सिटिजन्स बैंकले सुरु गर्याे क्रस बैंक टेलर क्युआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता

१८औँ बार्षिकोत्सव

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ एपमार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्युआर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको छ । सिटिजन्स बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा योसहित विभिन्न सेवाहरू सञ्चालनमा ल्याएको हो ।

बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ सेवामार्फत अफलाइन माध्यमबाट नै ५ हजार रुपैयाँसम्मको भुक्तानी ट्याप एन्ड पे मार्फत सहज रूपमा गर्न सक्नेछन् । साथै, बैंकले नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्यूआर प्रणालीको सुरुआत गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बंैकिङमार्फत क्रस बैंक टेलर क्यूआरलाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्ने छन् । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।

बैंकले नयाँ बचत खाता सिटिजन्स फ्रिल्यान्सर सेभिङ बचत सञ्चालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रिल्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरूलाई दुवै नेपाली रुपियाँ र अमेरिकी डलर युएसडी, बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ, साथै, दुवै बचत खाताहरूमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ ।

यस बचत खातामा पहिलो वर्षका लागि स्वास्थ्य उपचार बिमा २५ हजार रुपैयाँसम्म (ओपिडी सेवा ५ हजारसम्म), दुर्घटना मृत्यु बिमा ३ लाख रुपैयाँसम्मलगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुबिधाहरू समावेश गरिएको छ ।

बैंकले १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । ७ वटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै २०० वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब २ खर्ब २ अर्ब रहेकोमा कर्जातर्फ १ खर्ब ७३ अर्ब रुपैयाँ परिचालन गरेको छ ।
बैंकले आइतबार बिहानै ७ वटै प्रदेशमा करिव ९२१ कर्मचारीहरूको सहभागितामा प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्तदान नै जीवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायःका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलसँगको सहकार्यमा ७ वटै प्रदेशका कुल ३३ शाखाहरूबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

प्रतिक्रिया