
मुगु । मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खड्ग बहादुर शाहीले विजय भएपछि आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँगको भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको फागुन २४ गते निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनी निरन्तर गाउँ–गाउँ पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
खत्याड गाउँपालिका र सोरु गाउँपालिका हुँदै हाल उनी छायाँनाथ रारा नगरपालिका भित्रका विभिन्न वडाहरूमा मतदाता भेटघाटमा व्यस्त रहेका छन् । बुधबार छायाँनाथ रारा–६ बालैमा आयोजित कार्यक्रममा उनले स्थानीय नागरिकका समस्या, आवश्यकता र सुझावहरू संकलन गर्दै आगामी कार्ययोजना निर्माणमा जुटेको बताएका छन् ।
कार्यक्रममा बोल्दै शाहीले जनताले दिएको विश्वासलाई उच्च सम्मान गर्दै आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुगुको समग्र विकासका लागि सडक विस्तार, स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय शिक्षा र सुरक्षित खानेपानीको पहुँचलाई प्राथमिकतामा राखिने बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस गाउँ कार्यसमिति वडा–६ का सभापति धन बहादुर भामले नवनिर्वाचित सांसदसँग समन्वय गर्दै विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । उनले दुर्गम बस्तीहरूमा आधारभूत सेवा विस्तार, सडक सञ्जाल सुधार र युवाहरूका लागि रोजगारी सिर्जना गर्न विशेष ध्यान दिन आग्रह गरे ।
स्थानीय बासिन्दाहरूले पनि नवनिर्वाचित प्रतिनिधिसँग प्रत्यक्ष भेट गर्दै विकास निर्माणका कामलाई छिटो र प्रभावकारी ढंगले अघि बढाउन माग गरेका छन् । विशेषगरी दुर्गम क्षेत्रका नागरिकहरूले सेवा सुविधा विस्तार, शिक्षा र स्वास्थ्यमा सुधार तथा पूर्वाधार विकासमा जोड दिएका छन् ।
शाहीले स्थानीय तहसँग सहकार्य गर्दै विकासका योजनाहरू कार्यान्वयन गर्ने र मुगुका समस्याहरू केन्द्र सरकारसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाहीले ७,९१४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर रोकाया ले ६,७१८ मत प्राप्त गरेका थिए । यसरी शाहीले करिब १,१९६ मतान्तरले जीत हात पारेका हुन् ।



मुगु
प्रतिक्रिया