कुष्ठरोगको आशंकामा धनवीरेको ६ वर्षदेखि छाउगोठमा बास, अस्पतालमा जाँच गर्दा कुष्ठरोग नभएको पुष्टि

हुम्ला । कुष्ठरोगको आशंकामा ६ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए ।

उनले भने, ‘कामीको जिल्ला अस्पतालमा उपचार थालिएको छ, उनीलाई आफन्तले कुष्ठरोगी भनेता पनि कुष्ठरोग नभएको पुष्टि समेत भएको छ, तर उहाँको अन्य स्वास्थ्य परीक्षणपछि मात्र के रोग हो भन्ने पत्ता लाग्छ ।’

स्वास्थ्य सेवा कार्यालयले विरामी कामीको निःशुल्क उपचार गर्ने अस्पताल प्रमुख डा तिवारीले जानकारी दिए । उनका अनुसार कामीको खुट्टा र शरीरका केही भाग नचल्दा शारीरिक रूपले अपांगता जस्ता भएका छन् ।

साथै, हातखुट्टाका औँला बांगो छन् भने हिँडडुल गर्न पनि कठिन छ । घरपरिवार एवं गाउँलेले अन्धविश्वासका कारण उनीलाई छाउगोठमा राखेको जनाइएको छ । छाउगोठमा बस्दा उनले उचित उपचार र हेरचाहको अभाव झेल्दै आएका थिए ।

रातदिन चिसो, भोक र वेदनाका बीच जिउन बाध्य भएका कामीलाई केही राहत भएको आफन्त जसपाल कामीले बताए । उनको हेरचाहका लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका थिए । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरत्रासले छाउगोठमा राख्नुपरेको परिवारका सदस्यले बताएका छन् ।

प्रतिक्रिया