
काठमाडौँ । आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने मिति नजिकिँदै गर्दा नवनिर्वाचित सांसदहरूका लागि सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार हुन सकेको छैन । सरकारी तथ्यांकअनुसार हालसम्म भवन निर्माणको काम करिब ८८ प्रतिशत मात्र सम्पन्न भएको छ ।
विगत लामो समयदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् बैठक सञ्चालन हुँदै आएको थियो। तर, हालैको ‘जेन–जी’ आन्दोलनका क्रममा उक्त भवनमा तोडफोड र आगजनी भएपछि त्यहाँ पुनः बैठक सञ्चालन हुने सम्भावना न्यून देखिएको छ । बानेश्वरको विकल्पका रूपमा सिंहदरबारभित्र निर्माणाधीन नयाँ भवनमै बैठक राख्ने तयारी गरिए पनि काम नसकिँदा अन्योल बढेको छ ।

निर्माणमा ढिलासुस्ती र लागत
२०७६ असोज १६ गते ५ अर्ब २ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। तर, निर्धारित समयसीमा सकिँदा पनि काम पूरा नभएपछि पटक–पटक म्याद थपिँदै आएको छ ।
शहरी विकास मन्त्रालय मातहतको विशेष भवन आयोजनाले निर्माणको जिम्मा लिएको यस आयोजनाको राष्ट्रपति, प्रधानमन्त्रीदेखि सभामुखसम्मले पटक–पटक अनुगमन गरी निर्देशन दिए पनि कामले पूर्णता पाउन सकेको छैन। निर्माण सम्पन्न हुने ठोस समयसीमा अझै सार्वजनिक गरिएको छैन ।

के के छन् सुविधा ?
सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन यो भवन अत्याधुनिक र सुविधासम्पन्न हुने मन्त्रालयको दाबी छ।
प्रतिनिधिसभा हल : ७०० सिट क्षमता (४०० मुख्य हल र ३०० बाल्कोनीमा) ।
राष्ट्रिय सभा हल : २९० सिट क्षमता।
संयुक्त लबी : ३५० सिट क्षमता।
संसदीय दलका कार्यालय: १० वटा साना–ठूला राजनीतिक दलका लागि कार्यकक्ष।
विशिष्ट कक्ष: प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख सचेतकका लागि अति विशिष्ट (VVIP) कक्ष ।
प्रवेशद्वार : भीभीआईपीका लागि छुट्टै र कर्मचारी तथा सर्वसाधारणका लागि अलग प्रवेशद्वार ।
२०६४ सालदेखि भाडाको भवनमा चल्दै आएको संसद्, बानेश्वरको भवन क्षतिग्रस्त भएपछि अब नयाँ भवनमा सर्ने कि अर्को वैकल्पिक व्यवस्था गर्ने भन्ने विषय अहिले चासोको केन्द्रमा छ । निर्वाचनपछिको पहिलो अधिवेशनसम्म भवन तयार नभए सरकारलाई बैठक व्यवस्थापनमा ठूलो चुनौती थपिने देखिन्छ ।
भिडियाे
नेपालमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक करोडौँ रुपैयाँ भाडा तिरेर संसद् भवनका रूपमा प्रयोग गरिँदै आएको थियो । सिंहदरबारभित्रै आफ्नै अत्याधुनिक भवन बनाउने योजना धेरै पटक अघि सरे पनि २०७६ मा मात्र यसको शिलान्यास भएको थियो । तर, प्राकृतिक विपत्ति, कोभिड–१९ र निर्माण कम्पनीको ढिलासुस्तीका कारण यो आयोजना पटक–पटक पर धकेलिँदै आएको छ ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया