काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुका बिचमा संक्रमणकालिन न्यायका विषयमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गरेका हुन् ।
छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेता खिमलाल देवकोटा र प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलको समेत सहभागिता रहेको थियो ।
छलफलमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयमा अघि बढीरहेका कामहरुको सम्बन्धमा ब्रिफिङ भएको सल्लाहकार खरेलले जानकारी दिए । उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा संक्रमणकालिन न्यायसँग सम्बन्धित कोषमा १ अर्ब रुपैयाँ छुट्याइएको र पीडितलाई सरकारी अस्पतालमा उपचार हुने विषयका बारेमा छलफल भएको बताए ।
त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले समेत आफ्नो काम, कारबाही अगाडी बढाइरहेको विषयमा जानकारी लिइएको उनले उल्लेख गरे । ‘संक्रमणकालिन न्यायलाई सकारात्मक ढंगले अगाडी बढाउने कुराहरुमा तीन दलका नेताहरुको उपस्थितिमा ति कुराहरु भएका हुन् ।’ उनले भने, ‘संक्रमणकालिन न्याय कहाँ छ ? कसरी अगाडी बढ्दैछ ? ति विषयमा जानकारी लिने काम भयो ।’
प्रतिक्रिया