आज सुरु हुँदै एसइई, १ महिनाभित्रै रिजल्ट

जापानमा १ सहित १९६६ परीक्षा केन्द्रमा सहभागी हुँदै छन् ५ लाख १२ हजार परीक्षार्थी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीबार देशभर सुरु हुँदै छ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई सुरु हुनेछ । २९ गतेसम्म सञ्चालन हुने एसइईमा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिनेछन् । यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी हुँदै छन् । जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट १४ छात्रा र ९ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिँदै छन् । उक्त स्कुलका प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ भने परीक्षा सुरु हुनुअघि इमेलमार्फत् प्रश्नपत्र पठाइनेछ ।

यस वर्ष कोसीबाट ८२ हजार ४८७, मधेसबाट ९० हजार २४३, बाग्मतीबाट १ लाख ९ हजार ५१३, गण्डकीबाट ४३ हजार ९७२, लुम्बिनीबाट ९१ हजार ८०२, कर्णालीबाट ३९ हजार ७६९ र सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । बोर्डले परीक्षाका लागि नेपालमा १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकेको छ भने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए ।

प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, १ केन्द्राध्यक्ष, १ सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर १ निरीक्षक, १०० परीक्षार्थी बराबर १ कार्यालय सहयोगी र अन्य २ कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ । सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थपघट गर्न सक्नेछ ।

देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए ।

बोर्डले यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्न पाउनेछन् । परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको छ । पत्रकारले पनि परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्बिर लिन पाउनेछन् । परीक्षा हलभित्र दृश्य छायांकन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले आग्रह गरेको छ ।

०००

परीक्षा सकिएको १ महिनाभित्रै नतिजा

केही दिनअघि शिक्षा मन्त्रायले एसइईको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो । सोहीअुनसार बोर्डले पनि १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको थियो । ७७ वटै जिल्लाका शिक्षा एकाइबाट पनि १ महिनामै नतिजा निकाल्न सकिने सुझाव मन्त्रालयमा पुगेको थियो र त्यसैका आधारमा सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई तनाव हुन नदिन छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताएका थिए ।

१ महिनामै नतिजा निकाल्न यस पटक एसइईको उत्तरपुस्तिका परीक्षणको शैली नै फेरिने भएको छ । यसका लागि जहाँ परीक्षा केन्द्र छ, त्यहीँ नै वा जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले वैकल्पिक व्यवस्था गरेर उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाउने परीक्षा बोर्डले जनाएको छ ।

यसका लागि कार्यविधिसमेत तयार भइसकेको छ । परीक्षा केन्द्रमा सम्बन्धित विषय शिक्षक नपाइने वा सुरक्षा चुनौती देखिएबाहेक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुनेछ । त्यस्तो अवस्था आएमा जिल्लास्थित एकाइले वैकल्पिक व्यवस्था गरेर अर्को सुरक्षित ठाउँमा लगेर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको उनले बताए । यसअघि उत्तरपुस्तिका परीक्षणका लागि लागि विभिन्न जिल्लालाई पायक पर्ने गरी जिल्लाअनुसार परीक्षण केन्द्र निर्धारण गरिन्थ्यो ।

प्रतिक्रिया