जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दलालको बिगबिगी

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवामा दलालको बिगबिगी र पहुँच ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवा आम सेवाग्राहीको पहुँचमा नभई दलाल र तस्करको अड्डा बनेको छ । सेवाग्राहीलाई कार्यालय समयमा पनि जिल्ला प्रहरी कार्यालयमा सहज प्रवेशमा रोक लगाएका छन् । भने दलाल र तस्करलाई प्रवेशमा चौबीसै घण्टा निर्वाद छुट दिएको छ ।

जिल्लामा शान्ति सुव्यवस्था कायम राख्नुको सट्टा कानुनको आडमा सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेकाले सर्लाहीका आमजनताहरु जिल्ला प्रहरी कार्यालयको काम कारबाहीबाट आजित भइसकेको स्थानीयहरुले बताएका छन् ।

जनताको समस्याको समाधान आफनै कमान्डमा स्वस्फूर्त रुपमा गर्नुपर्ने जिम्मेवारी राज्यले दिएर पठाए पनि १४ महिना सर्लाही प्रहरी प्रमुखको जिम्मेवारीमा बसेर यही बैशाख १५ गते सर्लाहीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय काठमाडौ गएका एसपी रबिन्द्र बहादुर सिंहसँग अपेक्षित व्यवहार पाउन नसकिएको भन्दै सेवाग्राहीहरूमा व्यापक आक्रोश पाइएको थियो । एसपी सिंहले सेवाग्राहीलाई जबर्जस्ती फाँटबाट आउन बाध्य गर्ने गरेका थिए । श्रोत भन्छन्, ‘जबर्जस्ती फाँटबाट आउन बाध्य बनाउनुको कारण पैसा बुझाएर आउनुस भनेको हो ।’

कार्यालयको हाताभित्र सेवाग्राही भन्दा दलाल र तस्करकै बढी भीडभाड रहेको देखिन्छ । राज्यले पारदर्शी काम कामकारबाही गर्न गराउन बनाइएको नीति निर्देशनलाई समेत लत्याउँदै जिल्ला प्रहरी कार्यालयमा अहिले दलाल र तस्करको बिगबिगी र कर्मचारीको व्यवहारले सिस्टम ब्रेक भएको छ ।

विभिन्न बहानामा कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई हैरान बनाउने गरेका छन् । कार्यालयमा दलाल र तस्करको पहूँच कार्यालयका महत्वपूर्ण फाईल राखिएको कोठासम्म समेत रहेको विशेष स्रोतबाट खुलासा भएको छ ।

स्रोतका अनुसार, सेवाग्राहीहरूलाई दलालको माध्यमबाट मात्रै आफ्नो काम सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति जिल्ला प्रहरी कार्यालयले बनाएको छ । विभिन्न फाँटबाट नै दलालि सुरु हुने गरेकोले भ्रष्टाचारमा वृद्धि र सर्लाही प्रहरीको काम कारबाहीप्रति जनताको विश्वास पुर्ण रुपले घटेको छ ।

दलाली प्रथा र प्रहरीको संलग्नता एकदमै गम्भीर विषय हो, जसका कारण समाजमा असुरक्षा र अन्याय बढ्छ । यो संवेदनशील र गम्भीर विषय भएकोले दलाल र तस्करहरूको प्रभावलाई नियन्त्रणमा राख्न माथिका नियमन निकायले कडा निगरानीका साथ तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने नागरिक समाजको ठम्याइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा भएको दलालको बिगबिगी त एउटा उदाहरण मात्र हो । सर्लाहीको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, नापी गोश्वारा र उद्याेग विकास शाखा लगायत जनताहरुसँग प्रत्यक्ष सरोकार राख्ने अन्य विभिन्न कार्यालयहरुले सेवाग्राहीहरुसँग दलालको माध्यमबाट मनलाग्दो रकम असुल्ने गरेको छ ।

प्रतिक्रिया