बासना बनिन् पुराना दलबाट प्रत्यक्ष चुनाव जित्ने एक्ली महिला

दैलेखमा १२ वर्षपछि ‘रूख’को पुनरागमन

सुर्खेत । नेपालको राजनीतिक संरचना अझै पनि पुरुषप्रधान मानिन्छ । यस्तो परिवेशमा महिलाले नेतृत्व तहमा स्थान बनाउनु सजिलो छैन । तर, दैलेखबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बासना थापाले यही कठिन संरचनाभित्रबाट आफ्नो पहिचान स्थापित गर्दै संघीय संसद्सम्मको यात्रा तय गरेकी छिन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावमा दैलेख–१ बाट निर्वाचित भएपछि मुलुकको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट संसद्मा पुगेकी एक्ली महिला सांसद बन्न पुगेकी छिन् । कांग्रेसबाट मात्र होइन, रास्वपाबाहेक दलबाट प्रत्यक्ष चुनाव जित्ने पनि एक्ली उम्मेदवार बनेकी छिन् बासना ।

कुनै बेला कांग्रेसको गढ मानिने दैलेख–१ मा २०७० सालयता कांग्रेसीहरूले प्रतिनिधिसभा चुनावमा रूख चिह्नमा मतदान गर्न पाएका थिएनन् । गठबन्धन राजनीतिका कारण कम्युनिस्ट पार्टीका चुनाव चिह्नमा मतदान गरेका कांग्रेस कार्यकर्ता र शुभेच्छुक मतदाताले बासनालाई निर्वाचित बनाएर सिंहदरबार प्रवेश गराएका छन् । बासनाले टिकट लिएर उम्मेदवारी दर्ता गरेपछि सबैले कमजोर आकलन गरेका थिए । बासनाले त्यस्तो बेला चुनावमा होमिने अवसर पाइन्, जतिबेला कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भनेर कांग्रेस नै विभाजित थियो । कांग्रेसभित्रको किचलो, एक त १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा भोट माग्न नपाएका दैलेखी कांग्रेसीहरू, त्यसमा प्रदेशभरि पुरुष उम्मेदवार हुँदा सबैभन्दा कमजोर उम्मेदवार आकिएकी बासनाले विजयको झन्डा फहराएर दैलेखमा मात्र होइन, समग्र कर्णाली प्रदेशमा महिला नेतृत्वको सम्भावनालाई नयाँ ऊर्जा थपिन् ।

रास्वपाको पक्षमा देशभर जनलहर चलेका बेला थापा पुराना दलबाट एक मात्र प्रत्यक्षतर्फ महिला सांसद चुनिएकी छिन् । २०४८, २०५१ र २०६४ सम्मका सबै निर्वाचमा यस क्षेत्रबाट कांग्रेसले जितेको थियो । २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार गणेश खड्का पराजित भएपछि पार्टी कमजोर देखियो । त्यसयता पहिलो पटक कांग्रेसले यहाँ आफ्नै उम्मेदवार उठायो । त्यो जिम्मेवारी युवा नेतृ बासनाले पाइन् । करिब १२ वर्षपछि बासनाले कांग्रेसको रूख फिर्ता ल्याएकी हुन् ।

फागुन २१ गते सम्पन्न चुनावपछिको मतगणनामा निरन्तर अग्रता लिँँदै आएकी थापाले मुख्य प्रतिस्पर्धी एमालेका रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पछि पार्दै आफ्नो विजयी यात्रा तय गरिन् । थापाले १२ हजार ३७२ मत प्राप्त गरेर विजयी हुँदा एमालेका शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत प्राप्त गर्दा २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मतका साथ लज्जास्पद हार बेहोर्नुपर्यो ।

काठमाडौँमा जन्मिएकी थापाले २०५९ सालमा विवाहपछि दैलेखलाई राजनीतिक र सामाजिक कर्मथलो बनाएकी हुन् । कर्णालीका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट बुझेकी थापाको अनुभवले उनलाई समाजसेवा र राजनीतिमा सक्रिय बनाएको छ । स्नातकोत्तर तहसम्म अध्ययन गरेकी थापाले शिक्षित पृष्ठभूमि, सामाजिक चेतना र नेतृत्व क्षमताका कारण राजनीतिमा आफ्नो अलग पहिचान बनाएकी छिन् ।

बासना थापाको सार्वजनिक जीवनको सुरुआत समाज सेवाबाट भएको हो । युवावस्थादेखि नै उनी विभिन्न सामाजिक अभियानमा सक्रिय रहिन् । विशेष गरी महिला अधिकार, शिक्षा, स्वास्थ्य र सामाजिक चेतनामूलक अभियानमा उनले सक्रिय भूमिका निर्वाह गरिन् । कोभिड–१९ महामारीका कठिन दिनहरूमा पनि उनी दैलेखका नागरिकसँगै उभिइन् । स्वास्थ्य सामग्री सहयोग, राहत वितरण र जनचेतनामूलक अभियानमार्फत् उनले स्थानीय समुदायलाई सहयोग पुर्याइन् । महिला अधिकार र सशक्तीकरणको आवाज उठाउने अभियन्ताका रूपमा पनि बासनाको पहिचान बनेको छ ।

२०५६ सालदेखि नेविसंघको सदस्य बनेर राजनीतिमा होमिएकी थापा २०६१ सालमा दैलेखबाट कांग्रेसको क्रियाशील सदस्य बनेकी थिइन् । १३औँ महाधिवेशनमा प्रतिनिधि रहेकी थापा महासमिति सस्यसमेत बनिन् । कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित भएकी उनी तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनको पक्षमा खुलेकी थिइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दैलेखको नारायण नगरपालिका उपप्रमुखमा उम्मेदवार बनेकी थापाले ४ हजार ८६६ मत प्राप्त गरिन्, तर एमालेकी सावित्री मल्लले उनलाई रोकिन् । ग्रामीण समाजमा महिलाको अवसर अझै सीमित रहेको अवस्थामा महिलाको नेतृत्व क्षमता विकास, आत्मनिर्भरता र राजनीतिक सहभागिता जरुरी भएको भन्ने थापाको यात्रा अहिले कर्णालीको आशा बोकेर संघीय संसद्सम्म पुगेको छ । संसद्मा पुगेपछि उनले कर्णाली प्रदेशका विकासका मुद्दा उठाउने प्रतिबद्धता जनाएकी छिन् । सडक पूर्वाधार, स्वास्थ्य सेवा, शिक्षा, पर्यटन विकास र महिला सशक्तीकरणका विषयलाई उनले आफ्नो प्राथमिक एजेन्डा बनाउने बताइन् । थापाको सामाजिक सक्रियता, जनतासँगको सम्बन्ध र नेतृत्व क्षमताका आधारमा धेरैले उनलाई कर्णालीको आवाजका रूपमा हेरेका छन् । संघीय संसद्मा बसेर उनले ती अपेक्षालाई नीति र कार्यक्रममार्फत् कति प्रभावकारी रूपमा सम्बोधन गर्छिन् भन्ने कुरा भविष्यले निर्धारण गर्नेछ ।

प्रतिक्रिया