्ते भएको दाबी गरिएको छ । शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९ तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार तहगत स्वीकृति दिने प्रावधान नरहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, शिक्षा नियमावली, २०५९ को चौथो संशोधन (२०६६) अनुसार एक पटकमा एक कक्षा मात्र सञ्चालन अनुमति दिन सकिने व्यवस्था भए पनि एकैपटक विभिन्न कक्षाको अनुमति दिइएको देखिएकाले कागजातहरू शंकास्पद रहेको एनप्यावसनका प्रतिनिधिहरुले बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले २०७२ मंसिर १७ गते दिएको पत्रमा ‘धनुषा शिक्षा सदन’ नामक विद्यालय आफ्नो अभिलेखमा दर्ता नभएको उल्लेख गरिएको छ । तर बर्दिवास नगरपालिकाले सोही विद्यालयलाई स्थानान्तरण अनुमति दिँदै नाम परिवर्तन गरी ‘प्रोग्रेसिभ एकेडेमी’ बनाएको निर्णय गरेको प्यावसनका केन्द्रीय सदस्य दिपक रायमाझीले जानकारी दिए ।

सामान्यतया कुनै पनि संस्थागत विद्यालयले सञ्चालन अनुमति पाएपछि धरौटी रकम राख्नुपर्ने, चरणबद्ध रूपमा कक्षा थप्दै जानुपर्ने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर ती आधारभूत प्रक्रिया नै पूरा नभएको कागजातबाट देखिएको प्यावसन बर्दिवासले जनाएको छ ।

यता विद्यालयका सञ्चालक निर्मल घिमिरेले भने आरोप अस्वीकार गरेका छन् । उनले सबै कानुनी प्रक्रिया पूरा गरेर नै सञ्चालन अनुमति लिएको दाबी गर्दै मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्दा आपत्ति जनाउनु उपयुक्त नभएको बताए । शिक्षा शाखा प्रमुख रेवती प्रसाद पराजुलीले पनि प्राप्त कागजात प्रमाणीकरण गरी नियमअनुसार नै अनुमति प्रदान गरिएको बताएका छन् ।

प्रतिक्रिया