काठमाडौँ । कर्णाली प्रदेशमा पनि अन्य प्रदेश झैँ कृषि उपजले ढाकेको भू–क्षेत्र घट्दै गएको, भने कृषि उत्पादन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार कृषि क्षेत्र घटे पनि उत्पादन बढेको हो । आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफलमा शून्य दशमलव ११ प्रतिशतले कमी आएको हो । कर्णालीमा कृषि बालीले ढाकेको क्षेत्रफलमा ३ लाख ७३ हजार ४१६ दशमलव २५ हेक्टर कायम हुन पुगेको छ । कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३ दशमलव ४१ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ५ दशमलव ११ प्रतिशत र ४ दशमलव १६ प्रतिशतले कमी आएको छ । त्यसैगरी, गहुँ, कोदो, जौँ र फापर बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ४ दशमलव ८६ प्रतिशत, ११ दशमलव ५२ प्रतिशत, १ दशमलव ३९ प्रतिशत र १२ दशमलव २० प्रतिशतले कमी आएको छ ।
जुम्लामा धेरै, डोल्पामा न्यून
कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरूमध्ये खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमा जुम्ला जिल्लाले सबैभन्दा धेरै १९ दशमलव १७ प्रतिशत र डोल्पा जिल्लाले सबैभन्दा कम २ दशमलव ३१ प्रतिशत हिस्सा ओगटेको छ । खाद्य तथा अन्य बालीले समग्रमा ८१ दशमलव २० प्रतिशत हिस्सा ओगटेको छ ।
तरकारी खेती बढ्यो
कर्णाली प्रदेशमा तरकारी बालीले ढाकेको क्षेत्रफल ४६ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ । तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल समग्रमा ३३ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरूमध्ये तरकारी र बागवानी क्षेत्रमा सल्यान जिल्लाले सबैभन्दा धेरै २९ दशमलव १३ प्रतिशत र मुगुले सबैभन्दा कम १ दशमलव २६ प्रतिशत हिस्सा ओगटेको छ ।
३६ हजार २७४ हेक्टरमा फलफूल खेती
आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल ८ दशमलव १७ प्रतिशतले वृद्धि भई ३६ हजार २७४ हेक्टर पुगेको छ । कर्णाली प्रदेशको कुल फलफूल बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी जुम्ला जिल्लाले ५८ हजार ३९ प्रतिशत क्षेत्रफल ओगटेको छ भने सबैभन्दा कम रुकुम पश्चिम जिल्लाले शून्य हजार ७१ प्रतिशत भू–भाग ओगटेको छ ।
कृषि उत्पादनमा वृद्धि
कर्णाली प्रदेशमा कृषि बालीको उत्पादन ३ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भई १२ लाख १६ हजार ३७७ दशमलव शून्य ३ मेट्रिक टन कायम भएको छ । गत अवधिमा यस्तो उत्पादनमा २ दशमलव ४७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादनमा ४ दशमलव ८३ प्रतिशतले ह्रास आएको छ ।
समीक्षा अवधिमा प्रमुख कृषि बालीमध्ये मकै बालीको उत्पादन ४ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, गत अवधिमा १२ दशमलव शून्य ४ प्रतिशतले वृद्धि भएको धान उत्पादन समीक्षा अवधिमा १० दशमलव २५ प्रतिशतले घटेको छ । गहुँ, कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १७ दशमलव ३१ प्रतिशत, १६ दशमलव ७३ प्रतिशत, १८ दशमलव ९८ प्रतिशत र २५ दशमलव ६९ ले कमी आएको छ ।
तरकारी
समीक्षा अवधिमा कर्णाली प्रदेशमा तरकारी तथा बागवानी उत्पादन २२ दशमलदव ७४ प्रतिशतले वृद्धि भई २ लाख ३१ हजार ४२८ मेट्रिक टन पुगेको छ । गत अवधिमा यस्तो उत्पादन ६ दशमलव शून्य ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा तरकारी उत्पादनमा २५ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ भने गत अवधिमा तरकारी उत्पादनमा ७ दशमलव ४ शून्य प्रतिशतले ह्रास आएको थियो । त्यसैगरी, बागवानी उत्पादनमा १ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।
फलफूल
समीक्षा अवधिमा कर्णाली प्रदेशभित्र फलफूल उत्पादन ४४ दशमलव ७३ प्रतिशतले वृद्धि भई १ लाख ६ हजार ३३ मेट्रिक टन पुगेको छ । समीक्षा अवधिमा प्रमुख फलफूलमध्ये सुन्तलाको उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको छ । त्यसैगरी, आँप, केरा र स्याउ उत्पादन वृद्धि भएको छ । समीक्षा अवधिमा यस प्रदेशको कुल खाद्य तथा अन्य बाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २२ दशमलव ९० प्रतिशत सल्यान जिल्लाको रहेको छ भने सबैभन्दा कम हिस्सा १ दशमलव ७० प्रतिशत डोल्पा जिल्लाको रहेको छ ।
दुध उत्पादनमा ह्रास
समीक्षा अवधिमा कर्णालीमा दुध उत्पादनमा ९ दशमलव शून्य ८ प्रतिशतले ह्रास आई ४३ हजार ६०२ दशमलव १३ हजार लिटर कायम भएको छ । गत अवधिमा यो उत्पादन ८ दशमलव ४३ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, समीक्षा अवधिमा मासु उत्पादनमा १ दशमलव शून्य ८ प्रतिशतले ह्रास आएको छ भने गत अवधिमा १७ दशमलव ३१ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा कर्णाली प्रदेशमा अन्डा उत्पादनमा १३ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ । गत अवधिमा यो उत्पादनमा २ दशमलव शून्य ५ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा माछा उत्पादन १ दशमलव १३ प्रतिशतले वृद्धि भई २०९ दशमलव ४६ मेट्रिक टन पुगेको छ ।
सहर केन्द्रित कृषि कर्जा
कृषि गर्ने किसान गाउँमा भए पनि बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ऋण सहर केन्द्रित भ्एको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । कर्णालीमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै सुर्खेत र कम मुगुमा गएको देखिन्छ । कुल कृषि कर्जामध्ये १ अर्ब ८५ करोड ८२ लाख सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम १३ करोड ७५ लाख मुगु जिल्लामा प्रवाहित भएको देखिन्छ । समीक्षा अवधिसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जामा गत अवधिको तुलनामा १४ दशमलव शून्य १ प्रतिशतले वृद्धि भई ५ अर्ब १५ करोड ५६ लाख पुगेको छ । समीक्षा अवधिमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी बिउवीजन शीर्षकमा ११ लाख पुगेको छ भने सिँचाइ शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन ।
प्रतिक्रिया