नेपालको शिक्षा : कति व्यावहारिक, देशको परिवेशअनुकूल छ त ?

नेपालमा शिक्षाको उद्देश्यबारे लामो समयदेखि वहस हुँदै आएको छ । हरेक अभिभावकको सपना हुन्छ – छोराछोरीले राम्रो पढुन्, राम्रो जागिर खाउन्, सुरक्षित भविष्य बनाउन् । राज्यका नीति, भाषण र योजनामा पनि शिक्षा नै विकासको मूल आधार भनेर दोहोरिन्छ । तर जब पढाइ सकिएपछि युवा बेरोजगार बन्छ, सीप नहुँदा विदेशिन बाध्य हुन्छ, वा सिकेको ज्ञान व्यवहारमा प्रयोग गर्न सक्दैन । त्यसपछि एउटा गहिरो प्रश्न उठ्छ ः हाम्रो शिक्षा साँच्चै कति व्यावहारिक छ ? र कति हदसम्म नेपालको सामाजिक, आर्थिक र भौगोलिक परिवेशसँग मेल खान्छ ?

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. शेषकान्त पंगेनी हाम्रो शिक्षा नीति मूलतः व्यावहारिक नभएर सैद्धान्तिक रूपमा मात्र अघि बढिरहेको बताउँछन् । बच्चाको कन्ट्रस्टअनुसार उसको पढाइ छान्ने परिपाटी नभएको उनको भनाइ छ । ‘पहुँच हुनेका छोरीछोरी उनीहरू त्यो पेसाका लागि योग्य छन्÷छैनन्, तर डाक्टर–इन्जिनियर नै बन्न तम्सिन्छन् । अनि पहुँच र पैसा नहुनेका छोराछोरी त्यो क्षमता राख्दाराख्दै पनि डाक्टर–इन्जिनियर बन्नबाट वञ्चित छन्,’ भन्छन् ।
शिक्षा तथा सञ्चारविज्ञ डा.रघु मैनाली व्यावहारिक शिक्षा भनेको के हो भन्ने प्रश्न नै विद्यमान रहेको बताउँछन् । सीपले मात्रै शिक्षा व्यावहारिक नहुने उनको कथन छ । ‘व्यावहारिक भनेको के हो भन्ने नै मूल प्रश्न हो । मूलतः शिक्षाले ३ वटा क्षेत्रलाई प्रतिनिधित्व गर्नुपर्छ । बौद्धिकता, भावनात्मक पक्ष र प्रतिकूलतामा पनि काम गर्न सक्ने साहस र मनाबेल प्रदान गर्नुपर्छ ।’

आजकल शिक्षाले खाली प्रतिस्पर्धालाई मात्र जोड दिएकाले असफल हुँदा विद्यार्थी आत्महत्यासम्मको बाटोमा पुग्ने गरेको उनले उदाहरण दिए । ‘शिक्षाले प्रतिस्पर्धालाई मात्र जोड दियो । समन्वयलाई जोड दिएन,’ उनी भन्छन्, ‘उदाहरणका लागि एसइई फेल हुँदा आत्महत्या गर्नेजस्तो परिपाटी विकास भइरहेको छ । यो शिक्षाले सिकाउने कुरा होइन । शिक्षित मानिसको मनोबल यति कमजोर हुनु हुँदैन । यसको अर्थ हो– समन्वयनात्मक कामले जितिन्छ भन्ने सिकाएको शिक्षाले सुरक्षित महसुस गर्नुपथ्र्यो । तर डर र आक्रोश बढायो । निराशा ग्लानी र डाहा बढायो ।’ सही शिक्षा नपाएकै कारण मुलुकका राष्ट्रिय सम्पत्तिमा आगो लगाउँदासमेत आनन्द लिने प्रवृत्ति देखिएको विज्ञ मैनाली बताउँछन् । ‘सही शिक्षा नपाउँदाको परिणाम मुलुकका राष्ट्रिय सम्पत्तिमा आगो लगाउँदासमेत आनन्द लिने प्रवृत्ति देखियो,’ उनी भन्छन् ।

कक्षाकोठा र जीवनबीचको दुरी

नेपालको अधिकांश विद्यालय र कलेजमा पढाइ कक्षाकोठाभित्र सीमित छ । किताब, कापी, परीक्षा र अंक – यी ४ वटा नै शिक्षाको केन्द्रमा छन् । विद्यार्थीले राम्रो अंक ल्यायो भने सफल मानिन्छ, अंक कम आयो भने असफल । तर जीवनमा भने परीक्षा फरक हुन्छ । खेतमा उब्जनी कसरी बढाउने, सानो व्यवसाय कसरी चलाउने, स्थानीय स्रोत कसरी प्रयोग गर्ने, समस्यामा समाधान कसरी खोज्ने – यी सीप कक्षाकोठामा कमै सिकाइन्छ । यसरी शिक्षा र जीवनबीच दुरी बढ्दै जान्छ । पढाइ सकेपछि पनि ‘के गर्ने ?’ भन्ने प्रश्न अनुत्तरित रहन्छ । यसैकारण आजकल सहरिया बच्चालाई गाई–भैँसीले दुध दिन्छ भन्ने कुरा नै थाहा हुन छोडेको प्राज्ञ पंगेनी बताउँछन् । खाली पाठ्यक्रम पढाएर सकाउने मात्र काम भइरहेको उनको गुनासो छ । ‘हाम्रोमा व्यावहारिक शिक्षा छैन । जसले गर्दा आजकलका सहरिया बच्चालाई गाई–भैँसीले दुध दिन्छ भन्ने पनि थाहा छैन । उनीहरू डेरीबाट आफैँ दुध आउँछ भन्ने सोच्छन् । अभिभावक सहरकेन्द्रित भए । उनीहरू ठुला स्कुल खोज्दै हिड्छन् । अरूको देखासिकी बढी भयो । स्कुलहरूले पनि खाली पाठ्यक्रम पढाएर सिध्याउने मात्र गरिरहेका छन्,’ उनले भने ।

पद्मकन्या क्याम्पसकी प्रमुख रीता तिवारी आजकलको शिक्षा अव्यावहारिक भएको बताउँदै जिपिए धेरै ल्याउने तर घरेलु केही काम पनि नजान्ने खालको भएको टिप्पणी गर्छिन् । विद्यालयमा व्यावहारिक जीवनमा लागू नहुने खालमा पाठ्यक्रम राखिएको भन्दै उनले गुनासो गरिन् । ‘२५ वर्षअघि मैले अप्सनल म्याथ लिएर पढेँ । त्यो बेला त्यो निकै गाह्रो विषय थियो धेरै दुःख गरेर पास गरियो । तर त्यो मेरो जीवन र पेसामा अहिलेसम्म लागू भएको छैन,’ उनी भन्छिन् ।
बालाजुस्थित सितला माविका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ कक्षाकोठा र जीवनबीचको दुरी घटाउने पहिलो दायित्व कक्षा शिक्षकको भएको बताउँछन् । ‘कक्षा शिक्षकले विद्यार्थीलाई लाइफस्किल सिकाउनु पर्छ । पाठसँग प्रयोगात्मक कुरालाई जोड दिन जरुरी छ । शिक्षकहरूले पाठ्यक्रमलाई अक्षरशः हेनुपर्ने हुन्छ,’ उनी भन्छन् ।

पाठ्यक्रम : स्थानीयभन्दा बाहिरी सन्दर्भ हाबी र पश्चिमा शिक्षाको प्रभाव

नेपाली पाठ्यक्रम हेर्दा धेरैजसो विषयवस्तु सैद्धान्तिक छन् । विज्ञान, व्यवस्थापन, अर्थशास्त्र – सबैमा उदाहरण र सन्दर्भ प्रायः विदेशी वा सहरी जीवनसँग जोडिएका हुन्छन् । गाउँमा हुर्केको विद्यार्थीले उद्योग, बजार र व्यवस्थापनका कुरा पढ्छ, तर आफ्नै गाउँको कृषि, वन, पानी र पर्यटनसँग त्यसलाई जोड्न सक्दैन ।

देशको अधिकांश जनसंख्या अझै कृषिमा निर्भर छ, तर विद्यालय शिक्षाले कृषिलाई ‘पढेपछि छोडिने काम’ का रूपमा चित्रण गर्छ । यसले शिक्षालाई परिवेशसँग होइन, परिवेशबाट टाढा लैजाने गरेको विज्ञहरूको भनाइ छ । ‘माटो सुहाउँदो पाठ्यक्रम अपडेट छैन, बाहिरबाट ल्याएर पढाउने गरिएको छ,’ प्राज्ञ पंगेनी भन्छन् । नेपालजस्तो कृषिप्रधान देशका कृषि विषयका विद्यार्थीले समेत बाहिरबाट मगाइएको खाद्यान्न उपभोग गर्नुपरेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।
शिक्षाविज्ञ डा.लक्ष्मण ज्ञवाली हाम्रो देशमा पश्चिमी शिक्षा हाबी भएकाले परिवार भन्ने संस्था कमजोर हुँदै गएको बताउँछन् । ‘पश्चिमा शिक्षा हाम्रो देशका लागि घातक भएको छ । परिवार र समुदायजस्ता संस्था कमजोर भएर गएका छन्,’ उनी भन्छन्, ‘व्यक्ति पश्चिमा शिक्षा लिने नाममा परिवारसँग मिल्न सक्दैन । आधुनिक शिक्षाले हाम्रो हजारौँ वर्ष लगाएर बनाएको परिवार विखण्डन भयो ।’

शिक्षाविद् डा.प्रमोद भट्ट पनि नेपालको पाठ्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिन्छन् । ‘हाम्रो समाज सामाजिक विविधता भएको समाज हो । देशमा १२५ भाषा छन्, तर २ वटामा मात्रै पढाउने गरिएको छ । यसर्थ, सामाजिक यथार्थलाई पनि मनन गरेर पाठ्यक्रम विकास गर्न आवश्यक छ,’ उनी थप्छन् ।

सीपभन्दा प्रमाणपत्रमुखी शिक्षा

नेपालको शिक्षा प्रणाली प्रमाणपत्र–केन्द्रित छ । एसइई, प्लस टु, स्नातक, स्नातकोत्तर – एकपछि अर्को तह पार गर्नु नै लक्ष्यजस्तो देखिन्छ । तर यी प्रमाणपत्रले कति सीप दिन्छन् ? धेरै स्नातकले कम्प्युटर चलाउन, व्यावसायिक योजना बनाउन, वा आफ्नै काम सुरु गर्न सक्दैनन् । देशलाई चाहिने सीपयुक्त जनशक्ति र उत्पादनमुखी नागरिक तयार पार्नुपर्ने ठाउँमा शिक्षा ‘डिग्री संकलन’को माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ । अहिलेको शिक्षा सीपमूलकभन्दा पनि प्रतिस्पर्धामक बढी भएको प्राज्ञ पंगेनीको भनाइ छ । ‘हामीले हाम्रा बच्चालाई कम्पिडिसनबारे मात्र जानकारी गरायौँ । छोराछोरीले यति जिपिए ल्याए भनेर सामाजिक सञ्जालमा राख्न कम्पिडिसन गछौँ । उसले पढेर कति संस्कार सिक्यो भन्नेमा हामीलाई मतलब छैन,’ उनी थप्छन् ।

रोजगारी र शिक्षाबीचको असन्तुलन

हरेक वर्ष हजारौँ विद्यार्थी पढाइ सकेर श्रम बजारमा प्रवेश गर्छन् । तर उनीहरूका लागि देशभित्र पर्याप्त अवसर छैनन् । विज्ञहरूका अनुसार यसको एउटा कारण अर्थतन्त्र कमजोर हुनु हो, अर्को कारण शिक्षाले श्रम बजारको वास्तविक माग बुझ्न नसक्नु पनि हो । देशमा प्राविधिक, दक्ष कामदार र उद्यमीको खाँचो छ, तर शिक्षा प्रणाली अझै परम्परागत विषय र सरकारी जागिरमुखी सोचमै अडिएको छ । यही असन्तुलनले शिक्षित बेरोजगारी बढाएको विज्ञहरू बताउँछन् ।
प्राज्ञ पंगेनीका नजरमा शिक्षा र रोजगारीबीचको अन्तर धेरै छ । आफ्नो पढाइ र क्षमताअनुसार जागिर नपाएर धेरै मानिस अन्य पेसामा लागेको आफूले पाएको उनी बताउँछन् । ‘डाक्टर पढेका मानिस म्यानेजमेन्टमा काम गरिरहेको मैले नै भेटेको छु,’ उनी थप्छन् ।

नेपालमा इन्टर्नसिप, प्रयोगशाला अभ्यास, फिल्डवर्क जस्ता कुरा औपचारिकतामा सीमित छन् । विद्यार्थीले फर्म भर्छ, रिपोर्ट बुझाउँछ, तर वास्तविक सिकाइ कमै हुने गरेको सरोकारवालाहरूको भनाइ छ । शिक्षक पनि परीक्षा सकेर पाठ्यक्रम पूरा गर्नमै केन्द्रित हुन्छन् । सिकाइ प्रक्रियामा प्रयोग, गल्ती र खोजको संस्कृति विकास हुन सकेको छैन ।

विज्ञहरूका अनुसार यसले विद्यार्थीलाई ‘सुन्ने र सम्झने’ त बनाउँछ, तर ‘गर्ने र सिर्जना गर्ने’ बनाउँदैन । प्राज्ञ पंगेनीका शब्दमा भन्दा नेपालको शिक्षा व्यावहारिक छैन, प्रमाणपत्रकेन्द्रित छ । ‘नेपालको शिक्षा व्यावहारिक छैन, प्रमाणपत्रकेन्द्रित छ । यसलाई सुधार्न जरुरी छ,’ उनी भन्छन् ।

सामाजिक यथार्थसँग शिक्षा कति जोडिएको छ ?

नेपाल विविधताले भरिएको देश हो – भाषा, संस्कृति, भूगोल र जीवनशैली फरक–फरक छन् । तर शिक्षा प्रणाली भने एकरूप छ । हिमाल, पहाड र तराई – सबै ठाउँमा लगभग एउटै पाठ्यक्रम लागू छ । विज्ञहरूका अनुसार स्थानीय ज्ञान, परम्परागत सीप र सामुदायिक अनुभवलाई शिक्षाले पर्याप्त स्थान दिएको छैन । यसले गर्दा शिक्षा आफ्नै समाजभन्दा अपरिचितजस्तो लाग्छ ।

नैतिक शिक्षा विषय हटाएपछि शिक्षा झनै सामाजिक यथार्थभन्दा बाहिर गएको प्राज्ञ पंगेनी बताउँछन् । ‘नैतिक शिक्षा पाठ्यक्रमबाट हटाइएको छ । विविध जातिका भाषा, संस्कृतिलाई समेट्नुको सट्टा शिक्षा खाली अंग्रेजीकेन्द्रित भएको छ । अब फेरि संस्कृतसँगै नेवारी, मैथिलीजस्ता विषय किन नपढाउने ?,’ उनी प्रश्न गर्छन् ।

