मुगुमा ४ बजेसम्म ५८.७० प्रतिशत मतदान

मुगु । मुगु जिल्लामा जारी निर्वाचनअन्तर्गत दिउँसो ४ बजेसम्म ५८.७० प्रतिशत मतदान भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार हालसम्म महिला ११ हजार १२१ र पुरुष १० हजार ३० गरी कुल २१ हजार १५१ मत खसेको छ । बिहानैदेखि सुरु भएको मतदान निर्धारित समयअनुसार सञ्चालन भइरहेको र मतदाताको उत्साहजनक सहभागिता देखिएको कार्यालयले जनाएको छ ।

जिल्लाभर रहेका सबै मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताको व्यवस्थापन, लाइन व्यवस्थापन तथा आवश्यक समन्वय प्रभावकारी रूपमा गरिएको जनाइएको छ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रत्येक मतदान स्थलको वरपर नियमित गस्तीको व्यवस्था मिलाइएको छ भने संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ ।

सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको र हालसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । अधिकारीहरूले मतदातालाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया