
कालीकोट । पर्यटकीय गन्तव्यमा रहेको पचालझरनाका बारेमा क्यूआर कोडबाट जानकारी लिन सकिने भएको छ । कालीकोटको पचालझरना गाउँपालिकास्थित पचालझरना पर्यटकीय गन्तव्यको सूचिकृतमा परेको छ ।
आर्थिक वर्ष ०८२–८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटको पचालझरनालाई ६४औँ स्थानमा सूचीकृत गरेसँगै क्यूआर कोडबाट नै जानकारी लिन पाइने भएको हो ।
नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । यो सूचिकृत भएसँगै पचालझरनाका बारेमा जानकारी दिनका लागि नेपाल पर्यटन बोर्डले क्यूआर कोडमार्फत पर्यटकलाई जानकारी दिने भएको छ ।
पचालझरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डमा राखिएको र एउटा क्यूआर गाउँपालिकालाई हस्तान्त्रण गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले बताइन् ।
‘क्यूआर कोडको फ्रेम मैले बुझेर ल्याइसकेको छु,’ उनले भनिन्, ‘यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुनेछ । कालीकोटको पचालझरना गाउँपालिका–७ र ४ मा पर्ने पर्यटकीय पचालझरना ३८१ मिटर अग्लो रहेको गाउँपालिकाले दाबी गर्दै आएको छ ।
त्यसअघि नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको छ । समुद्री सतहबाट ९७० मिटर उचाइमा रहेको एक ठाउँमा थोरै ठोकिएको लम्बाई जोड्दा त पचालझरनाको लम्बाई ४१५ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले जानकारी दिए ।
‘हामीले पचालझरनाको नापजाँच गर्दा ३८१ मिटर अग्लो रहेको छ,’ उनले भने, ‘बीचमा झरना ठोक्किएको भाग जोड्दा ४१५ मिटर अग्लो रहेको छ ।’
पचालझरनामा पुग्नका लागि कर्णाली करिडोरको लाफागाडबाट तीन घण्टा पैदल र एक घण्टा गाडीमा पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिज लगायतका चराचुरुंगी र घोरल, कस्तुरी, बँदेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइन्छन् ।
पर्यटकलाई खान, बस्न खार्दु गाउँका पाँच घरमा होमस्टे पनि सञ्चालन भएका छन् । झरनासम्म पुग्नका लागि रेलिङसहितको गोरेटो बाटो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

कालिकाेट
प्रतिक्रिया