रगतमा सहजीकरण गर्ने समाजसेवी भामलाई सम्मान

मुगु । छायाँनाथ रारा नगरपालिका– ४ निवासी समाजसेवी नरेश भामलाई सम्मान गरिएको छ । जिल्ला अस्पतालमा उपचारका क्रममा रगत अभाव हुँदा छटपटिएका बिरामीलाई तत्काल रगत उपलब्ध गराई उपचारमा सहजता पुर्याएको भन्दै जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले भामलाई सम्मान गरेको हो ।

सोमबार कार्यालयमा जिल्ला स्वास्थ्य सेवाकार्यालयका प्रमुख डा. निर्मल नगरकोटीले भामलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन् । उनले रगत व्यवस्थापनमा भामले देखाएको सक्रियता र समाजसेवाप्रतिको समर्पणले जिल्लाका बिरामीहरुको जीवन रक्षा हुने कार्यमा ठूलो योगदान पुर्याएको बताए ।

जिल्लामा रगतको ब्लड बैंक छैन । यस्तो अवस्थामा नरेश भामले स्वयंसेवकको भूमिकामा तत्काल रगतको खोजी र उपलब्ध गराउन पहल गर्दै आएका छ्न् । समाजसेवी भामको समाजसेवाप्रतिको कार्य अत्यन्तै प्रशंसनीय रहेको अस्पतालले जनाएको छ । उनको यो योगदानले कैयौँ बिरामी नयाँ जीवन पाएको डा. नगरकोटीले बताए ।

भामले मुगु जिल्ला अस्पतालमा उपचारका क्रममा रगत नपाएर जीवन संकटमा परेका बिरामीलाई पटक–पटक गरी १२ पटक स्वयं रगत दिनुका साथै ५०औँ पटक विभिन्न व्यक्तिहरुसँग समन्वय गरी तत्कालीन आवश्यकता अनुसार रगत उपलब्ध गराउँदै आएका छन् ।

उनको यो अभियानले जिल्लामा ‘रगत अभावका कारण बिरामीको ज्यान जान दिनु हुँदैन’ भन्ने सन्देश फैलाउन पनि सहयोग पुगेको प्रमुख डा नगरकोटीले बताए । समाजसेवी भामले आफूले गरेको सानो सहयोगलाई स्वास्थ्य सेवा कार्यालयले कदर गरेर सम्मान गरेकोमा खुशी व्यक्त गरे । भविष्यमा पनि आवश्यक परेको बेलामा आफू निरन्तर सहकार्य गर्न तयार रहेको भामले बताए ।

आइतबारदेखि जिल्ला अस्पतालमा उपचाररत सोरु गाउँपालिका– ७ की मायालक्ष्मी विष्टलाई पाठेघरमा समस्या भई अत्यधिक रक्तश्राव भएकाले उनलाई ‘ए’ पोजेटिभ रगत आवश्यक परेको थियो ।

समाजसेवी भामको पहलमा छायाँनाथ रारा नगरपालिका– १ का कालीबहादुर नेपालीले रगत दान गरी उनको जिवन रक्षामा सहयोग गरेका जिल्ला अस्पताल मुगुका डा. अर्जुन भामले जानकारी दिए ।

प्रतिक्रिया