काठमाडौँ । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै विश्वभर आप्रवासनको विषयले तहल्का मच्चाइरहेको छ । अवैध रूपमा बसेका अन्य देशका नागरिकलाई देश निकाला गर्ने होस् वा अमेरिका प्रवेशको सवालमा कडिकडाउ गर्ने विषय, ट्रम्प प्रशासन अहिले निकै कठोर बनेको छ । विश्वभर यसको प्रभाव परिरहँदा नेपाल पनि अछुतो छैन ।
अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको तथा भिसा प्रक्रिया पूरा नगरेको, भिसा अवधिभन्दा बढी समय बसेको तथा चालचलन राम्रो नभएको आरोपमा विदेशी नागरिकलाई धमाधम देश निकाला गरिरहेको अमेरिकाले नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिएर डिपोर्ट गरिरहेको छ । पछिल्लो समय गत आइतबार पनि चार्टर्ड विमानमार्फत् ३७ नेपालीलाई नेपाल छाडेको थियो ।
डिपोर्ट गरिएका नेपालीलाई सुरुमा अमेरिकी सरकारका प्रतिनिधिले अध्यागमन कार्यालयलाई बुझाउँछन् भने त्यसपछि अध्यागमनले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ र ब्युरोले विमानस्थलमै सामान्य सोधपुछ गरेर आफन्तलाई जिम्मा लगाउने गरेको छ । ब्युरोका अनुसार गत जनवरीदेखि अहिलेसम्म १६३ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । तर, यसबीचमा अमेरिकाले डिपोर्ट गरेका नेपालीको यो नै यकिन तथ्यांक भने होइन ।
अमेरिकामा गैरकानुनी ठहरिएका कतिपय आफैँ पनि नेपाल फर्किने गरेकाले ट्रम्प नेतृत्वमा आएपछि कति नेपाली अमरिकाबाट अवैध ठहरिएर फर्किए भन्ने यकिन छैन । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार जनवरी २० देखि जुन १० सम्मको अवधिमा अध्यागमनले ब्युरोलाई १६३ जना जिम्मा लगाएको छ ।
जाहेरी नपर्दा हुन सकेन अनुसन्धान
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान प्रक्रिया सुरु गर्न जाहेरी दरखास्त र बेचबिखनमा परेका पीडितहरू उद्धार भएर फर्किएपछि उनीहरूको बयानलाई अदालतमा प्रमाणीकरण गर्नुपर्छ । अहिलेको कानुनी प्रावधानअनुसार जाहेरी नपर्दासम्म अनुसन्धान प्रक्रिया अघि बढाउन सक्ने अवस्था छैन ।
ब्युरोले यसका लागि प्रयत्न गरे पनि अहिलेसम्म फर्किएका कसैले पनि जाहेरी दिएका छैनन् । ‘अमेरिकाबाट डिपोर्ट भएकाहरूलाई सुरुमा हामीले उनीहरू मानव तस्करीका पीडित हुन् वा होइनन् भन्ने कोणबाट हेर्ने हो,’ ब्युरोका प्रवक्ता कुँवरले भने, ‘त्यसबारे जानकारी लिन पनि जो पीडित भनिएकाहरू छन्, उसको जाहेरी पर्नुपर्छ र अनुसन्धान सुरु हुन्छ । तर, अहिलेसम्म जाहेरी नै परेको छैन ।’
अमेरिकाबाट डिपोर्ट भएर आएका नेपालीहरू अमेरिकासम्म कसरी पुगे भन्नेबारे अहिलेसम्म जानकारी हुन सकेको छैन । ब्युरोले गरेको सामान्य सोधपुछमा पनि डिपोर्ट भएकाहरूले यसबारे खुलेर बोलेका छैनन् । तर, दलाललाई मोटो रकम तिरेर अमेरिका पुगेको प्रारम्भिक अनुसन्धानले देखाउँछ, तर कसलाई तिरेको भन्नेबारे कसैले मुख खोलेका छैनन् ।
पढेलेखेकाहरू नै जानाजान तस्करको जालोमा
