आर्थिक सर्वेक्षण २०८१/८२ : अर्थतन्त्रको आकार ६९ खर्ब ७ अर्ब पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६९ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको प्रथम ८ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्थाको आर्थिक सर्वेक्षण २०८१/८२ संसदमा पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षणमा चालु आवमा मुलुकको आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत रहने अनुमान प्रस्तुत गरिएको छ ।

अर्थमन्त्री पौडेलले चालु आवमा प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४ दशमलव ६९ प्रतिशत भन्दा माथि रहेको बताए । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२ दशमलव ८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२ दशमलव ०१ प्रतिशत रहने अनुमान छ । त्यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५ सय ९७ अमेरिकी डलर पुगेको छ ।

यस अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय खर्च ४ दशमलव ७ प्रतिशत र संघीय राजस्व १२ दशमलव ६ प्रतिशतले बढेको छ । वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरुपमा बढेको अर्थमन्त्री पौडेलले बताए ।

यस अवधिमा संघीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको थियो । २०८१ फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ८ प्रतिशत हो ।

चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७ दशमलव २ प्रतिशत र वस्तु पैठारी (आयात) १९ दशमलव २ प्रतिशतले बढेको छ । हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसंख्यायामा विद्युतको पहुँच पुगेको छ । कुल जडित विद्युत् क्षमता ३ हजार ६०२ मेगावाट पुगेको छ ।

संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार ९ सय ३२ किलोमिटर पुगेको छ । इन्टरनेट ग्राहकको घनत्व १४४ दशमलव २३ प्रतिशत पुगेको छ भने ७२० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ ।

मानव विकास सूचकांक बढेर ० दशमलव ६२२ पुगेको छ । शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९४ दशमलव १ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यस अवधिसम्म ९६ दशमलव ८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेको छ।

विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च

आर्थिक वर्ष २०८१/८२ मा कृषि, उद्योग तथा सेवा क्षेत्रको उत्पादन बढ्ने अनुमान गरिएको छ । आर्थिक क्रियाकलापमा बढोत्तरी हुँदै गएसँगै चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र मध्यम दरले विस्तार हुने उनको अनुमान छ । विप्रेषण आप्रवाह ९४ प्रतिशतले बढेर १० खर्ब ५९ अर्ब ७७ करोड पुगेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४ दशमलव ३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको छ ।

कृषि उत्पादन बढ्ने

आर्थिक वर्ष २०८१/८२ को कृषि र गैर कृषि क्षेत्रको उत्पादन (कुल मूल्य अभिवृद्धि ) क्रमशः ३ दशमलव २८ प्रतिशत र ४ दशमलव २८ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन ३ दशमलव ३५ प्रतिशत र गैर कृषि क्षेत्रको उत्पादन ३.३६ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष धानको उत्पादन ४ दशमलव ०४ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ । साथै, तेलहन, दलहन र तरकारी बालीमा भएको वृद्धि तथा पशुपन्छी जन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु) मा भएको वृद्धिले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा केही सुधार हुने अनुमान रहेको छ ।

बढ्यो वित्तीय पहुँच

आर्थिक सर्वेक्षणअनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । सर्वेक्षणको प्रतिवेदनअनुसार वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंङ्कको शाखा पुगेको छ । बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २ हजार ५२७ जनसंख्यामा बैंकिङ सेवा उपलब्ध भएको छ ।

२०८१ फागुनमा बैंक तथा वित्तीय संस्थाका ११ हजार ५ सय ४३ शाखामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी २६ दशमलव ३ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ४ दशमलव १ प्रतिशत रहेको छ । प्रति शाखा औसत जनसंख्या गण्डकी प्रदेशमा सबैभन्दा कम १ हजार ७५९ रहेको छ ।

२०८१ फागुनमसान्तमा बैंंक तथा वित्तीय संस्थाको निक्षेप ९ दशमलव ५ प्रतिशत र बैंङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ७ प्रतिशतले बढेको छ। नेप्से सूचकांक २०८१ फागुनमसान्तमा २७३६ दशमलव ४९ बिन्दु कायम भएको छ। जीवन बीमाको पहुँच ४४ दशमलव १७ प्रतिशत जनसंख्यामा पुगेको छ ।

३.१५ प्रतिशत जनसंख्यामा खानेपानी सेवाको पहुँच बाहिर

चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले अझै ३ दशमलव १५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच नपुगेको देखाएको छ । २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या ९६ दशमलव ८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर सेवाको पहुँच पुगेको जनसंख्या २८ दशमलव ५० प्रतिशत पुगेको छ ।

२०८१ असारसम्म यस्तो जनसंख्या क्रमशः ९६ दशमलव ७५ प्रतिशत र २७ दशमलव ७६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएका छन् । सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप २ लाख ५ हजार ५ सय ६९ जनसंख्यायामा खानेपानी सेवा विस्तार भएको छ ।

सहकारीका बचतकर्तालाई १ अर्ब ६७ करोड फिर्ता

समस्याग्रस्त भएका सहकारीहरुमध्ये ३ वटा सहकारीको बचत फिर्ता भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन समितिले आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कुल ७ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब ६२ करोड रुपैयाँ बचत फिर्ता गरेको हो । अर्थमन्त्रीले सार्वजनिक गरेको आव २०८१/८२ को आर्थिक सर्वेक्षणमा समस्याग्रस्त घोषणा भएका २२ सहकारीमध्ये ३ वटाको हरहिसाब राफसाफ भइसकेको उल्लेख गरेको छ ।

यस्तै ६२ हजार ७ सय १० दाबीकर्ता रहेकोमा समितिले फागुन मसान्तसम्म ७ हजार १ सय ५५ वटा बचतकर्ताको सबै रकम फिर्ता गरेको जनाएको छ भने करिब १ हजार सदस्यको बचत आंशिक मात्रै फिर्ता भएको हो । १९ सहकारीका बचतकर्ता तथा आंशिक निक्षेप फिर्ता बाँकी रहेको बचतकर्ताको ३८ अर्ब २५ करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या ६४ लाख नाघ्यो

आर्थिक सर्वेक्षण अनुसार २०८१ फागुन महिनासम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ६४ लाख ६१ हजार १९ पुगेका छन्, भने कामकै सिलसिलामा ९२२ पुरुष र ५२ महिला गरी ९७४ जनाले ज्यान गुमाएका छन् । नयाँ श्रम स्वीकृति लिनेमा महिला ६ दशमलव सात प्रतिशत र पुरुष ९३ दशमलव तीन प्रतिशत रहेको छ ।

चालु आवको फागुनसम्म वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा १११ देशलाई खुला गरिएको छ । एक हजार ६७० म्यानपावर कम्पनीलाई श्रमिक पठाउन इजाजतपात्र प्रदान गरिएको छ । चालु आवको फागुनसम्म नवीकरणसहित नयाँ श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ३४ हजार ४७१ पुगेको छ । यसमध्ये महिला ११ दशमलव तीन प्रतिशत र पुरुष ८८ दशमलव सात प्रतिशत रहेका छन् ।

सामाजिक सुरक्षा कोषमा २० लाख श्रमिक सूचीकृत

सर्वेक्षणका अनुसार औपचारिक क्षेत्र, वैदेशिक रोजगार, अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्र गरी करिब २० लाख ८० हजार श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३८९ पुगेको छ । गत आवको यस्तो संख्या ३८ लाख २९ हजार ४७३ रहेको थियो । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आव २०८१–८२ को फागुनसम्म ७४३ स्थानीय तहमा सात लाख ९७ हजार ७२५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् ।

प्रतिक्रिया