राजेन्द्र लिङ्‍देन नगएपछि राजावादीको बैठकमा होहल्ला, कमल थापा बोल्दाबोल्दै बैठक स्थगित

काठमाडौं । राजसंस्था पुनः स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको छ । आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा आज बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देन नगएपछि होहल्ला भएको हो ।

उनी बैठकमा सहभागी नभएकोमा धेरै सहभागी असन्तुष्ट भएका थिए । संसद बैठकका कारण अध्यक्ष लिङ्‍देन उपस्थित हुन नसकेको भनेर बैठकको सुरुमै जानकारी गराइएको थियो । त्यसका बाबजुद पनि धेरै नेताहरुले असन्तुष्टि जनाएका थिए।

समीक्षा बैठक भए पनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय पनि उठेको थियो । शीर्ष नेता डराएर मिडियालाई बस्न दिएको कतिपय सहभागीले होहल्ला गरेका थिए ।

त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्ने समयमा होहल्ला भएपछि आन्दोलन समितिका संयोजक नवराज सुवेदीले माइक लिएर कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए । त्यसपछि युवाहरुले ‘बूढाहरुबाट केही हुँदैन’ भन्दै छुट्टै बैठक गरिरहेको बताइएको छ ।

प्रतिक्रिया