आमनागरिकदेखि राज्यलाई पनि ती व्यक्तिहरू अवैध बाटो हुँदै अमेरिका गएका हुन् भन्नेबारे जानकारी छ । तर, बिनाजाहेरी प्रहरीले पनि केही गर्न सक्ने अवस्था छैन । राज्य जाहेरी कुरिरहँदा बदमासी झनै मौलाउने र अपराध सधैँ लुकिरहने देखिन्छ । यसका लागि अब राज्यले फरक ढंगले कसरी अनुसन्धान गर्ने भन्नेबारे सोच्नुपर्ने प्रवक्ता कुवँर बताउँछन् ।
अवैध बाटो हुँदै र दलालहरूले पैसा लिएर भिजिट भिसामा युरोपलगायत तेस्रो मुलुकमा पठाएका नेपालीहरूलाई त्यहाँका सरकारले धमाधम फर्काउँदै छन् । पोर्चुगलले मात्र अवैध रूपमा बसिरहेका करिब ३ हजार नेपालीलाई स्वदेश फर्कन भनिसकेको छ । उनीहरू अवैध रूपमा त्यहाँ बसेको कुरा जानकारी हुँदा हुँदै पनि यदि जाहेरी परेन भने त्यसमा पनि प्रहरीले अनुसन्धान गर्न सक्ने अवस्था छैन ।
राज्यले यसमा जनचेतना वा सचेत गराउने अवस्था पनि छैन । विशेष गरी पढेलेखेका र अवैध हो भन्ने थाहा हुँदाहुँदै पनि त्यसरी तेस्रो मुलुक जाने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ । यसरी हेर्दा यो विषय झन् विकराल बन्ने प्रष्ट छ । ‘पीडित भनिएकाहरूले जाहेरी दिनुपर्यो, हामी अनुसन्धान सुरु गर्छौँ । अब जाहेरी नै नदिएपछि उहाँहरू आफूखसी गएको भन्ने हाम्रो ठहर रहन्छ,’ कुँवरले भने ।
डिपोर्ट भएकाहरू बेचिएका कि मानव तस्करीमा ?
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीहरूका सन्दर्भमा मानव बेचविखनभन्दा पनि मानव ओसारपसारको कोणबाट हेर्नुपर्ने हुन्छ । हुनलाई मानव बेचबिखन र मानव ओसारपसारको विषय फरक भए पनि यसलाई एउटै कानुनमा समावेश गरिएको छ । तर, यसमा केही आधारभूत भिन्नताहरू रहेको ब्युरो बताउँछ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा २ को ‘ग’ र ‘घ’ मा मानव ओसारपसार अर्थात् मानव तस्करीबारे व्याख्या गरिएको छ । उपदफा २ को ‘ग’ मा मानव तस्करीको अवस्थाबारे व्याख्या गर्दै भनिएको छ, ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै गैरकानुनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासी व्यक्तिलाई नक्कली वा झुट्टा कागजात बनाई वा झुक्याई विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानुनी रूपमा प्रवेश गराउने मानव तस्करीसम्बन्धी कार्य गरे वा गराएमा ।’
ब्युरोका अनुसार किन्ने, बेच्ने वा ओसारपसारमा सम्बन्धित गन्तव्यमा पुर्याइसकेपछि बेचबिखनमा परेकाहरूमाथि शोषणलगात पीडा दिने काम हुन्छ । तर, अवैध रूपमा अमेरिका प्रवेश गरेकाले त्यहाँको कानुनअनुसार उनीहरू डिपोर्टमा परेकाले यसलाई मानव तस्करीको रूपमा हेरिन्छ ।
यस विषयमा कुँवर भन्छन्, ‘अहिलेसम्म हाम्रो बुझाइमा उहाँहरू अवैधानिक रूपमा तस्करसँग वा आफैँ अमेरिकासम्म पुगेको अनुमान छ, जुन मावन तस्करी हो । तर, कतै उहाँहरू बेचबिखनमा पो पर्नुभएको हो कि भनेर त्यसबारे जाहेरी दिनुहुन्छ कि भनेर उहाँहरूसँग हामीले सम्पर्क राख्ने प्रयत्न गरेका छौँ ।’
प्रतिक्रिया