शिक्षाविज्ञ ज्ञवाली अहिलेको शिक्षाले बढेको मान्छेले घरको काम गर्नु हुँदैन भन्ने भन्ने मानसिकता बढाएको बताउँछन् । ‘अहिलेको शिक्षाले बढेको मान्छेले घरको काम गर्नुहुँदैन भन्ने भन्ने मानसिकता बढाएको छ । बाबुआमा पढेका आफ्नै छोराछोरीसँग डराउनुपर्ने अवस्था छ,’ उनी थप्छन्, ‘पैतृक सम्पत्ति जोगाउनुपर्ने छोरो पढेर विदेशिएको छ । हरेक जातिमा पेसा छोड्ने र दोस्रो गतिलो पेसा पनि पक्रन नसक्ने अवस्था आएको छ । बाबुआमा बिरामी हुँदा छोराछोरीलाई फुर्सद नहुने, अन्त्येष्टी गर्न पनि कुर्नुपर्ने अवस्था आएको अहिलेको आधुनिक भनिएको शिक्षाकै कारण हो ।’ अहिलेको आधुनिक शिक्षाले पिएचडी गर्ने र पद देखाउने अहमता मात्र बढाएको विज्ञ ज्ञवालीको बुझाइ छ ।

निजी र सामुदायिक शिक्षाबीचको खाडल

व्यावहारिकताको प्रश्न निजी र सामुदायिक विद्यालयबीचको फरकसँग पनि जोडिन्छ । निजी विद्यालयले केही हदसम्म प्रविधि, भाषा र प्रस्तुति सुधार गरेका छन् । तर त्यो सुधार पनि सबैका लागि पहुँचयोग्य छैन । सामुदायिक अर्थात् सरकारी विद्यालयमा पढ्ने विद्यार्थी अझै आधारभूत स्रोत र सिकाइ वातावरणबाट वञ्चित छन् ।

यसरी शिक्षा स्वयं असमान बन्दै जाँदा, व्यावहारिकता पनि वर्गअनुसार फरक हुने स्थिति बनेको छ । कक्षा १० सम्म निःशुल्क हुनुपर्ने शिक्षा सेवामुखी व्यापारको रूपमा फस्टाइरहेको प्राज्ञ पंगेनीको गुनासो छ । शिक्षामा एकरुपता हुन जरुरी रहेको उनी बताउँछन् । ‘शिक्षा कक्षा १० सम्म निःशुल्क हुनुपर्ने हो,, तर निजी विद्यालयका कारण त्यो हुन सकेको छैन । सामान्य गरिखानेको रोजाइमा पनि सरकारी विद्यालय पर्न छोडे । विद्यार्थीले एउटै पाठ्यक्रम २ किसिमको वातावरणमा सिक्नुपर्ने अवस्था छ । शिक्षामा एकरूपता हुन जरुरी छ । संविधानको मर्मविपरीत हुनु भएन,’ उनी थप्छन् ।

पद्मकन्याकी क्याम्पसप्रमुख तिवारी निजीमा खाली जिपिए ल्याउने खालको मात्र पढाइ हुने गरेकाले यसले दक्ष जनशक्ति उत्पादमा ह्रास आइरहेको बताउँछिन् ।

डिजिटल युग र पुरानो सोच

विश्व डिजिटल युगमा प्रवेश गरिसकेको छ । तर नेपालको शिक्षा प्रणाली अझै कागज, कलम र रटानमा अडिएको छ । कोभिड–१९ ले अनलाइन शिक्षाको आवश्यकता देखायो, तर त्यसपछि पनि संरचनागत सुधार सुस्त छ । डिजिटल साक्षरता, सूचना विश्लेषण र प्रविधि प्रयोगलाई शिक्षाको मूल धारमा ल्याउन ढिलाइ भइरहेको विज्ञहरूको भनाइ छ ।

गाउँ र सहरमा प्रविधिको समान वितरण नभएको प्राज्ञ पंगेनी बताउँछन् । पछिल्लो समय गाउँ–गाउँमा प्रविधि पुर्याउने प्रयास गरिए पनि त्यो पर्याप्त भइनसकेको उनको भनाइ छ । ‘गाउँगाउँका दूरदराजमा यसो हेर्दा प्रविधि पुर्याउने प्रयास गरिरहेको पाइन्छ । तर, त्यो पर्याप्त छैन । गाउँ र सहरको अवस्था फरक छ,’ उनी स्पष्ट पार्छन् ।

शिक्षाविज्ञ डा. भट्ट परम्परागत प्रविधिले नेपालको शिक्षा सधैँ नधान्ने बताउँछन् । अब स्थानीय प्रविधिको विकास गर्ने बेला भएको उनको सुझाव छ । ‘हाम्रो शिक्षा बढी सैद्धान्तिक भयो, हामी २०० वर्षदेखि एकै किसिमको हलोले जोतिराखेका छौँ । अब टेक्नोलोजीको विकास गर्न जरुरी भइसकेको छ । त्यही हलोलाई पनि परिमार्जन गरेर थोरै समयमा धेरै खेत जोत्न सकिन्छ होला,’ उनी प्रष्ट्याउँछन्, ‘स्थानीय प्रविधिको विकास नगरी अब प्रगति हुँदैन । त्यसका लागि पाठ्यक्रममा नै यी विषय समेट्न जरुरी छ ।’

अबको बाटो

समस्या जति गहिरो भए पनि समाधान असम्भव नभएको विज्ञहरू सुझाव दिन्छन् । शिक्षालाई देशको परिवेशअनुकूल बनाउन पहिलो कदम पाठ्यक्रमलाई जीवनसँग जोड्नु रहेको उनीहरूको भनाइ छ । विज्ञका अनुसार कृषि, पर्यटन, साना उद्योग, स्थानीय स्रोत व्यवस्थापन र उद्यमशीलतालाई विद्यालय तहदेखि नै व्यावहारिक रूपमा समेट्नुपर्छ । सीपमूलक र प्राविधिक शिक्षालाई विकल्प होइन, मुख्य धार बनाउन आवश्यक छ ।

शिक्षक तालिम, सिकाइ पद्धति र मूल्यांकन प्रणाली पनि परिवर्तन हुनुपर्नेमा उनीहरूको जोड छ । अंकभन्दा सीप र सोचलाई महŒव दिने गरी अघि बढ्नुपर्ने प्राज्ञ पंगेनी बताउँछन् । बालबालिकाको रुचि र लगावलाई हेरेर सोही अनुसारको शिक्षा दिनुपर्नेमा उनको जोड छ । छोराछोरीको रुचि र क्षमता मध्यनजर नगरी पहुँच र पैसाका आधारमा जबरजस्ती डाक्टर–इन्जिनियर बनाउने परिपाटीको अन्त्य गरिनुपर्ने विज्ञ पंगेनीको सुझाव छ । ‘यदि कुनै बच्चा सानैदेखि खेलकुद र कलामा रुचि राख्छ भने उसलाई सोही क्षेत्रमा जान सहज हुने गरी शिक्षा दिनु पर्छ,’ उनी भन्छन् ।

विद्यार्थीलाई कक्षा १०–११ मा पुगेपछि संस्कृति र जीवनोपयोगी सीप सिकाउनुपर्नेमा प्राज्ञ पंगेनीको जोड छ । ‘उहाहरणका लागि उसलाई लगेर घरको गारो कसरी लगाइन्छ भनेर सिकाउन सकिन्छ,’ उनी भन्छन् । अरूको देखासिकी छोडेर देशलाई कस्तो जनशक्ति आवश्यक छ, त्यहीअनुसारको शिक्षा दिनुपर्ने उनी बताउँछन् । ‘अभिभावकलाई भन्न चाहन्छु – अरूको देखासिखी छोड्नुहोस् ।’

सरकारले पनि देशलाई चाहिने हरेक खालको जनशक्ति उत्पादन हुनेगरी पाठ्यक्रम बनाउनुपर्नेमा प्राज्ञ पंगेनीको जोड छ । ‘सरकारले पनि जीवनोपयोगी र व्यावहारिक शिक्षामा जोड दिँदै देशलाई चाहिने हरेक खालको जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम बनाउनुपर्छ,’ उनी भन्छन् ।

प्रतिक्रिया