युक्रेनलाई शान्ति योजना स्विकार्न ट्रम्पको अल्टिमेटम

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा प्रतिक्रिया दिन युक्रेनलाई २७ नोभेम्बरसम्मको अल्टिमेटम दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त कठिन निर्णयको मोडमा पुगेको र गरिमा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिमजस्ता चुनौतीपूर्ण विकल्प सामना गर्नुपर्ने बताएको केही घन्टामै ट्रम्पले चेतावनीपूर्ण अल्टिमेटम दिएका हुन् ।

फक्स न्युज रेडियोलाई गत शुक्रबार दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा सार्थक प्रगति देखिए मात्र समयसीमा केही लचिलो हुन सक्ने सम्भावना रहेको बताएका थिए । ‘मेरो धेरैजसो विषयमा समयसीमा हुन्छ र यदि काम सकारात्मक रूपमा अघि बढिरहेको छ भने त्यसलाई विस्तार गर्न सकिन्छ ।

तर, २७ नोभेम्बर हामीलाई उपयुक्त समयजस्तै लागेको छ’, उनले भने । ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ५ दिनभित्र निर्णय गर्न बाध्य पारिएको संकेत पनि गरे । उनका अनुसार युक्रेन आफ्नो गरिमा बचाउने कि प्रमुख सहयोगीको समर्थन गुमाउने भन्ने दुवै कठोर विकल्पबीच छ । ट्रम्पले युक्रेनले आफ्नो केही भूभाग तत्काल गुमाउने सम्भावना अझै कायम रहेको चेतावनीसमेत दिए ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको फोन वार्तापछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत् किभ अमेरिकी तथा युरोपेली पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा सहकार्य गर्दै शान्तिको मार्ग खोज्न सहमत भएको जानकारी दिएका छन् ।

यसअघि टेलिभिजनमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले देश संकटको नयाँ चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै अत्यन्त कठिन विकल्पसहितको जटिल परिस्थितिको चेतावनी दिएका थिए ।

‘युक्रेन अब अत्यन्तै चुनौतीपूर्ण निर्णयको घडीमा छ– या त गरिमा गुमाउने जोखिम, वा प्रमुख साझेदार गुमाउने भय । या त २८ बुँदे कठोर प्रस्ताव स्विकार्ने, वा अर्को कठोर जाडो सहने,’ उनले भने ।

ओभल अफिसमा पत्रकारहरूसँग अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिको यथार्थवादी बाटो पहिचान भइसकेको दाबी गर्दै यो योजना अघि बढ्न जेलेन्स्कीको स्वीकृति अनिवार्य हुने पुनः दोहोर्याए ।

‘हामीसँग शान्ति हासिल गर्ने बाटो छ भन्नेमा विश्वास छ । तर, युक्रेनी पक्षले यसलाई अनुमोदन गर्नुपर्छ । उनीहरू नजिकै आइरहेका छन् जस्तो लाग्छ । तर, म अहिले नै भविष्यवाणी गर्न चाहन्नँ,’ उनले भने ।

ट्रम्पद्वारा पुनरवलोकन भई समर्थन प्राप्त २८ बुँदे शान्ति प्रस्ताव वासिङ्टनले गत ३ वर्षदेखि अवरुद्ध भइरहेको शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने उद्देश्यले अघि सारेको पछिल्लो पहल हो । यसअघि रुसले पूर्ण कब्जा नजमाएका क्षेत्रमा क्षेत्रीय छुट दिनुपर्ने जस्ता केही प्रस्ताव किभले अस्वीकार गरिदिएको थियो ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अमेरिकी योजनाबारे टिप्पणी गर्दै उक्त प्रस्ताव आफूले अलास्कामा ट्रम्पसँग भएको भेटमा छलफल गरेको पुरानो प्रारूपकै परिमार्जित संस्करण जस्तो देखिएको बताए ।

सुरक्षा परिषद्को बैठकमा उनले भने, ‘अमेरिकी पक्षले केही सम्झौतामा सहमत हुन आग्रह गरेको थियो ।’ पुटिनका अनुसार मस्कोले एन्कोरेजमा प्रस्तुत गरिएका पहलहरू स्वीकार गरेको थियो । तर, किभले प्रस्ताव अस्वीकार गरेपछि प्रक्रिया रोकिएको थियो । रुसी पक्षले अद्यावधिक २८ बुँदे प्रस्ताव प्राप्त गरे पनि विस्तृत अध्ययन गर्न बाँकी रहेको पुटिनले बताए । ‘मलाई विश्वास छ, यो अन्तिम शान्ति सम्झौताको आधार बन्न सक्छ,’ पुटिनले भनेका छन् ।

प्रतिक्रिया