‘छोरीहरू पनि डाक्टर, इन्जिनियर, राष्ट्रपति वा नेता बन्न सक्छन्’

मधेस बालिका सम्मेलन २०८२

जनकपुरधाम । मधेस प्रदेशमा बढ्दो बालविवाह तथा भागी विवाहलाई न्यूनीकरण गर्नका लागि बुधबारदेखि जनकपुरधाममा मधेस बालिका सम्मेलन २०८२ सुरु भएको छ । ‘सक्षम बालिका : समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वयमा सुरु भएको सम्मेलनमा मधेस प्रदेशका जिल्लाहरूमा बालविवाह न्यूनीकरणका विषयमा विज्ञ तथा सरोकारवालाहरूको बीचमा छलफल तथा संवाद हुने कार्यक्रम रहेको छ ।

मधेस प्रदेशका जिल्लाहरूमा अहिले ३४ प्रतिशत बालिकाको बालविवाह हुने गरेको छ । ५ वर्ष अगाडी बालविवाह गर्नेको संख्या ४२ प्रतिशत रहेकोमा अहिले कानुनी प्रावधान, सामाजिक सचेतना र विभिन्न सामाजिक संस्थाहरूले गरेको निरन्तर प्रयासका कारणले अहिले ८ प्रतिशतले घटेको छ । बालविवाह घट्नुमा ग्रामीण क्षेत्रहरूमा बाल क्लब गठन गरेर निगरानी बढाएपछि यसको संख्यामा कमी हो ।

बालिका सम्मेलनको उद्घाटन गर्दै मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवालले मधेस प्रदेशको कलंकको रूपमा रहेको दाइजो, बालविवाह, बोक्सीजस्ता समस्याको समाधानका लागि सामाजिक जागरण फैलाउन जरुरी रहेको बताए । मन्त्री जयसवालले भने, ‘मधेस हरेक पक्षमा पछाडि परेको भनिन्छ र यसलाई लिएर गम्भीर आरोप पनि लाग्ने गरेको छ । दहेज प्रथा र बाल विवाहजस्ता समस्याहरूले त झन् हामीलाई अप्ठ्यारोमा पारेका छन् ।

यस्ता सामाजिक समस्याका कारण मधेसप्रति नकारात्मक दृष्टिकोण बनेको छ र अब त्यो दृष्टिकोण बदल्न आवश्यक छ ।’ उनले बालिकाको अधिकार र हकहितका लागि प्रदेश सरकारले बालिका संरक्षण ऐन ल्याएको उल्लेख गरे । सोही ऐनको आधारमा ‘बेटी जिन्दावाद’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए । मन्त्री जयसवालले भने, ‘भागी विवाह पनि अहिले गम्भीर चिन्ताको विषय बनेको छ । विवाह सामाजिक प्रतिष्ठासँग जोडिएको हुँदा सानै उमेरमा भागेर विवाह गर्ने बढ्दो प्रवृत्तिले मधेसलाई अर्को समस्यामा धकेलेको छ ।’

मधेस प्रदेशका महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले बालविवाह न्यूनीकरणका लागि छोरा र छोरी बीचको विभेद गर्न नहुने बताउँदै बाल विवाह गरेको भए हामीहरूले बहिष्कार गर्न जरुरी रहेको बताइन् । ‘विवाहका लागि १८ वर्ष उमेर तोक्नु उपयुक्त होइन’, उनले भनिन्, ‘छोरी केवल विवाहका लागि जन्मिन्छिन् भन्ने धारणा हटाउनुपर्छ । छोरीहरू पनि डाक्टर, इन्जिनियर, राष्ट्रपति वा नेता बन्न सक्छन् ।’

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बालविवाह न्यूनीकरणका लागि तीनै तहका सरकार मिलेर सशक्त रूपमा अगाडि बढ्न जरुरी रहेको बताए । उनले भने, ‘मधेसमा बाल विवाह, दहेज प्रथा र लैंगिक विभेद त पहिलेदेखि नै थिए, अब त भागी विवाहको समस्यासमेत थपिएको छ ।’ उनका अनुसार, ‘विवाहको कानुनी उमेर २० वर्ष तोकिए पनि अहिले कम उमेरमै भागेर विवाह गर्ने चलन बढ्दो छ, जुन अत्यन्तै चिन्ताजनक र दुःखद् पक्ष हो ।’

राष्ट्रिय मानवअधिकार आयोगका मधेस प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनीले बालविवाह हुन नहुने पक्षमा मानवअधिकार आयोग दृढ भएको बताए ।
मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताको कार्यालयका उप–न्यायाधिवक्ता सुदीप दंगालले विद्यालयबाट भागेर विवाह गर्ने प्रवृत्ति मधेस प्रदेशमा बढेका कारणले पनि बालविवाहको मात्रा बढेको बताए । मधेसका ८ जिल्लाका करिब ६० जना बालिकाको सहभागिता रहेको उक्त कार्यक्रममा बालबालिकाहरूले बालविवाहसम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया