कावासोती । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी खोलाको भाँचिएको पुल तत्कालका लागि टेको लगाएर मर्मत सुरु गरिएको छ । नयाँ पुल बनाउन समय लाग्ने भएपछि वर्षाअघि पुरानै पुलमा टेको लगाएर सोही पुलबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको हो ।
अबको १५ दिन भित्रमा पुललाई सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम भइरहेको सडक आयोजनाले जनाएको छ । पुलको भाँचिएको भागलाई तलबाट टेको लगाएर उठाउने र पहिलेको अवस्थामा आएपछि भाँचिएको फलामका पाता फेरेर पुल पुनः सञ्चालन गरिने सडक डिभिजन चितवनका इन्जिनियर आषिश नेपालले जानकारी दिए ।
‘‘नयाँ पुल बन्नका लागि अझै तीन चार महिना लाग्ने देखियो, त्यसैले हाललाई पुरानै पुल ममर्त गरेर सञ्चालन गर्नु पर्ने बाध्यता भयो,’ इन्जिनियर नेपालले भने, ‘‘पुरानो मर्मत गरिरहँदा त्यति बलियो त हुँदैन, त्यसैले नयाँलाई नै प्राथमिकता दिनुपर्छ ।’
पुललाई मर्मत गरेर सञ्चालन गर्नका लागि सडक विभागले जलप कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । मंसिर २९ गते पुलमा म. प्र. ०३–००१ क ३१६३ नम्बरको (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट वीरगञ्जतर्फ जाँदै गरेको टेलर हिँड्दै गर्दा पुल भाँचिएको थियो ।
झण्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो । हाल पुल भाँचिएपछि सवारीसाधन आवागमनमा रोक लगाइएको छ । पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने सवारीसाधन लामो डाईभर्सनबाट पास हुने गरेका छन् ।
गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल पनि भाँचिएको थियो । यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएपछि मर्मत गर्दै सञ्चालन गरिएको थियो ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया