युवकलाई हनी ट्र्यापमा पारेर १४ लाखभन्दा बढी असुल्ने युवती पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले हनी ट्र्यापमा पारी रु १४ लाख २५ हजार असुल्ने एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नौमूले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बस्दै आएकी २१ वर्षीया सिन्दु चन्द रहेकी छन् । उनले २०८१ भदौमा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ सुर्खेत बुद्धपथस्थित बुलबुले भ्यू होटलमा बोलाई एकापसको चिनजान र सहमतिमा सम्बन्ध राखेकी थिइन् ।

उक्त सम्बन्धलाई आर्थिक लाभ लिने मनसायले जबर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु र सामाजिक सञ्जाल तथा मिडियामा नांगो फोटो राखिदिन्छु भनी डर–त्रास देखाई बेइमानीपूर्वक जटिल परिस्थिति खडा गरी कोइरालाबाट पटक–पटक गरी रु १४ लाख २५ हजार असुल गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

बुढथापाका अनुसार पीडितसँग रकम असुली गरेको भन्ने प्रमाणसहित प्राप्त जाहेरीपश्चात् मंगलबार प्रहरी टोलीले उक्त कसुरमा संलग्न ती युवतीलाई पक्राउ गरेको हो । पक्राउ परेकी अभियुक्त चन्दलाई आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया