फेरिएको शारदा : सरकारसम्म धाउन नसक्ने नागरिकको दैलोमै धाउँछ सरकार !

मेरा सारथि जनप्रतिनिधि र कर्मचारीहरूको निरन्तरको मिहिनेत, छलफल र सहकार्यले शारदाको स्वरूप बदलिँदै गएको छ । अझै धेरै गर्नु छ । शारदाबासीको अनुहारमा हाँसो ल्याउनु छ । जनताको दुःख, पीडालाई खुसी र सुखमा बदल्नु छ ।

कर्णाली प्रदेशको सल्यान जिल्लामा पर्ने शारदा नगरपालिका सदरमुकामको पालिका हो । तर, करिब २०० वर्गकिमी क्षेत्रफलमा फैलिएको पालिकाभित्र पूर्ण सडक सञ्जाल नभएकाले स्थानीय सेवाका लागि पनि घन्टौँ हिँड्नुपर्ने बाध्यता छ । सबै गाउँ–टोलमा सडक र यातायात पु¥याउन सम्भव नभए पनि शारदा नगरपालिकाले त्यसको जुक्ति निकाल्यो । नागरिक धाउन नसके पनि पालिका सबैको घरआँगनमा धाउन सक्छ भन्दै ज्येष्ठ नागरिक र अशक्तता भएकाहरूको सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्न थालेको छ ।

७० वर्ष कटेका अशक्त/अपांगता भएकाको घरमै पुगेर स्वास्थ्य परीक्षण र आवश्यक औषधिको प्रबन्ध पनि पालिकाले नै मिलाएको छ । बुढ्यौलीसँगै पारिवारका सदस्यले साथ छाड्छन् । तर, शारदा नगरपालिकाले उनीहरूलाई चौतारी बनाएर थन्क्याउने मात्र काम गरेको छैन, ‘नगर प्रमुखसँग ज्येष्ठ नागरिक खेलकुद कार्यक्रम’ नै बनाएर पालिकाका ज्येष्ठ नागरिकलाई जमघट गराउन, आफ्ना दौतरीहरूसँग भेटघाट गराउन र शारिरीक रूपमा स्फूर्त राख्ने प्रयत्न गरेको छ । सोही मौकामा पालिकाले उनीहरूको स्वास्थ्य परीक्षणसमेत गर्दै आएको छ ।

छाडा पशु चौपायाको व्यवस्थापन गर्न गौशाला नै बनाएको शारदाले फूल खेती प्रवद्र्धन गर्न २०७९ सालदेखि नै नगर क्षेत्रमा प्लास्टिकका माला र खादाको प्रयोगमा प्रतिबन्ध लगाएको छ । कर्णाली प्रदेशमै सबैभन्दा बढी घरको बिमा गराउने पालिका पनि हो– शारदा । भूकम्पीय र प्राकृतिक विपत्तिको जोखिमसमेत रहेको शारदा नगरभित्र रहेकामध्ये ७ हजार ७०७ घरहरूको प्रदेश सरकारको सहयोगमा पालिकाले बिमा गरेको छ । व्यावसायिक प्रयोजनबाहेक घरहरूको नगरपालिकाले नै बिमा गरिदिएको हो । हरेक घरको क्षतिको मूल्यांकन गरी अधिकतम २० लाख रुपैयाँसम्म घरधनीलाई नगरपालिकाले प्रदान गर्नेछ । सल्यान जिल्लामै यो कार्यक्रम सञ्चालन गर्ने एक मात्र पालिका पनि हो– शारदा ।

मैले पालिकाको नेतृत्व सम्हालेपछि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । खानेपानीको समस्या समाधानका लागि अर्बौँको आयोजना सञ्चालन भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि नवीनतम् अभ्यास भएका छन् । रोजगारीमा जोड्न तालिम कार्यक्रम सञ्चालन गरिएको छ । कृषिमा यान्त्रिकीकरण र कृषकलाई प्रोत्साहित गर्ने काम भएको छ । ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाको नाममा भोग्नुपरेको सास्ती अन्त्य भएको छ । विपन्न नागरिकको स्वास्थ्य बिमासँगै नगरबासीका घरहरूको पनि बिमा गरेका छौँ । बिनाविवाद, सरकारी पर्ती जग्गामा बनेका घरटहरा हटाएर श्रीनगर बसपार्क निर्माण गरेका छौैँ ।

शारदा नगरपालिकाले आफ्नो मुख्य प्राथमिकतामा शिक्षालाई राख्दै आएको छ । पालिकाको सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन र अभिभावकको आकर्षण वृद्धि गर्न काम गरिरहेको छ । ५६ वटा सामुदायिक विद्यालय रहेको नगरपालिकामा अहिले दरबन्दीको कुनै समस्या छैन भने विज्ञसहितको टोली विद्यालय अनुगनमा खटिएको छ । विद्यालयको पूर्वाधार निर्माणमा पालिकाले कुनै कन्जुस्याइँ गरेको छैन । सबै सामुदायिक विद्यालयमा जंक फुड निषेध गरिएको छ । उत्कृष्ट काम गर्ने प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारी र विद्यालय व्यवस्थापन समितिलाई पालिकाले पुरस्कृत पनि गर्ने गरेको छ ।

नगरबासीको घरघरमा खानेपानी पुर्याउने उद्देश्यका साथ विश्व बैंकको सहयोगमा नगरपालिकाले १ अर्ब १० करोड रुपैयाँ लागतमा बृहत् खानेपानी आयोजना सुरु गरेको छ । जसमध्ये अहिले पहिलो चरणमा ५३ करोडको टेन्डर आह्वान गरेर काम नै सुरु गरिसकेको छ । सल्यान जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको श्रीनगर क्षेत्रलाई व्यवस्थित बनाउन पालिकाले देशकै नमुना बसपार्कका रूपमा श्रीनगर बसपार्क क्षेत्रको विकास गरेको छ । भण्डारी मेयर निर्वाचित भएपछि सुरु भएको आधुनिक बसपार्क बनाउने योजनाका लागि त्यस क्षेत्रमा पर्ती र ऐलानी जग्गामा बनेका १०० वटाभन्दा बढी घरटहरा बिनाविवाद हटाइएको थियो । २०८० माघदेखि बसपार्क निर्माण सुरु गरेको शारदाले डेढ वर्षमै अत्याधुनिक बसपार्क निर्माण गरेको छ । बसपार्क बनेसँगै यसले सल्यानसहित दाङ र रुकुम जिल्लाका नागरिकलाई यात्रासँगै व्यापार व्यवसायमा समेत राहत पुर्याएको छ ।

बालबालिकाको पठन सीपको विकास र उनीहरूको प्रतिभा पहिचान गर्न कर्णालीमै पहिलो पटक पढाइ मेला, किसानका समस्या पहिचान गर्न र त्यसको सम्बोधन गर्न किसान सम्मेलन, नगरका युवा लक्षित युवा सम्मेलन र किशोरकिशोरी सम्मेलन बर्सेनि आयोजना गर्ने गरेको छ । पूर्वाधार निर्माणका लागि आवश्यक ब्याकुलोडर, स्काभेटर, टिपर, ट्र्याक्टर आफैँले खरिद गरेर सञ्चालन गरिरहेको पालिकाले एम्बुलेन्स र नगर बस पनि आफ्नै स्रोतमा सञ्चालन गरेको छ । त्यस्तै, ५ करोड ८६ लाख रुपैयाँमा ४ वटा स्मार्ट शौचालय निर्माणको काम अघि बढाएको शारदा नगरपालिकामा ललितपुर महानगरपालिकाले ललितपुरको कलाकौशल झल्किने मन्दिर पनि बनाउँदै छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा यस नगरपालिकाको मेयरमा प्रकाश भण्डारी निर्वाचित भएपछि देखिएका परिवर्तन हुन् यी । सडक निर्माण होस् वा विपद्को समय, मेयर भण्डारी आफैँ डोजर, स्काभेटर चलाएर काममा हिँडिहाल्छन् । युवा सोच र जोशका साथ पालिकाको मुहार फेर्ने अठोट लिएर पालिकाको नेतृत्व गर्न आएका भण्डारीलाई शारदा नगरपालिकालाई देशकै नमुना पालिका बनाउन मन छ । उनी भन्छन्, ‘मैले नेतृत्व गरेको नगरपालिकामा मेरा सारथि जनप्रतिनिधि र कर्मचारीहरूको निरन्तरको मिहिनेत, छलफल र सहकार्यले स्वरुप बदलिँदै गएको छ । अझै धेरै गर्नु छ । शारदाबासीको अनुहारमा हाँसो ल्याउनु छ । जनताको दुःख, पीडालाई खुसी र सुखमा बदल्नु छ ।’

प्रतिक्रिया