
टोकियो । जापानको सबैभन्दा ठूलो विपक्षी दलले प्रधानमन्त्रीका रूपमा साने ताकाइचीको उदय रोक्नका लागि अन्य दलहरूसँग मिलेर साझा उम्मेदवारको समर्थन गर्ने तयारी गरेको छ । यो कदम सत्तारूढ गठबन्धन विघटन भएपछि आएको हो, जसले देशलाई नयाँ राजनीतिक अनिश्चिततामा धकेलेको छ ।
जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्यसहित अगाडि बढेकी कन्जर्भेटिभ नेत्री ताकाइचीका लागि चुनौतीपूर्ण स्थिति सिर्जना भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सँग २६ वर्ष लामो सहकार्यपछि यसको सह–गठबन्धन साझेदार कोमेइटोले शुक्रबार सम्बन्ध विच्छेद गरेको छ ।
एक हप्ताअघि नयाँ एलडिपी अध्यक्षमा निर्वाचित भएकी ताकाइचीलाई प्रधानमन्त्री बन्न संसद्को स्वीकृति आवश्यक छ । तर, कोमेइटोको अलगावपछि उक्त समर्थन सुनिश्चित गर्न कठिन देखिएको छ ।
मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सिडिपी) का प्रमुख योशिहिको नोडाले भने, ‘यो सरकार परिवर्तनका लागि दशकमा एक पटक आउने अवसर हो ।’ उनले विपक्षी दलहरूलाई एउटै उम्मेदवारको पक्षमा एकजुट हुन आग्रह गरे ।
अझै सार्वजनिक नभएको निक्केई पोडकास्टको रेकर्डिङमा बोल्दै नोडाले सम्भावित साझा उम्मेदवारका रूपमा डेमोक्रेटिक पार्टी फर द पिपुल (डिपिपी) का प्रमुख युइचिरो तमाकीलाई अघि सार्न सकिने संकेत गरे । तमाकीले पनि शुक्रबार आफू उम्मेदवारी दिन इच्छुक रहेको बताएका थिए ।
यद्यपि सिडिपी र डिपिपीबीच नीति सम्बन्धी उल्लेखनीय मतभेदहरू छन्, जसले सहकार्यमा अवरोध पुर्याउन सक्ने विश्लेषकहरूले बताएका छन् । एलडिपी हाल आप्रवासन विरोधी स्यानसेइटो लगायतका साना दलहरूका समर्थनमा कमी हुँदै गएको छ ।
कोमेइटोले पनि दूरी बनाएपछि एलडिपी दुवै सदनमा अल्पमतमा पुगेको छ । हाल तल्लो सदनमा एलडिपीका १९६, सिडिपीका १४८, डिपिपीका २७ र कोमेइटोका २४ सिट छन् । प्रधानमन्त्री नियुक्त हुन ताकाइचीको पक्षमा संसदमा २३३ सिटको बहुमत आवश्यक पर्छ । यो संख्यालाई ध्यानमा राख्दा उनको लागि बहुमत हासिल गर्न कठिन देखिएको छ ।
तर, केही विज्ञहरूले विपक्षीहरू साझा उम्मेदवारमा सहमत नहुँदा ताकाइचीले पद सुरक्षित गर्न सफल हुन सक्ने सम्भावना पनि बताएका छन् । कोमेइटोका प्रमुख तेत्सुओ साइतोले आफ्नो दलले ताकाइचीको सट्टा अन्य उम्मेदवारलाई समर्थन गर्ने बताए । उनका अनुसार एलडिपीले राजनीतिक दलहरूको कोषसम्बन्धी नियमहरू कडा बनाउन असफल भएकाले गठबन्धन तोड्नुपरेको हो ।
यो निर्णय गत वर्षको एलडिपी भित्रको चन्दा घोटालासँग पनि जोडिएको छ, जसमा कोष संकलन कार्यक्रमका टिकट बिक्रीबाट लाखौँ डलर अवैध रूपमा भुक्तानी गरिएको आरोप लागेको थियो । ताकाइचीले सो घोटालामा संलग्न कोइची हाग्युडालाई पार्टीका वरिष्ठ पदमा नियुक्त गरेपछि कोमेइटोले असन्तुष्टि जनाएको बताइएको छ ।
‘सार्वजनिक अखण्डतामा विश्वास गर्ने कोमेइटोका लागि यस्तो निर्णयलाई आफ्ना समर्थकहरू वा कार्यकर्ताहरूलाई व्याख्या गर्नु गाह्रो थियो’, जापानको सुकुबा विश्वविद्यालयका राजनीति तथा समाजशास्त्रका प्राध्यापक हिदेहिरो यामामोटोले भने ।
कोमेइटो सानो भए पनि सोका गक्काई नामक बौद्ध संगठनको समर्थनमा रहेको प्रभावशाली पार्टी हो । यसले विगतका चुनावहरूमा एलडिपीलाई ठूलो सहयोग पुर्याएको थियो । दैनिक योमियुरी सिम्बुनका अनुसार कोमेइटोको सहयोगबिना एलडिपीका करिब २० प्रतिशत सांसदले आगामी चुनावमा सिट गुमाउने सम्भावना रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया