सर्लाही । सर्लाहीमा प्रहरी प्रशासनको सेटिङमा तस्करले जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामग्रीहरुको खुलेआम तस्करी गर्दै आएका छन् ।
तस्करहरुको बढ्दो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको छ । सर्लाही जिल्लास्थित संग्रामपुर, पर्सा, त्रिभुवन नगर, मलंगवा, खुटौना, भाँडसर, फेन्हारा र बलरास्थित रहेको चोर नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुने गरेको छ ।
भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा चिनी, तेल, चामल, मलखाद्य, कपडा, स्पेयर पार्टस्, कुखुरा र कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु छन् । भने तस्करहरुले नेपालतर्फबाट गाईगोरु, मदिरा, सुपारी, मरिच, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ चोरी निकासी गर्दै आएका छन् ।
उल्लेखित नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुँदै आइरहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
सदरमुकामदेखि ग्रामीण भेगसम्म कुरेर पैसा असुल्ने काममा प्रहरीनै संलग्न रहेको फेला पर्दै आएका छन् । ग्रामिण भेगबाट हुने काठको निकासीमा प्रहरीले ठाउँ–ठाउँमा पैसा लिएर निर्वाध ओसारपसारको छुट दिनु प्रहरीको ड्यिूटी बनेको स्थानियहरु बताउँछन् ।
तस्करीमा सीमानाकामा रहेका सुरक्षाकर्मीकै संलग्नता छ । माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको छ । मासिक रकम दिएर सञ्चालित तस्करी फस्टाउदै गएको छ । माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्ने स्थानीय बासिन्दाहरु बताउँछन् । तर तस्करी रोक्नेतर्फ भने कुनै पहल नभएको र सर्लाही प्रहरी प्रशासन भने मौन रहेके देखिन्छ ।
तस्करलाई भारत नेपाल दुईतर्फी सामान ओसारपसार गर्ने काममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा प्रहरीहरु सक्रिय रहेको स्रोतले जनाएको छ । सर्लाहीका व्यापारी र भारतको सिमावर्ती बजारका प्रत्येक व्यापारीहरुबाट घुमुवा प्रहरीहरुले मासिक रुपमा लाखौँ रुपैयाँ रकम उठाउने गरेका छन् ।
१४ महिनापछि सर्लाहीका एसपी रविन्द्र बहादुर सिंहको यही वैशाख १५ गते सरुवा भएको हो । एसपी सिंहसँग अपेक्षित व्यवहार पाउन नसकिएको भन्दै सेवाग्राहीहरूमा व्यापक आक्रोश पाइएको थियो ।
एसपी सिंहको सरुवा भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय सर्लाहीको कमाण्ड डिएसपी सरोज राइको जिम्मामा रहेको छ । डिएसपी राइ भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरुमा मात्र बस्न रुचाउँछन् । जिल्ला प्रहरी कार्यालयमा न्याय माग्दै आएका पीडितहरूको गुनासो बेवास्ता गर्दै उल्टै पिडकको चित्त बुझाउन र पिडकलाई जोगाउनमै डिएसपी राइको दैनिकी बित्ने गरेको छ ।
तस्करहरुको बढ्दो सक्रियतासँगै सर्लाहीमा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा तस्करले जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामाग्रीहरु राति तथा दिउँसोको समयमा पनि खुलेआम तस्करी गर्दै आएका छन् । यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपैयाँको सरकारी राजस्व चुहावट भइरहेको छ ।
प्रतिक्रिया