काठमाडौँ । नेपालको व्यापार घाटा बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ४५ प्रतिशतले व्यापार घाटा वृद्धि भएको हो । चालु आवको ९ महिनामा १३ खर्ब ९ अर्ब रूपैयाँको वस्तु आयात हुँदा १ खर्ब ८८ अर्बको निर्यात भएको हो । विभागका अनुसार ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ व्यापार घाटा पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो ।
मुलुकको आयात १२ दशमलव १८ प्रतिशतले बढेको छ । यसवर्ष १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएका छन् । गत वर्ष सोही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ थियो । यसबाहेक कुल वैदेशिक व्यापार १६ दशमलव ८९ प्रतिशतले बढेर १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
यी हुन् धेरै आयात भएका बस्तु
विभागका अनुसार नेपालले सबैभन्दा बढी डिजेल ९१ अर्ब २६ करोड, कच्चा सोयाबिन तेल ६६ अर्ब ५ करोड, पेट्रोल ४७ अर्ब ७७ करोड र एलपी ग्यास ४६ अर्ब ५८ करोड रुपैयाँ बढीको आयात गरेको देखिन्छ ।
त्यस्तै, १ खर्ब २२ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ बराबरको पाम तथा प्रशोधित तेल आयात भएको देखिन्छ । ८८ अर्ब ४७ करोड रुपैयाँको बोइलिङ मेसिन, ८६ अर्ब १० करोड रुपैयाँ बराबरको इलेक्ट्रिकल मेसिन तथा उपकरण ७० अर्ब ४२ करोड रुपैयाँ बरबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ ।
यस्तै ४८ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्लास्टिकजन्य वस्तु १३ अर्ब १६ करोड रुपैयाँ बराबरको रबरको सामग्री, ४७ अर्ब ८५ करोड बराबरको मोती, ३२ अर्ब ४ करोड रुपैयाँको औषधिजन्य वस्तु, २० अर्ब २६ करोड रुपैयाँ बराबरको मल, २३ अर्ब ४ करोड रुपैयाँ बराबरको कपडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
९ महिनाको अवधिमा ३१ अर्ब ५२ करोड बराबरको तरकारी, १८ अर्ब २० करोड बराबरको फलफूल आयात भएको छ । त्यस्तै, विभागको तथ्यांकअनुसार २५ अर्ब रुपैयाँको स्मार्ट फोन, १६ अर्ब ३ करोड रुपैयाँको सुन आयात भएको छ ।
निर्यात ६५ प्रतिशतले वृद्धि
निर्याततर्फ भने उत्साहजनक सुधार देखिएको छ । नेपालले ९ महिनामा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँमा सीमित थियो । यो वृद्धिदर ६५ दशमलव १६ प्रतिशत हो । निर्यातको अनुपात कुल व्यापारमा १२ दशमलव ५७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८ दशमलव ८९ प्रतिशतको तुलनामा ४१ दशमलव ३० प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा सोयाबिन तेल रहेको छ । सोयाबिन तेल ६२ अर्ब ७८ करोड रुपैयाँ बढीको निर्यात भएको छ । सोयाबिनपछि सूर्यमुखी तेल ९ अर्ब २३ करोड, गलैँचा ८ अर्ब ९ करोड र ठूलो अलैंची ६ अर्ब २६ करोड रुपैयाँ बढीको निर्यात भएको विभागले जनाएको छ ।
९ महिनामा १८ अर्ब ६२ करोडको इभी आयात
चालु आर्थिक वर्षको ९ महिनामा १८ अर्ब ६२ करोड रुपैयाँ बढीको विद्युतीय सवारी (कार, जिप र भ्यान) भित्रिएको छ । चालु आवको चैत मसान्तसम्म ७ हजार ९६७ वटा इभी भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये चैत महिनामा मात्रै ८७८ वटा ईभी भित्रिएको हो । विभागका अनुसार इभी आयातबाट चैत मसान्तसम्म ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडी सबैभन्दा धेरै भित्रिएका छन् । यो क्षमता भएका १० अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको ४ हजार ४१४ वटा ईभी भित्रिएका छन् । यसैगरी, ५० किलोवाटसम्म क्षमता भएका २ हजार ७९२ वटा सवारी आयात हुँदा १०१ देखि २०० किलोवाटका ७४२ वटा, २०१ देखि ३०० किलोवाटका १७ र ३०० किलोवाट भन्दा माथिका २ वटा सवारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यो अवधिमा कुल आयातको ७४ प्रतिशत ईभी चाइनाबाट आयात भएको हो । चाइनाबाट १४ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ बढीको ५ हजार ९०२ वटा इभी आयात भएको छ । त्यसैगरी, भारतबाट ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ बढीको २ हजार २३ वटा इभी आयात हुँदा जर्मनीबाट ३१ वटा, अमेरिकाबाट ५ वटा, दक्षिण कोरिया र इन्डोनेसियाबाट ३–३ वटा इभी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया