प्रतिनिधिसभा बैठक आज पनि बस्न सकेन, अर्को बैठक आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै नबसेर स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले प्रतिनिधिसभाको बैठक केही दिन अघिदेखि अवरोध गर्दै आइरहेका छन् ।

आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । संसद सचिवालयका अनुसार अब अर्को बैठक पर्सी आइतबार दिउँसो १ बजे बस्ने छ ।

हिजो बिहीबार पनि बैठक त बसेको थियो तर बैठक सुरू हुनासाथ विपक्षी दलका नेताहरु उठेर विरोध जनाएपछि स्थगित भएको थियो । हिजो सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा प्रवेश गर्न लागेको सूचना सुनाएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

तर, आज शुक्रबार पनि विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको विषयमै अडान लिएपछि बैठक बस्न नसकेको हो । संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा आज बसेको विपक्षी तीन दलको बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद मनिष झाले जानकारी दिए ।

श्रम ऐन, २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन आयोग बनाउन प्रतिपक्षी दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी) को बैठकले यस्तो निष्कर्ष निकालेको उनले सुनाए । बैठकमा उक्त प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको झाले बताए ।

प्रतिक्रिया