निर्वाचन सामग्री गाउँ पुग्यो, उम्मेदवार र मतदाता छेकिए !

कर्णाली प्रदेशका उत्तरी गाउँहरूमा हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री पुर्याइए पनि बाक्लो हिमपातले सडक अवरुद्ध हुँदा न उम्मेदवार घरदैलोमा पुग्न सकेका छन्, न बाहिर भएका मतदाता नै गाउँ फर्किन पाएका छन्

सुर्खेत । प्रतिनिधिसभा चुनाव आउन ९ दिन मात्र बाँकी रहँदा देशभर चुनावी चहलपहल बढ्दो छ । सहरका गल्लीहरूमा झन्डा फहरिएका छन् । उम्मेदवारका भाषण गुन्जिरहेका छन् । सामाजिक सञ्जाल चुनावी बहसले तातेको छ । तर, यही समय कर्णालीका मुगु, हुम्ला र डोल्पाका बस्तीमा भने चिसो हावा र बाक्लो हिमपातले उम्मेदवार र मतदाताको बाटो छेकेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको उत्तरी भेग— हल्जी, जाङ र तिल गाउँ अहिले सेताम्य हिउँले ढाकिएको छ । ५ हजार मिटर उचाइको न्यालु लेक र ४ हजार ६०० मिटरको नारा लेक पार नगरी गाउँ पुग्न सकिँदैन । तर, यी लेकहरू अहिले मानौँ समयकै ढोकाजस्तै बन्द छन् ।

सरकारले देशव्यापी निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको छ । निर्वाचन सामग्री र मतपत्र ढुवानीदेखि कर्मचारी खटनपटनको काम अधिकांश जिल्लामा सम्पन्न भए पनि मौसम प्रतिकूलताले कर्णालीका कतिपय बस्तीमा चुनाव हुने÷नहुनेमा अन्योल कायमै छ । सरकारले हेलिकोप्टरमार्फत् हुम्ला, डोल्पा र मुगुका उत्तरी क्षेत्रमा निर्वाचन सामग्री पुर्याए पनि उम्मेदवार र मतदाता भने गाउँ पुग्न सकेका छैनन् । हुम्लाको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पालजोर लामाले न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेकाले अहिलेकै अवस्थामा मतदाता गाउँ पुग्न सक्ने अवस्था नरहेको बताए ।

‘हिमालपारिका गाउँका नामले परिचित हल्जी, जाङ र तिल गाउँमा चुनावको प्रचारका लागि उम्मेदवारसमेत पुग्न सकेका छैनन्,’ वडाध्यक्ष लामाले भने, ‘निर्वाचन सामग्री आइपुगे पनि मतदाता आउन सक्ने अवस्था छैन ।’ उनका अनुसार मतदाता गाउँमा छैनन् कतिपय काठमाडौँ र कतिपय मतदाता चीनको ताक्लाकोटमा छन् ।

६७२ मतदाता रहेको नाम्खाको ६ नम्बर वडामा जम्मा २० प्रतिशत मतदातामात्र गाउँमा रहेको उनले बताए । फागुन २१ गतेको विकल्प खोज्न स्थानीय सरकारले गरेको आग्रह निर्वाचन आयोगले सुनुवाइ नगरेको वडाध्यक्ष लामाको दुखेसो छ । ‘मतपत्र र कर्मचारीमात्र हेलिकोप्टरमा पठाएर कसरी चुनाव होला ?’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार टासी ल्हान्जोम अहिले हुम्लामै छिन् । हिमपातले बाटो छेकपछि उनी आफ्नै गाउँ लिमी पुग्न सकेकी छैनन् । डोल्पा र मुगुमा पनि अवस्था उस्तै छ । डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा ११ मध्ये ८ मतदानस्थलमा मतदाता पुग्नै नसक्ने अवस्था रहेको डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए ।

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा ४ वडाका अधिकांश मतदाता गाउँमा छैनन् । गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाका अनुसार यहाँका १ देखि ४ नम्बर वडामा मतदाता घर फर्किन सक्ने अवस्था छैन ।

‘निर्वाचनको तयारी भइरहेको छ,’ उनले भने, ‘मतदाता गाउँ फर्किन सक्ने अवस्था छैन ।’ सरकारले निर्वाचन सामग्री हेलिकोप्टरमा पठाए पनि मतदाता आउने बाटो बन्द रहेको उनले बताए । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सिमकोट–हिल्सा सडकखण्डमा पर्ने यारीबाट स्थलमार्ग खोल्ने विषयमा प्राविधिक अध्ययन भइरहेको बताए । मौसमी प्रतिकूलताले समस्या भए स्थलमार्ग खोल्ने विषयमा छलफल भइरहेको र हुम्लाका ८ मतदानस्थलमा हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री, मतदान सुरक्षामा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मतदानस्थल पुर्याउने तयारी भइरहेको उनले बताए ।

डोल्पामा पनि निर्वाचन सामग्री पुगिसकेको छ । मतदानका लागि कर्मचारी र मतपत्र हेलिकोप्टरबाट पठाउने तयारी भए पनि मतदाता फर्किने विषयमा भने अन्योल छ । हुम्ला, डोल्पा र मुगुका ४० मतदानस्थलमा मौसम प्रतिकूल भए मतदानमै चुनौती देखिएको छ ।

कर्णाली प्रदेशमा १० लाख ३७ हजार २५० जना मतदाता छन् । प्रदेशभर ९४१ मतदानस्थलमा १ हजार ४३७ मतदान केन्द्र तोकिएको छ । तीमध्ये ३५८ मतदान केन्द्र अतिसंवेदनशील, ४२२ संवेदनशील र १६१ मतदान केन्द्र सामान्यको सूचीमा छन् ।

प्रतिक्रिया