
काठमाडाैँ । इम्बार्क कलेजले २ वटा महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ ।भविष्यका व्यवसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न भन्दै कलेजले ‘व्यावहारीक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम’ घोषणा गरेको हाे ।
उक्त कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्ने इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरले बताए । उनले भने, ‘हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छाैँ ।’

ठाकुरका अनुसार अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख तथा नविन उद्योग र उद्यमहरू सँगको साझेदारी मार्फत योग्य स्नातकहरूलाई रोजगारी सुनिश्चित गर्छ। सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्याङ्कन अनुसार रोजगारीको अवसर प्रदान गरिनेछ ।
कार्यक्रमका विशेषताहरूमा पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता समावेश छन्, जसले उद्योगलाई दक्ष जनशक्ति र विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन दिन्छ । इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय संचालन भएका तथा वार्षिक कारोबार १५ करोड भन्दा कम भएका नवप्रवर्तन व्यवसायहरूलाई लक्षित गरेको छ ।
कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरूलाई सहयोग प्रदान गर्छ । प्राथमिकता दिइने व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्ट अपहरू पर्छन् ।
सीईओ ठाकुरका अनुसार नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ । हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ । यी दुई कार्यक्रमहरूले नेपाल सरकारको नीतिअनुरूप समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया