‘चुनावमा सबै नेता उस्तै देखिन्छन् । आश्वासन दिन्छन् । जितेपछि फर्केर आउँदैनन्,’ भन्ने गुनासो गाउँ–गाउँमा सुनिन्छ । यो धारणा लोकतन्त्रका लागि चुनौतीपूर्ण संकेत हो ।

२१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भएसँगै देशभर चुनावी माहोल तातेको छ । हिमाली जिल्ला मुगुमा पनि चुनावी सरगर्मी उल्लेख्य रूपमा बढेको छ । यति बेला उम्मेदवार गाउँगाउँमा घरदैलो अभियानमा ब्यस्त छन् । उम्मेदवारले विकासका सपना बाँडेर आफ्नो पक्षमा मत मागिरहेका छन् । हरेक चुनावमा देखिने परिदृश्य हो यो । तर मुगुका समस्या अनेक छन् । वर्षौंदेखि उस्तै देखिने धुलाम्मे बाटो, अधुरा पुल, औषधि अभाव झेलिरहेको जिल्ला अस्पताल, स्वास्थ्यचौकी र शिक्षक अभावमा गुज्रिरहेका विद्यालयहरू यतिबेला चुनावी एजेन्डाका केन्द्र बनेका छन् ।
गाउँका चौतारा, मेलापात र चिया पसलमा विकासका बहस चर्किएका छन् । उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । र, फेरि एकपटक सुरु भएको छ – वाचाको वर्षा । कर्णाली प्रदेशको उत्तरी भेगमा अवस्थित मुगु भौगोलिक रूपमा अत्यन्त विकट जिल्ला हो । यहाँका धेरै बस्ती समुद्री सतहबाट ३ हजार मिटरभन्दा माथि छन् । वर्षको लामो समय चिसो, हिमपात र प्राकृतिक कठिनाइले जनजीवन प्रभावित बनाउँछ । सडक सञ्जाल सीमित छ । कतिपय गाउँबाट सदरमुकाम गमगढी पुग्न अझै २–३ दिन पैदल यात्रा गर्नुपर्ने अवस्था छ । वर्षात्मा बाटो हिलाम्मे हुन्छ, हिउँदमा धुलाम्मे र हिमपातका बेला सडक अवरूद्ध हुन्छ । यस्तो अवस्थामा सामान्य सेवा प्राप्त गर्न पनि संघर्ष गर्नुपर्ने बाध्यता यहाँका नागरिकको दैनिकी बनेको छ ।
सदरमुकाम बाहेकका अधिकांश बस्तीमा आधारभूत सेवासुविधा न्यून छन् । स्वास्थ्यचौकी छन्, तर जनशक्ति र औषधि अभाव छ । विद्यालय छन्, तर विषयगत शिक्षकको कमी छ । उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीलाई जिल्ला बाहिर जानुपर्छ । सदरमुकाममा इन्टरनेट र सञ्चार सेवा पुगे पनि नियमित र भरपर्दो छैन । यस्तो कठिन परिस्थितिमा यहाँका नागरिकले विकासलाई विलासिता होइन, जीवनसँग जोडिएको अपरिहार्य आवश्यकता ठान्छन् । उनीहरूका लागि विकास कुनै राजनीतिक नारा होइन, जीवनस्तर सुधार्ने आधार हो ।
निर्वाचन नजिकिँदै जाँदा मुगुका गाउँ–बस्तीमा उम्मेदवारहरूको उपस्थिति बाक्लिएको छ । कोही पैदलै दुर्गम बस्ती पुगिरहेका छन्, कोही गाडी चढेर घरदैलोमा व्यस्त छन् । बिहानदेखि साँझसम्म उनीहरू मतदाता भेटघाट, साना–ठुला भेला, कोणसभा र छलफल कार्यक्रममा सहभागी भइरहेका छन् । गाउँका खुला चौर, विद्यालय परिसर र चौताराहरूमा चुनावी सभा आयोजना भइरहेका छन् ।
दलका झण्डा र प्रचार सामग्रीले गाउँको स्वरूप नै केही समयका लागि बदलिएको छ । घरदैलो अभियानमा उम्मेदवारहरू भान्साघरमै पसेर चिया खान्छन्, आँगनमा बसेर स्थानीयका समस्या सुन्छन् । वृद्धवृद्धाको स्वास्थ्य अवस्था सोध्छन्, युवालाई रोजगारीका आश्वासन दिन्छन्, किसानसँग उत्पादन र बजारको समस्या बुझ्छन् । सामाजिक र पारिवारिक सम्बन्धलाई पनि मतसँग जोड्ने प्रयास देखिन्छ ।
‘सडक बनाउँछौँ’, ‘अस्पताल स्तरोन्नति गर्छौं’, ‘युवालाई रोजगारी दिन्छौँ’, ‘पर्यटन विकास गर्छौं’ जस्ता प्रतिबद्धता यस वर्ष पनि दोहोरिएका छन् । चुनावी भाषणमा समृद्ध मुगु, विकसित मुगु र आत्मनिर्भर मुगुको चित्र कोरिन्छ । कतिपय उम्मेदवारले प्रचारकै क्रममा साना पूर्वाधार मर्मतका काम अघि बढाउने, विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराउने, स्वास्थ्यचौकीमा औषधि पु¥याउने जस्ता तात्कालिक पहल पनि गरेका छन् ।
तर स्थानीयका अनुसार यस्ता गतिविधि दीर्घकालीन योजनाभन्दा चुनावी रणनीतिको हिस्सा बढी हुन् । उनीहरूको बुझाइमा वास्तविक परिवर्तनका लागि नीति, बजेट र निरन्तरता आवश्यक हुन्छ, जुन चुनावी उत्साहपछि प्रायः कमजोर हुने गरेको अनुभव छ । मुगुमा चुनावी एजेन्डाको पहिलो नम्बरमा सडक पर्छ । यहाँ सडक केबल यातायातको माध्यम होइन, जीवनरेखा हो । बिरामी परेमा समयमै अस्पताल पु¥याउन सडक चाहिन्छ ।
कृषिजन्य उत्पादन बजारसम्म लैजान सडक आवश्यक छ । विद्यार्थीलाई विद्यालय पुग्न सहजता दिन सडक चाहिन्छ । त्यसैले उम्मेदवारहरूले सबै मौसममा चल्ने सडक निर्माण गर्ने वाचा गरेका छन् । तर स्थानीयको प्रश्न छ –अघिल्ला वाचा किन पूरा भएनन् ? निर्माण सुरू भएका सडक किन अधुरा छन् ? दोस्रो एजेन्डा स्वास्थ्य सेवा हो ।
सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता छ । विशेषज्ञ सेवा त परै जाओस्, सामान्य औषधि अभावसमेत देखिन्छ । गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीका लागि समयमै उपचार नपाउँदा जोखिम बढ्ने गरेको छ । चुनावी भाषणमा अस्पताल स्तरोन्नति, विशेषज्ञ चिकित्सक व्यवस्था, एम्बुलेन्स सेवा विस्तार र स्वास्थ्यकर्मी दरबन्दी पूर्तिका कुरा जोडतोडले उठाइएका छन् । तर स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारका लागि स्थायी जनशक्ति व्यवस्थापन र पूर्वाधार विकास अपरिहार्य छ । तेस्रो प्रमुख विषय रोजगारी हो ।
मुगुमा उद्योगधन्दा छैनन् । कृषि मुख्य पेसा भए पनि उत्पादन व्यावसायिक स्तरको छैन । बजार पहुँच सीमित छ । यसका कारण युवा पुस्ता रोजगारीको खोजीमा भारत, खाडी मुलुक वा अन्य सहरतर्फ लागेका छन् । गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बस्ने अवस्था बढ्दो छ । ‘अब युवालाई विदेश जानु पर्दैन, जिल्लामै रोजगारी सिर्जना गर्छौं’ भन्ने वाचा लोकप्रिय नारा बनेको छ । तर रोजगारी सिर्जना गर्ने स्पष्ट योजना, लगानीको स्रोत र कार्यान्वयन रणनीति के हो भन्ने प्रश्नमा प्रस्टता कम देखिन्छ । वाचा र यथार्थबीचको दुरी मुगुका मतदाताले पटकपटक अनुभव गरेका छन् ।
विगतका चुनावहरूमा धेरै योजना घोषणा भएका थिए । केही सुरू पनि भए । सडक विस्तार, विद्युत् जडान, विद्यालय भवन निर्माण, स्वास्थ्यचौकी सुधार जस्ता प्रयास भएका छन् । तर ती प्रयास पर्याप्त र दिगो छैनन् भन्ने गुनासो स्थानीयबाट सुन्ने गरेको नागरिक समाजका अगुवा रूपबहादुर मल्ले बताए ।
कतिपय योजनाको बोर्ड राखियो, बजेट छुट्याइयो, तर काम अधुरै रह्यो । खानेपानी आयोजना सुरू भयो, केही वर्षमै बिग्रियो । सडक निर्माण भयो, तर नियमित मर्मत नहुँदा बिग्रियो । स्थानीय तहमा बजेट आउने भए पनि कार्यान्वयन र अनुगमनमा कमजोरी देखिएको आरोप छ उनले भने । पारदर्शिताको अभाव र राजनीतिक पहुँचका आधारमा योजना छनोट हुने गुनासो पनि सुनिन्छ ।
‘चुनावमा सबै नेता उस्तै देखिन्छन् । आश्वासन दिन्छन् । जितेपछि फर्केर आउँदैनन्,’ भन्ने गुनासो गाउँ–गाउँमा सुनिन्छ । यो धारणा लोकतन्त्रका लागि चुनौतीपूर्ण संकेत हो । यतिबेला मुगुका गाउँ युवाविहीन छन् । युवाहरू रोजगारीका लागि तेस्रो मुलुकदेखि भारतसम्म वैदेशिक रोजगारीका लागि पलायन भएका छन् । युवा बाहिरिँदा गाउँको उत्पादन घट्छ, सामाजिक संरचना कमजोर हुन्छ र राजनीतिक सहभागितासमेत प्रभावित हुन्छ । चुनावका बेला मतदाता संख्या कागजमा धेरै भए पनि वास्तविक उपस्थितिमा कमी देखिन्छ । जाडोयाममा त उच्च हिमाली बस्तीहरू खालीजस्तै हुन्छन् । यस्तो अवस्थामा मतदान प्रतिशत कस्तो रहला भन्ने प्रश्न उठेको छ ।
शिक्षा क्षेत्रमा भवन निर्माण भए पनि गुणस्तरीय शिक्षामा चुनौती छ । विषयगत शिक्षकको अभाव, प्रयोगशाला र पुस्तकालयको कमी, उच्च शिक्षाका सीमित अवसरले विद्यार्थीलाई जिल्ला बाहिर जान बाध्य बनाएको छ । स्वास्थ्य क्षेत्रमा पनि अवस्था उस्तै छ । सामान्य उपचारका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
आपत्कालीन अवस्थामा समयमै सेवा नपाउँदा ज्यान जाने घटनासमेत दोहोरिएका छन् । यस्ता समस्याले स्थानीयको मनमा एउटै प्रश्न उठाउँछ –हामीले भोट त दियौँ, तर हाम्रो जीवनमा परिवर्तन किन आएन ? निर्वाचन केवल मत माग्ने प्रक्रिया मात्र होइन, जबाफदेहीताको सुरुआत पनि हो । तर चुनावपछि प्रतिनिधिहरूले नियमित रूपमा मतदातासँग संवाद गर्ने अभ्यास कमजोर देखिन्छ । विकास योजनाको प्रगति सार्वजनिक रूपमा समीक्षा गर्ने, बजेट खर्चको विवरण पारदर्शी रूपमा प्रस्तुत गर्ने र स्थानीयसँग निरन्तर संवाद गर्ने परम्परा बलियो हुन सकेको छैन । निराशाबीच पनि मुगुका नागरिक पूर्णरूपमा आशाहीन छैनन् । हरेक चुनावमा उनीहरू मतदान गर्न उत्साहित देखिन्छन् । उनीहरूको अपेक्षा स्पष्ट छ – भाषणभन्दा काम, योजनाभन्दा परिणाम र आश्वासनभन्दा जवाफदेहीता ।
सामाजिक सञ्जालको पहुँच विस्तार हुँदै छ । युवा पुस्ता सचेत बन्दै गएको छ । अब नेताहरूको काम–कारबाही निगरानी गर्ने नागरिक सक्रियता बढ्दो छ । मुगुको चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो लोकतन्त्रप्रतिको विश्वासको परीक्षा पनि हो । मतदाताले विकास सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र पारदर्शी शासन मागिरहेका छन् ।
नेताहरूले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । तर जिल्ला अस्पताल मुगुको अवस्था कहालिलाग्दो छ । २०६९ पुस १ मा मुगु सडक सञ्जालमा जोडिए पनि सडक नाग्म–गमगढी सडक धुल्लाम्य हुँदा समस्या छ, गमगढी–नाक्चा–लाग्न सडक कर्णालीको लाइफलाइन भए पनि २० वर्षदेखि ओझेलमा छ । अहिलेसम्म १८ किमी ट्रयाक मात्रै खोलिएको छ । गाउँ सडकको अवस्था पनि उस्तै छ, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, खानेपानीको अवस्था उस्तै छ । यदि राजनीतिक नेतृत्वले वाचा कार्यान्वयन गर्न सकेन भने ‘नेता ठग हुन्’ भन्ने धारणा अझ बलियो बन्न सक्छ । तर इमानदार प्रयास, स्पष्ट योजना र दृढ कार्यान्वयन देखिए विश्वास पुनःस्थापित हुन सक्छ । मुगुका बासिन्दाको आवाज स्पष्ट छ – ‘हामीलाई दया होइन, अधिकार चाहियो । नारा होइन, परिणाम चाहियो ।’ अबको चुनावले यो आवाज कत्तिको सुन्छ र कत्तिको सम्बोधन गर्छ – त्यही नै मुगुको भविष्य निर्धारण गर्ने आधार बन्नेछ ।

मुगु
प्रतिक्रिया